close

सिक्सजी आएपछि स्मार्टफोन प्रयोग गर्नुपर्दैन: नोकिया सीईओ

टेकपाना टेकपाना

असार २८, २०७९ ६:३२

सिक्सजी आएपछि स्मार्टफोन प्रयोग गर्नुपर्दैन: नोकिया सीईओ

काठमाडौं । नोकियाका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सिक्सजी व्यावसायिक रूपमा सन् २०३० सम्ममा उपलब्ध भइसक्ने विश्वास गरेका छन् ।

विश्व आर्थिक फोरम (डब्लूईएफ) २०२२ मा बाेल्दै उनले याे दशककाे अन्त्यसम्ममा सिक्सजी प्रयाेगमा आइसक्ने र यसले स्मार्टफोनको प्रयोगलाई धेरै महत्त्व नदिने विचार राखे ।

सिक्सजी मोबाइल नेटवर्क सञ्चालनमा आइसकेपछि त्यसबाट स्मार्टफोनका ‘कमन इन्टरफेस’ घट्ने उनकाे भनाइ छ ।

‘अहिले जस्तो इन्टरफेसमा फोन देखिएका छन्, पछिका दिनमा त्यस्तो इन्टरफेस नदेखिन सक्छन् । प्रायः डिभाइसहरू प्रत्यक्ष रूपमा मानिसको शरीरमा जोड्न सकिनेछ,’ उनले भने ।

कुन फोनहरूमा अहिले देखिएको इन्टरफेस हट्छ भन्ने विषयमा भने उनले कुनै धारणा राखेनन् ।

विभिन्न कम्पनीहरू जस्तै न्यूरालिङ्कले मानिसको शरीरमा राख्न सकिने चिपहरू विकास गरिरहेको छ । एलन मस्कको याे कम्पनीले गत वर्ष एउटा भिडिओ सार्वजनिक गरेको थियो, जसमा बाँदरले मिङ्ग पोङ्ग खेलिरहेको देख्न सकिन्थ्यो ।

सिक्सजी नेटवर्क अझै पनि विकासकै क्रममा छ । त्यसैले पहिले नै यो कस्तो हुन्छ भन्ने कुराको परिभाषा अहिले नै भन्न सकिने अवस्था छैन । लुन्डमार्कले यसको परिभाषा पनि प्रस्ट पारेका छैनन् ।

उनले भने, ‘भौतिक र डिजिटल संसारहरू सँगै अघि बढ्नेछन् ।’ यसले के सुझाव दिन्छ भने मेटाभर्सजस्ता अवधारणाहरू सिक्सजीसँग लोकप्रिय हुनसक्छन् ।

त्यस्ता डिभाइस, जसले अगमेन्टेड रियालिटी (एआर) र भर्चुअल रियालिटी (भीआर) सपोर्ट गर्छन्, उनीहरू आउने दिनमा मेनस्ट्रिम (मूलधार) बन्न सक्छन् ।

एकतर्फ अहिले केही देशहरू सिक्सजी परीक्षणकाे तयारीमा छन् । त्यसलाई कसरी विकास र विस्तार गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छन् ।

अर्कोतर्फ केही मुलुकहरू फाइभजी सेवा विस्तार गर्न प्रयासरत छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३