close

नयाँ इन्टरनेट प्रविधि आईपीभीसिक्सः सेवाप्रदायक ३ वर्ष अघि, नियामक बल्ल तयारी थाल्दै

टेकपाना टेकपाना

साउन २, २०७९ १८:१७

नयाँ इन्टरनेट प्रविधि आईपीभीसिक्सः सेवाप्रदायक ३ वर्ष अघि, नियामक बल्ल तयारी थाल्दै

काठमाडौं । नेपालका धेरैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकलाई नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आईपी) भी–सिक्समा रूपान्तरण गर्ने काम सुरु गरिसकेका छन् ।

वर्ल्डलिङ्क, सुबिसु, भायनेट, क्लासिक टेक, वेबसर्फर लगायतका इन्टरनेट सेवाप्रदायकले केही वर्षअघिबाटै ग्राहकलाई आईपीभीसिक्समा रूपान्तरण गर्ने काम थालेका हुन् ।

सेवाप्रदायकले स्वस्फूर्तरूपमा आफ्ना ग्राहकलाई आईपीभीसिक्समा रूपान्तरण गरिसक्ने स्थितिमा पुग्दा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने बल्ल यो विषयमा आफ्नो भूमिका खोज्ने अग्रसरता देखाएको छ ।

सन् २०१९ बाट नै नेपालमा आईपीभीसिक्स प्रयोगमा ल्याउँदा नियामकले तीन वर्षपछि मात्रै त्यसको चाल पाएको हो ।

अब भने प्राधिकरण त्यसका लागि आवश्यक विनियमावली तयारीको दिशामा अगाडि बढेको छ । चालु आर्थिक वर्षका लागि प्राधिकरणले तय गरेको बजेटमा यो विषयलाई समेटिएको छ ।

आईपीभीसिक्सको पहुँच, प्रयोग र त्यसका लागि आवश्यक प्रविधि र सुरक्षाका विषयलाई अध्ययन गर्ने र आईपीभीसिक्स प्रयोगमा प्रोत्साहन गर्ने योजना प्राधिकरणले बनाएको छ ।

साथै विनियमावलीमार्फत सेवाप्रदायकलाई आईपीभीसिक्समा रूपान्तरण गर्न समय सीमा तोकेर सबै सेवा प्रदायकलाई अनिवार्य बनाउने योजना छ ।

हुन त केही वर्ष अघि प्राधिकरणले आईपीभीसिक्सको विषयमा अध्ययन भने गरेको प्राधिकरण स्रोत बताउँछ । तर, त्यसअनुरूप आवश्यक पहल नहुँदा कुनै प्रगति हुन सकेन ।

यसैबीच सेवा प्रदायकले नयाँ प्रविधिको आवश्यकतालाई महसुस गरेर स्वस्फूर्त रूपमा आईपीभीसिक्सलाई आत्मसाथ गर्न थालेका हुन् । जसले इन्टरनेट प्रयोगकर्तालाई इन्टरनेट अनुभवमा समेत नयाँपन दिन्छ । 

के हो आईपीभीसिक्स ?

आईपीभी सिक्स इन्टरनेट प्रोटोकलको नयाँ भर्सन हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई आईपी एड्रेस आवश्यक पर्छ । यो एउटा यस्तो ठेगाना हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस भन्ने गरिन्छ ।

हाल आईपी एड्रेसका दुई संस्करण प्रचलनमा छन् । एउटा चौथो संस्करण (भीफोर), अनि अर्को छैटौँ संस्करण (भी सिक्स) । जसलाई एड्रेस इन्टरनेट असाइन नम्बर अथोरिटी (आईएएनए) नामक अन्तर्राष्ट्रिय निकायले वितरण गर्दै आएको छ । सुरुको अघिल्लो संस्करण भीफोरमा चार अर्ब ३० करोड ओटा पब्लिक एड्रेसहरू छन् । जुन कोटा सन् २०११ को अप्रिल १५ मै समाप्त भइसकेको थियो ।

परिणामस्वरूप पब्लिक भीफोरको अभावको समस्यालाई निराकरण गर्न अधिकांश इन्टरनेट सेवाप्रदायकहरू प्राइभेट एड्रेसिङको प्रयोगका लागि नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएटी) प्रविधिमा निर्भर छन् ।

यो प्रोटोकलको पछिल्लो संस्करण भनेको आईपीभीसिक्स हो । यसले संसारभर जोडिएका हरेक उपकरणको सञ्चारका लागि युनिक राउटेबल पब्लिक एड्रेस असाइन गर्ने अनुमति दिन्छ ।

आईपीभीसिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् । जसले गर्दा विश्वमा इन्टरनेटसँग जोडिने हरेक उपकरणका लागि यसले छुट्टाछुट्टै राउट गर्न सकिने एड्रेस असाइन गर्ने क्षमता राख्छ ।

यसमा एनएटी प्रविधिको आवश्यकता नपर्ने भएकाले आईपीभीसिक्समा आईपीभीफोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । हाल गुगल, फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकले आईपीभीसिक्समा समेत कन्टेन्ट प्रदान गर्दै आएका छन् ।

जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरूले आफ्ना प्रयोगकर्तासम्म पुर्‍याइरहेका हुन्छन् । उपकरणको इकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुने ब्राउजर एप्लिकेसनहरूले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन् ।

आईपीभीसिक्समा बलियो नेटवर्क हुने भएकाले प्रयोगककर्तालाई उत्कृष्ट इन्टरनेट सेवा दिन सेवाप्रदाकहरूका लागि रिमोट ट्रबलशुटिङ सजिलो बनाइदिन्छ ।

अहिले विश्वसँगै नेपाल पनि इन्टरनेट अफ थिङ्स (आईओटी) मा गइरहेको छ । यस्तो अवस्थामा त्यसलाई वृहत् बनाउन यस किसिमको तयारीलाई ठूलो विकासको सङ्केतको रूपमा हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३