काठमाडौं । सामाजिक सञ्जालका प्लेटफर्म फेसबुक र इन्स्टाग्रामले आफ्ना प्रयोगकर्तालाई ट्रयाक गर्ने गरेको कुरा बाहिरिएको छ । तपाईंले फेसबुक र इन्स्टाग्राममा देख्नुभएको वेबसाइटमा क्लिक गर्नुभयो र आफ्नो रोजाइको ब्राउजरमा रिडाइरेक्ट हुनुभयो भने यो कुनै सामान्य कुरा होइन ।
तपाईं रिडाइरेक्ट हुनुभएको ब्राउजर अथवा तपाईंले हेर्न चाहनुभएको वेबसाइट एउटा कस्टम ईन-एप ब्राउजर हो । यस्ता ब्राउजरहरूले प्रत्येक वेबसाइटमा जाभास्क्रिप्ट कोड इन्जेक्ट गर्दछन्, जसले यी प्लेटफर्मको अभिभावक कम्पनी मेटालाई तपाईंलाई ट्र्याक गर्न अनुमति दिन्छ ।
यसको अर्थ तपाईंले फेसबुक अथवा इन्स्टाग्राममा कुनै लिंक क्लिक गरेर अर्को वेबसाइट खोल्नुभएको छ भने मेटाले सो वेबसाइटमार्फत तपाईंलाई ट्रयाक गरिरहेको हुन्छ ।
साइबर सुरक्षा अनुसन्धानकर्मी फेलिक्स क्राउजले हालै यो कुरा पत्ता लगाएका हुन् । उनका अनुसार इन्स्टाग्राम र फेसबुक एपमा पाइने प्रत्येक वेबसाइटका लिंकमा तिनीहरूको ट्र्याकिङ कोड इन्जेक्ट गरिएको हुन्छ ।
यस्ता लिंकहरू धेरैजसो विज्ञापनमा हुने गर्छ । यसले प्रयोगकर्ताको व्यक्तिगत विवरणसँगै, ठेगाना, क्रेडिट कार्ड नम्बरहरू लगायतका विवरण मेटालाई पठाउने काम गर्छ ।
उनको अनुसन्धान फेसबुक र इन्स्टाग्रामको आईओएस संस्करणहरूमा केन्द्रित थियो । दी गार्डियनसँगको कुराकानीमा भने मेटाले आफूहरूले उक्त विवरणको कुनै दुरुपयोग नगरेको भन्दै यसको दुरुपयोग पनि हुन नदिने बताएको छ ।