काठमाडौं । हाम्रो दैनिकीलाई स्मार्टफोनले निकै सहज बनाइदिएको छ । आफ्ना महत्त्वपूर्ण काम फोनबाटै गर्न सक्छौँ । फोटो खिच्न, फोन गर्न, पैसाको कारोबार गर्नदेखि विभिन्न प्रयाेजनका काम यसबाट गर्न सकिन्छ ।
विशेषगरी एन्ड्रोइड फोनमा प्रयोगकर्ताले प्ले स्टोरमा नभेटिएका वा पैसा लाग्ने एप एपीके फाइलबाट डाउनलोड गर्ने गर्छन् । गुगलले विभिन्न नीति नमिलेको भन्दै प्ले स्टोरमा नराखेका एपहरू एपीके फाइलका रूपमा विभिन्न साइटमा पाइन्छ ।
विशेषगरी क्रयाक भर्सनका एप, प्ले स्टोरमा नभएका एप एपीके फाइलका रूपमा विभिन्न साइटबाट डाउनलोड गर्ने गरिन्छ ।
गुगल प्ले स्टोरमा पाइने कतिपय फोटो तथा भिडिओ इडिटिङ एपमा वाटरमार्क आउने गर्छ । यदि वाटरमार्क हटाउनुपर्यो भने केही शुल्क तिर्नुपर्ने हुन्छ ।
शुल्क तिर्ने प्रकिया सहज बनाएपछि वा सो शुल्क महँगो भएपछि प्रयोगकर्ताले प्रिमियम एपको क्रयाक भर्सन एपीके फाइलका रूपमा इन्स्टल गर्ने गर्छन् ।
एपीके फाइलका ती एप अन्य साइटबाट डाउनलोड गर्न लाग्दा एप हानिकारक हुनसक्छ भन्ने सूचना आउँछ । के एपीके फाइलमा भएका सबै एप हानिकारक हुन्छन् त ? यदि हुन्छन् भने त्यस्ता एप कसरी सुरक्षित तरिकाले प्रयोग गर्न सकिन्छ त ?
एपीके फाइलमा विभिन्न साइटबाट डाउनलोड गरिने सबै एप खराब हुँदैनन् । यसको अर्थ सबै राम्रा हुन्छन् भन्ने पनि हुँदैन । कतिपय अवस्थामा डेभलपरको केही कमजोरीले गर्दा एप प्लेस्टोरमा अपलोड नभएपछि उक्त डेभलपरले एपीके फाइलका रूपमा विभिन्न साइटमा राख्ने गर्छन् ।
त्यस्तै कतिपय अवस्थामा ह्याकरले प्रयोगकर्ताको डेटा चोर्ने उद्देश्यले पनि एप त्यसरी राखिरहेका हुन्छन् । यसबाट बच्न हामी कस्ता एपमा भर पर्ने वा नपर्ने भन्ने कुराको ख्याल गर्नु आवश्यक छ ।
यसो त गुगल प्ले स्टोरमा हुने सबै एप सुरक्षित हुन्छन् भन्ने पनि हुँदैन । डेभलपरले पहिले सामान्य तरिकाले अपलोड गरेर पछि खराब उद्देश्यले प्रयोग गरेका पनि हुन सक्छन् ।
गुगल प्ले स्टोरमा भइसकेपछि भर पर्ने पर्ने आधार पनि हुन्छन् । गुगलको नीति नअपनाउँदा कतिपय राम्रा एप पनि अपलोड हुन सकेका हुँदैनन् ।
त्यसैले पनि केही एप हामीले वाध्यताले त्यसरी एपीके फाइलका रूपमा डाउनलोड गर्नु परेको हुन सक्छ । भरसक त्यसरी विभिन्न साइटमा उपलब्ध हुने एपीके फाइलका एप डाउनलोड गर्नु हुँदैन ।
यदि डाउनलोड गर्नै परे त्यो सुरक्षित छ या छैन भन्ने कुराको जाँच गर्नुपर्ने हुन्छ । एप सुरक्षित छ या छैन भन्ने कुरा थाहा पाउन तलका विभिन्न प्रक्रिया अपनाउनु होस् ।
भाइरस टोटल
भाइरस टोटलका माध्यमबाट कुनै पनि एपको एपीके फाइलमा भाइरस छ वा छैन भन्ने कुरा जाँच गर्न सकिन्छ । यस साइटमा १२८ एमबीसम्मका एपीके फाइल जाँच गर्न सकिन्छ । भाइरस टोटलबाट एपीके फाइल सुरक्षित भए नभएको जाँच गर्ने तरिका;
सबैभन्दा पहिले आफूले डाउनलोड गर्न लागेको एपीके फाइलको लिङ्क कपी गर्नुहोस् । (फाइल डाउनलोड गरेर पनि स्क्यान गर्न सकिन्छ)
त्यसपछि यहाँ क्लिक गरेर भाइरस टोटलको साइटमा जानुहोस् ।
त्यसपछि त्यहाँ बीचमा रहेको यूआरएल अप्सनमा गएर बक्समा सो लिङ्क पेस्ट गर्नुहोस् ।
त्यसपछि सर्च आइकनमा क्लिक गरेर एपीके फाइल स्क्यान गर्न सक्नुहुन्छ ।
स्क्यान भइसकेपछि सो एपीके फाइलमा केही कमजोरी छ या छैन भन्ने कुराको जानकारी पाउन सकिन्छ ।
यदि एपीके फाइलमा कुनै भाइरस या कमजोरी नभएको पाएमा त्यसलाई इन्स्टल गर्न सकिन्छ । त्यस्तै एपीके फाइल स्क्यान गर्नका लागि एनभिडो एपीकेको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
फोनमा कुनै एप्लिकेसनबाट एपीके फाइल जाँच गर्नुपरे गुगल प्ले स्टोरबाट ह्याश ड्रोइड एप डाउनलोड गर्न सक्नुहुन्छ । यसबाट तपाईंले सजिलै डाउनलोड भएका, तर इन्स्टल नभएका एप स्क्यान गर्न सक्नुहुन्छ ।
विभिन्न अध्ययनले अनाधिकारिक साइटबाट डाउनलोड हुने एपीके फाइल खराब हुने तथ्य देखाएका छन् । डाउनलोड गरेर प्रयोग गर्नुपर्ने अवस्था आएमा माथिको प्रक्रिया अपनाई स्क्यान गर्न सक्नुहुन्छ ।