close

इन्टरनेटको कालोबजार, जहाँ यसरी किनबेच भइरहेका छन् महिलाका नग्न तस्वीर र भिडिओ

टेकपाना टेकपाना

भदौ १३, २०७९ २२:१

इन्टरनेटको कालोबजार, जहाँ यसरी किनबेच भइरहेका छन् महिलाका नग्न तस्वीर र भिडिओ

काठमाडौं ।  पछिल्लो समय सामाजिक सञ्जाल चुनौतीपूर्ण बन्दै गएको छ । मानिसको दैनिक जीवनलाई सरल र सहज बनाउँदै गएको भए पनि व्यक्तिगत गोपनीयतालाई ख्याल नगर्दा यो चुनौतिपूर्ण बन्दै गएको हो । 

सामाजिक सञ्जाल दैनिक जसो कार्यालयमा हुने कामकारबाही होस् वा घरायसी समस्यालाई फरक ठाउँमा रहेर सहज रुपमा समाधान गर्न सकिने माध्यम बन्दै गएको छ । तर अर्कोतर्फ कतिपयले भने गलत मनसायका साथ व्यक्तिगत चरित्रमाथि प्रहार गर्दै अघि बढेकाले चुनौतिपूर्ण बन्दै गएको छ । 

एक ठूलो अनलाइन कम्युनिटीमा लुकिछिपी भारी मात्रामा महिलाका तस्वीर र भिडिओ शेयर तथा खरिद बिक्री भइरहेका छन् । यसमा कम्तिमा १५० जना भन्दा बढी महिलाका निजी भिडिओ तथा तस्वीर समेत सामेल छन् । 

बीबीसीको पानोरमा अनुसन्धानमा यो तथ्य बाहिर आएको हो । “मैले आफूलाई निकै अपमानित भएको महसुस गरेँ । यस्तो लाग्यो कि म उसको निजी सम्पत्ति हुँ । मैले जब यो देखेँ, हैरान भएँ । मलाई लाग्यो, यो के म नै हुँ ?” ।

यो ती महिलाको आवाज हो, जसको अनुमति बिना उनका गोप्य तस्वीर शेयर गरिएका छन् । तन्वी एक सामाजिक सञ्जाल इन्फ्लुयन्सर हुन्, उनको इन्स्टाग्राम अकाउन्टबाट एक तस्वीर निकालेर सामाजिक सञ्जाल रेडिट नामक वेबसाइटमा शेयर गरिएको थियो ।

पुरुषहरूको एउटा यस्तो ग्रुपमा, जसमा दक्षिण एसियाली महिलाहरूको तस्वीर राख्ने गरिन्छ । तन्वी भन्छिन्, “निकै धेरै पुरुषहरूले मेरो बारेमा कमेन्ट गरिरहेको देखेकी छु । मेरो बारेमा जानकारी पत्ता लगाउने कोसिस गरिरहेका छन् । उनीहरूले मसँग गर्न चाहेको कुरा अपमानजनक र यौनजन्य थियो ।”

यो ग्रुपमा राखिएका कतिपय तस्वीरहरू नितान्त निजी तथा गोप्य थिए । सायद पार्टनरले आपसमा शेयर गरेका हुन सक्छन् । अर्को पोस्ट हेर्दा लाग्छ, यौन सम्पर्क राख्दा ती महिलाको भिडिओ लुकाएर लिइएको थियो ।

जस्तै कि आयशाको, उनको गोपनीयताको लागि बीबीसीले नाम गोप्य राखेको छ । उनले आफ्नो पीडा पोख्दै भनेकी छिन्, “मैले मान्छेहरूसँग भेटघाट गर्न बन्द गरिदिएकी थिएँ । घरबाट बाहिर निस्किन छोडिदिएकी थिएँ । म मानसिक रोग विशेषज्ञकहाँ जान थालेकी थिएँ । म आफैँले आफैँलाई चोट दिन थालेँ । आत्महत्याको प्रयास समेत गरेँ । किन कि मलाई यो सबै झेल्न सक्दिनँ भन्ने लागिरहेको थियो ।”

विश्वका पाँच करोड मानिसहरूले यो सामाजिक सञ्जाल हरेक दिन खोलिरहेका हुन्छन् । यसमा तपाईँले आफ्नो ग्रुप बनाउन सक्नुहुन्छ र कुनै पनि विषयमा चर्चा गर्न सक्नुहुन्छ । तर यो वेबसाइटमा यस्ता अनेकौँ त्यस्ता ग्रुपहरू छन्, जहाँ प्रयोगकर्ताहरू महिलाहरूका गोप्य तस्वीरहरू खरिद बिक्री गरिरहेका छन् ।

त्यसमा केही यौनिक प्रकृतिका छन् । दुई वर्ष अघि जर्जीलाई एक अपरिचित व्यक्तिले सम्पर्क गरे र भने उनका नितान्त निजी तस्वीरको एक फोल्डर सामाजिक सञ्जालमा शेयर भइरहेको छ । त्यसबेला त्यो रेडिटमा भने थिएन । “मलाई ती तस्वीरहरूको सम्झना छ । मैले कयौँ वर्ष पहिला आफ्नो पूर्व पार्टनरसँग शेयर गरेकी थिएँ । मलाई उक्त एक्स पार्टनरले ती तस्वीरहरू डिलिट गरेको भरोसा दिलाएका थिए । उनले मेसेजमा लेखेरै यो कुरा कबोल गरेका थिए । तर उसले मलाई हानी पुर्‍याउने त्यस्तो कुनै कुरा गरेको थिएन । त्यसैले प्रहरीहरूले मलाई आफूहरूले केही गर्न नसक्ने बताए ।”

केही पुरुषहरूले यस प्रकारका तस्वीरहरू भारी मात्रामा संकलन गर्ने र त्यसका लागि “कलेक्टर कल्चर” नामक शब्दावली रहेको डरहम विश्वविद्यालयकी प्रोफेसर क्लेयर म्याकग्लिन बताउँछिन् । तर समस्या के छ भने कानूनले गलत मनसायले त्यस्ता तस्वीर शेयर गर्ने एक्स  पार्टनरमा केन्द्रित छ । जसलाई ‘रिभेञ्ज पोर्न’ भन्ने गरिन्छ । यसमा अन्तरङ्ग तस्वीरहरूको दुरुपयोगका एकदमै थोरै मामिला मात्रै समेटिन्छन् ।”

फेरि उक्त रेडिट ग्रुपमा फर्किउँ, जहाँ आयशा र तन्नीका तस्वीरहरू पोस्ट गरिएका थिए । यससँग जोडिएको बीबीसीको खोजमा विभिन्न १५० भन्दा बढी महिलाका नितान्त निजी तस्वीरहरू राखिएको उल्लेख छ । साथै बिना सहमतिका हजारौँ तस्वीर र भिडिओ पोस्ट गरिएका छन् ।

रेडिटले बीबीसीलाई बताएको छ कि उसको सेफ्टी टिमले बेलाबेलामा यस किसिमका समूह तथा दुरुपयोग विरुद्ध कारबाही गर्दै आएको छ । “जो व्यक्तिहरू यो सब गरिरहेका छन्, मेरो सन्देश छ कि कृपया यो सबै बन्द गरिदिनुहोस् । अनि सबै पीडितहरू आवाज उठाउनुहोस्, तपाईँ बोल्न सक्नुहुन्छ,” एक पीडित महिला भन्छिन् ।

“जब तपाईँलाई जवाफदेही ठहर्‍याइनेछ, जब यो गैरकानूनी हुन्छ र सरकार ऐन कानून लागू गर्छ, तब तपाईँ निकै ठूलो मुस्किलमा पर्नु हुनेछ,” अर्की पीडित महिलाको भनाई छ ।

हाललाई कानून र प्रविधि कम्पनीहरू यस प्रकारका गलत अभ्यासलाई नियन्त्रण गर्न संघर्षरत छन् । तर आखिरमा जिम्मेवारी ती गुमनाम हजारौँ प्रयोगकर्ताको हुन्छ, जसले आपत्तिजनक तस्वीर शेयर गरिरहेका छन् र तिनको खरिद बिक्री गरिरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३