close

बीएससी सीएसआईटीमा भर्ना खुल्दै, कस्तो छ यो कोर्ष ?

टेकपाना टेकपाना

भदौ १५, २०७९ ८:३९

बीएससी सीएसआईटीमा भर्ना खुल्दै, कस्तो छ यो कोर्ष ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बुधबार एक सूचना जारी गर्दै सीएसआईटी पढ्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा र नयाँ भर्नासम्बन्धी कार्यक्रम प्रकाशित गरेको हाे ।

भदाै २३ गते बिहान १० बजेदेखि असाेज २६ गतेसम्म अनलाइन आवेदन दिन सकिने जनाइएको छ ।

त्यस्तै असाेज २७ देखि कात्तिक २ गतेसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्न सकिनेछ । प्रवेश परीक्षा कात्तिक १९ गते हुनेछ ।

विद्यार्थीले यो वेबसाइटमा गई आवेदन भर्न र थप विवरण बुझ्न सक्नेछन् ।

६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित काेर्ष समावेश गरी यो शैक्षिक कार्यक्रम तयार पारिएको हो ।

अध्ययनका लागि योग्यता

१. साइन्स संकायमा प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु सरहको अध्ययन पूरा गरेको हुनुपर्ने ।
२. सय पूर्णाकंको फिजिक्स र सय पूर्णाकंको म्याथम्याटिक्स पढेको हुनुपर्ने ।
३. प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
४. त्रिविले लिने इन्ट्रान्स परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण हुनेपर्ने ।
५. आवश्यक सम्पूर्ण निवेदन प्रक्रिया पुरा गर्नुपर्ने ।

कोर्षमा के-के छ ?

अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी तयार पारिएको यो कोर्षमा कुल १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम रहेको छ । जब कि विश्वव्यापी रुपमा यो कोर्षको क्रेडिट आवर जम्मा १२० रहेको छ ।

कुल १२६ आवरमध्ये ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपका लागि छुट्याइएको छ ।

चार वर्षको अवधिमा विद्यार्थीले कुल ४० वटा विषय पढ्नुपर्छ । जसमा पहिलो दुई वर्षमा हरेक सेमेस्टरमा ५ का दरले कुल २० वटा विषय पढ्नुपर्छ भने तेस्रो बर्षबाट विद्यार्थीले हरेक सेमेस्टरमा आफूलाई मन पर्ने एउटा विषय छनौट गरेर पढ्न पाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३