काठमाडौं । स्टार्टअप त्यस्तो व्यवसाय हो, जुन सफल हुन त्याग, समर्पण र कडा परिश्रम चाहिन्छ । कहिलेकाहिँ आफूलाई आवश्यक परेका कुरा स्टार्टअपकाे ढङ्गबाट सोच्यो भने सफल व्यवसाय बन्न सक्छ ।
कतिपय अवस्थामा तपाईँले भोगेकाे समस्या लाखौँ, हजारौँ मानिसले पनि भोगिरहेका हुन्छन् । त्यसैलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सोच्दै जाँदा त्यही नै सफल उद्यमको सुरुवात वा भनौँ स्टार्टअप हुनसक्छ ।
त्यस्तै कथा बोकेको एउटा स्टार्टअप हो, भारतको ‘लिसियस’ ।
लिसियस त्यस्तो प्लेटफर्म हो, जसले अनलाइनमा अर्डर गरेको भरमा गुणस्तरीय मासु उपलब्ध गराउँछ ।
लिसियसको स्टार्टअप कथा
सन् २०१५ को ग्रीष्म याममा अभय हन्जुरा र विवेक गुप्ता नयाँ दिल्लीस्थित इन्डियन इन्स्टिच्यट अफ टेक्नोलोजीमा अन्तिम वर्षको प्रोजेक्टमा काम गरिरहेका थिए ।
त्यस समयमा भारतमा अनलाइन मासु भण्डारको अभाव नै थियो । प्रायः सबैले सुपरमार्केट वा कसाईको पसलबाट मासु खरिद गर्थे ।
स्थानीय बजारमा उपलब्ध हुने मासुको गुणस्तर कम हुने र त्यसको मूल्य पनि बढी हुन्थ्यो । उनीहरूसँग व्यवसायको योजना थियो । तर, उक्त योजना सफल हुने वा नहुने कुरामा द्विविधा नै थियो ।
परीक्षणबाट धेरै कुरा सिक्न पाइन्छ भन्ने विचार भएका उनीहरूले जसरी पनि अनलाइनसामु स्टोर खोल्नुपर्छ भन्ने संकल्प गरे ।
उनीहरूले आफूले गरिरहेको जागिर पनि छोडे । स्टार्टअप सुरु गर्ने योजना त बन्यो । तर, उनहरूसँग लगानीको अभाव थियो ।
लगानीको आवश्यकता पूरा गर्न उनीहरूले साथीभाइ र आफन्तको सहयोग लिए । लगानी संकलन गरिसकेपछि सुरु भयो, लिसियसको स्टार्टअप यात्रा ।
कसरी अर्बौं मासु पसलभन्दा भिन्नै बनाउन खोजिरहेको छ लिसियस ?
लिसियस सानो स्तरबाट सुरु भएको स्टार्टअप हो । जो सुरुवाती दिनमा दिल्लीका केही ठाउँमा मात्र मासु डेलिभरी गर्ने गर्थ्यो ।
लिसियस छोटो समयमा नै धेरैमाझ परिचित हुन थालेपछि भारतका विभिन्न ठाउँमा गुणस्तरीय मासुको सेवा उपलब्ध गराउन सुरु गर्यो ।
अहिले लिसियस भारतकै अग्रणी अनलाइन तथा गुणस्तरीय मासु स्टोर बनेको छ । उनीहरूले लिसियसमार्फत चिकेन टिक्टा मसलादेखि भेडाको चप्ससम्म उत्पादनहरूको वितरण गर्ने गर्छन् ।
आफूले उपलब्ध गराउने सेवामा उनीहरू शतप्रतिशत सन्तुष्टिको ग्यारेन्टी दिन्छन् ।
कसरी सुरु भयो लिसियस?
लिसियस सन् २०१५ मा अभय हन्जुरा र उनका सह-संस्थापक विवेक गुप्ताले सुरु गरेका थिए । उनीहरू दुवैजना खाद्य उद्योगमा काम गरिरहेका थिए ।
त्यहाँ काम गर्ने सिलसिलामा मानिसहरूले जसरी परम्परागत तरिकाले मासु खरिद गर्थे त्यसलाई परिवर्तन गरे, अवसर नै अवसर हुने कुराको परिकल्पना गरे ।
काम गर्दै जाँदा उनीहरूले बजारमा ताजा तथा गुणस्तरीय मासुको उच्च माग भएको महसुस गरे । तर, बजारमा त्यसको चरम अभाव हुने र त्यही अनुसार खाद्य फोहोर बढी हुने गर्थ्यो ।
लिसियसले यिनै समस्यालाई सम्बोधन गर्नका लागि स्थापित भएको स्टार्टअप थियो ।
उनीहरू भारतीय उपभोक्तालाई गुणस्तरीय शपिङ सेवा दिने कुरामा केन्द्रित थिए । त्यही समयदेखि लिसियस देशकै अग्रणी अनलाइन मासु सेवा वितरकका रूपमा अग्रसर छ ।
कसरी विस्तार भयो ?
प्रतिस्पर्धाबाट लिसियसलाई सधैँ अग्र स्थानमा राख्ने थुप्रै तत्त्वहरू थिए । उक्त कम्पनीले मासुका विभिन्न परिकार उपलब्ध गराउने भएकाले धेरैको रोजाइमा पर्न सफल भयो ।
यस कम्पनीले मासुका परिकार मात्र नभई विभिन्न शाकाहारी परिकार पनि उपलब्ध गराउँछ । दोस्रो कुरा लिसियस ताजा तथा उच्च गुणस्तरको मासु उपलब्ध गराउने कुरामा प्रतिबद्ध छ ।
यस कम्पनीले उपलब्ध गराउने मासुका विभिन्न परिकार स्थानीय किसानबाट आयात गर्ने भएकाले कम्पनीले उपभोक्ताको विश्वास जितेको छ ।
त्यस्तै कम्पनीले गुणस्तरीय शपिङ अनुभव दिने गर्छ । कम्पनीको वेबसाइट प्रयोग गर्नका लागि सहज हुनु, द्रुत डेलिभरी सेवा हुनु र थुप्रै भुक्तानीका माध्यम हुने भएकाले कम्पनी छोटो समयमा नै लोभलाग्दो तरिकाले विस्तार भयो ।
उपभोक्ताले किन रोज्छन् लिसियस ?
उपभोक्ताले बाहिर स्थानीय मासु पसलमा जति परिकारका मासु पाउँछन्, त्यो भन्दा कैयौँ गुणा बढी परिकारका मासु लिसियसमा सजिलै पाउन सक्छन् ।
आफूलाई उपयुक्त हुने मासुको परिकार रोजेर अर्डर गर्न सकिने भएकाले लिसियस प्रायः उपभोक्ताको रोजाइमा परेको छ । यति मात्र नभई कम्पनीले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै गुणस्तरीय तथा ताजा मासु उपलब्ध गराउने कुरामा केन्द्रित छ ।
त्यसैले पनि भारतीय बजारमा लिसियसको लोकप्रियता लोभलाग्दो छ । यी विविध सेवा लिन प्रयोग हुने कम्पनीको वेबसाइट सरल र सहज भएकाले जोकोहीले पनि प्रयोग गर्न सक्छन् ।
कम्पनीले भारतीय उपभोक्तालाई सुहाउने मूल्यमा विभिन्न परिकारका मासु उपलब्ध गराउने गर्छ । त्यस्तै कम्पनीबाट उपलब्ध हुने विभिन्न परिकारका मासु मोबाइल एप्लिकेसनबाट अर्डर गर्न सकिने र ढोकासम्मै अर्डर आइपुग्ने भएकाले धेरैको रोजाइमा परेको छ ।
नेपाली उद्यमीले सिक्नुपर्ने पाठ
ताजा तथा गुणस्तरीय खानाको अभाव जहाँकहीँ हुन्छ । खाना भनेको मानिसको आधारभूत आवश्यकता हो । जसलाई पूर्ति गर्नका लागि मानिस विभिन्न काम गरिरहेको हुन्छ ।
तर, जति खर्च गर्न खोज्दा पनि सहरमा ताजा तथा गुणस्तरीय खाना खान पाउने मौका विरलै पाइन्छ । हरेक व्यक्तिका लागि स्वस्थ, ताजा तथा गुणस्तरीय खाना धेरै महत्त्वपूर्ण हुन्छ । मानिसहरूको स्वास्थ्यलाई केन्द्रित गर्दै गुणस्तरीय तथा ताजा मासुका परिकार अनलाइन अर्डर गरेकै भरमा पुर्याउन सकियो भने नेपालमा पनि यसको राम्रो सम्भावना रहेको छ ।
नेपालमा अनलाइन मार्फत मासु मात्र उपलब्ध गराउने स्टार्टअपले स्थानीय मासु पसललाई पछि पारेर आफू रोजाइमा पर्नका लागि विविध कुरामा ध्यान दिनुपर्छ ।
प्रविधि जोडिएको हुनाले मासुका विभिन्न परिकार बिक्रीका लागि सरल र सहज वेबसाइटको आवश्यक पर्ने गर्छ ।
मासु अर्डर गर्न चाहने व्यक्तिले आफू भएकै ठाउँमा सजिलै आफूले रोजेको मासु पाउनसक्यो भने उक्त कम्पनी सो उपभोक्ताको रोजाइमा पर्छ ।
यसरी पहिले नाफाभन्दा पनि उपभोक्ताको आवश्यकता र उनीहरूलाई केन्द्रित गरेर सेवा दिनसक्यो भने नेपालमा यस्तो स्टार्टअपको राम्रो भविष्य हुने देखिन्छ ।