close

एन्ड्रोइड फोनमा सित्तैमा यसरी प्रयोग गर्नुहोस् आईफोन १४ प्रोको डाइनामिक आइल्यान्ड फिचर

टेकपाना टेकपाना

असोज ६, २०७९ १६:३

एन्ड्रोइड फोनमा सित्तैमा यसरी प्रयोग गर्नुहोस् आईफोन १४ प्रोको डाइनामिक आइल्यान्ड फिचर
 

काठमाडौं । एप्पलले नोटिफिकेसनको सहायताले फ्रन्ट क्यामेरा नच लुकाउन आईफोन १४ प्रो मोडेलमा डाइनामिक आइल्यान्ड सुरु गरेसँगै डेभलपरहरूले उक्त फिचर एन्ड्रोइडमा समेत अनुकरण गर्ने प्रयास थालेका छन् । एक जना एमआईयूआई (साओमीले विकास तथा व्यवस्थापन गरेको एन्ड्रोइडमा आधारित मोबाइल अपरेटिङ सिस्टम) डेभलपरले साओमी फोनहरूमा यसअघि डाइनामिक आइल्यान्ड फिचरले काम गर्ने बनाएका थिए । रियलमीले समेत आफ्ना प्रयोगकर्तालाई उक्त फिचर चाहनुहुन्छ भनेर सोधिरहेको छ ।

तर तपाईँ आफ्नो एन्ड्रोइड फोनमा डाइनामिक आइल्यान्ड फिचरलाई पर्खिने मनस्थितिमा हुनुहुन्न भने तपाईँले एउटा मोबाइल एपको सहयोग लिन सक्नुहुन्छ । जसको नाम हो, डाइनामिकस्पट । यो मल्टिटास्किङ टुलले स्क्रिनको माथिल्लो भागमा फ्लोटिङ अर्थात तैरिरहने आइल्यान्डमार्फत तपाईँलाई पछिल्ला नोटिफिकेसन तथा फोन स्टाटसमा पहुँच बनाउने सुविधा दिन्छ ।

सेटअप पछि डाइनामिक स्पटले तपाईँको एन्ड्रोइड फोनको फ्रन्ट क्यामेरालाई डिफल्ट रूपमा नै घेरेर राख्दछ । यद्यपि तपाईँले फ्लोटिङ बारको अवस्थितिलाई आफ्नो चाहना अनुसार परिवर्तन गर्न समेत सकिन्छ । यो खासगरी ठूला आकारका फोनहरूमा बढी सहयोगी बन्न सक्छ । हामीले डाइनामिकस्पट सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा राखेर हेरेका थियौँ, त्यसले सोचे जस्तै गरी काम गरिरहेको थियो ।

यद्यपि एप्पलले दिए जस्तो एनिमेसनहरू त्यति स्मुथ भने छैनन् । तर त्यसमा थुप्रै कस्टमाइजेसनका विकल्पहरू छन् । जसबाट तपाईँले कुन किसिमका नोटिफिकेसन हेर्न चाहनुहुन्छ भन्ने कुरा रोज्नुका साथै आइल्यान्डको आकार परिवर्तन गर्न र प्राप्त हुने बित्तिकै एक साथ दुई ओटा पप-अप नोटिफिकेसन देख्न सक्नुहुन्छ ।

एपमा ४.९९ अमेरिकी डलर मूल्य तिरेर प्रो विकल्प समेत प्रयोग गर्न सकिन्छ । जसमा थप फङ्गसनका साथै लक स्क्रिनमा समेत डाइनामिकस्पट देख्न सकिने लगायतका फिचर छन् । तर यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने तपाईँले यो एपलाई सेटअप गर्दाखेरि पूर्ण रूपमा एक्सेसिबिलिटी कन्ट्रोलको अनुमति दिनुपर्ने हुन्छ ।

यसको अर्थ यो एपले तपाईँको फोन स्क्रिनमा रहेका हरेक चिजहरूमा पहुँच बनाउन र नियन्त्रण गर्न सक्छ । यसले कुनै एप, हार्डवेयर, सेन्सरमा तपाईँले गर्ने गतिविधि ट्रयाक गर्न र तपाईँको तर्फबाट अन्तरक्रिया समेत गर्न सक्छ ।

डेभलपरले प्रयोगकर्ताको डेटा संकलन नगरिने र तेस्रो पक्षलाई तपाईँको सूचना शेयर नगर्ने कुराको सुनिश्चितता गरेको छ । अब यस्तोमा यदि तपाईँ एप्पलको डाइनामिक आइल्यान्ड फिचर आफ्नो एन्ड्रोइड फोनमा महसुस गर्न चाहनुहुन्छ भने यो एपमा अगाडि बढ्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १४:१३