close

को हुन्, टिकटकमा सर्वाधिक फलो गरिएका खाबे लेम ?

टेकपाना टेकपाना

असोज २४, २०७९ १२:२७

को हुन्, टिकटकमा सर्वाधिक फलो गरिएका खाबे लेम ?

काठमाडौं । उद्योगमा काम गर्ने सामान्य कामदारबाट खाबे लेम जिन्दगी रातारात कायापलट भयो । पश्चिम अफ्रिकाको सेनेगलमा जन्मिएका टिकटकर लेम अहिले १५ कराेड फलोअरका साथ सर्वाधिक फलो गरिएका टिकटक सेलेब्रेटी बनेका छन् ।

कोभिडभन्दा अघि उनको जिन्दगी गरिबीमै बितिरहेको थियो । न्यू योर्क टाइम्सका अनुसार उनी इटालीमा रहेको फ्याक्ट्रीमा कन्ट्रोल मसिनहरू व्यवस्थापन गर्ने गर्थे । कोभिड महामारीका कारण उनलाई मार्च २०२० मा उक्त फ्याक्ट्री छोड्नुपर्ने भयो ।

त्यसपछि लेम पूर्ण रूपमा टिकटकमा सक्रिय भए । उनी आफ्नो समय टिकटकमा कन्टेन्ट बनाएरै बिताउने गर्थे । उनी आफ्नो परिवारको घरमा बसेर कमेडी केन्द्रित कन्टेन्ट बनाउँथे ।

सामाजिक सञ्जालमा 'लाइफ ह्याक' (दैनिक जीवन सहज बनाउने उपायहरू) बढी नै हेरिने कन्टेन्टभित्र पर्ने गर्छन् । विभिन्न काम सजिलै गर्न सकिने भएपनि क्रियटरले त्यसलाई सजिलो बनाउने भन्दै गाह्रो तरिकाले गरेको 'लाइफ ह्याक' भिडिओ सार्वजनिक गर्ने गर्छन् ।

तिनै भिडिओलाई केही शब्द नै नबोली व्यङ्ग्य गर्ने खाबेको अनौठो शैलीले विश्वभरका दर्शकलाई आकर्षित गर्‍यो । फोर्ब्सका अनुसार उनी केही शब्द नै नबोलेर सन् २०२१ मा १० मिलियन डलरको सूचीमा परेका थिए । त्यसोभए खाबे लेम को हुन् ? तीव्र गतिमा यो सफलता उनले कसरी पाए ?

उनी आफ्नो परिवारसँग सार्वजनिक घरमा बस्थे

खाबे लेम मार्च ९, २००० मा पश्चिम अफ्रिकी देश सेनेगलमा जन्मिएका हुन् । उनी एक वर्षको हुँदा नै उनको परिवार इटाली बसाइँ सरेको थियो । उनको परिवार इटालीमा रहेको चिभास्सोस्तित पब्लिक हाउजिङ कम्प्लेक्समा बस्ने गर्थ्याे ।

लेम त्यहाँ आफ्ना तीन दाजुभाइ र परिवारसँग बस्ने गर्थे । हाल लेम मिलानमा आफ्ना एजेन्टसँग बस्ने गर्छन् । स्थानीय कोरियर डेला सेरा पत्रिकालाई लेमले भनेका थिए, "मलाई मेरो परिवारले शिक्षाका साथसाथै विभिन्न बन्धनमा बाँधिन भनेकाे छ । मेरो सफलताका माध्यमबाट म मेरो परिवार र साथीहरूलाई सहयोग गर्न चाहन्छु ।"

 

'विल स्मिथ'; उनको प्रेरणाको स्रोत

खाबे सानैबाट विल स्मिथजस्तो कलाकार बन्न चाहन्थे । तर, सानैबाट फ्याक्ट्रीमा का गर्ने भएकाले उनले आफ्नो सपनालाई सँगै लिन सकेका थिएनन् । त्यसपछि उनले कमेडी भिडिओहरू फेला पारे । जसले हाँस्यास्पद तरिकाले विभिन्न समस्या समाधान गर्न सघाउँथ्यो । खाबेले त्यस्तो प्रकृतिका भिडिओ सुरुवातकर्ता आफै भएको दाबी गरेका छन् ।

उनी लाइभ ह्याकका प्रायः भिडिओलाई साङ्केतिक तरिकाले व्यङ्ग्य गर्दै साधारण तरिकाले उक्त समस्या समाधान गर्ने उपाय सिकाउँछन् । उनले प्रयोग गरेको शैलीले दर्शकले हसाएपछि उनी त्यस्तै प्रकृतिका भिडिओ बनाउन थालले । अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले रिपोर्ट गरे अनुसार उनी जटिल तरिकाले समस्या समाधान गरेका भिडिओलाई व्यङ्ग्य गर्दै आफैलाई प्रस्तुत गरेर सहज तरिकाले समाधान गरेर भिडिओ तयार पार्थे ।

उनको गजबको शैली त के छ भने कुनै पनि समस्याको समाधान गरिसकेपछि कुमबाट दुई हात अगाडि झारेर मुसुक्क मुस्कुराउँछन् । यही शैलीले गर्दा उनको भिडिओ धेरै दर्शकले रुचाएको विश्लेषकको भनाइ छ । उनी भन्छन्, "मानिसहरूलाई यी सहज कुराको बारेमा जानकारी नभएर मैले सिकाउन खोजेको होइन । मेरो मुख्य उद्देश्य भनेको नै मानिसहरूलाई मनोरञ्जन दिनु थियो ।"

उनले मुखबाट कुनै पनि शब्द ननिकालेर दर्शकसँग अन्तर्क्रिया गर्ने निर्णय गरे

उनका हाँस्यास्पद इशारा आकस्मिक आएका थिए । कुनै पनि शब्द नबोलेर भिडिओ बनाउने उनको योजना नै थिएन ।

"मैले सकेसम्म हरेक वर्ग, भाषाका मानिसहरूसम्म पुग्ने तरिका सोचेँ । त्यसका लागि सबैभन्दा राम्रो तरिका भनेको नबोल्नु रहेछ," उनले सीएनएनलाई भने ।

भाषा सीमित वर्गले बुझ्छन् होला, तर संकेत वा इसारा हरेक मानिसहरूले बुझ्ने गर्छन्ज, यसले गर्दा लेमका भिडिओ विश्वभरका दर्शकको रोजाइमा परे ।

फोर्ब्सको सूचीमा लगातार दुई पटक परेका लेम

फोर्ब्सले तयार पारेको २०२२ का टप क्रियटरको सूचीमा लेम ४९ जनामध्ये आठौँ स्थानमा परेका थिए । त्यस्तै फोर्ब्सको अर्को विधा अण्डर ३० युरोप आर्ट एण्ड कल्टर २०२२ द्वारा पनि लेम सम्मानित भएका थिए ।

फोर्ब्सका अनुसार सामाजिक सञ्जाल च्यानलमा उनका कुल २३० मिलियन फलोअर छन् । त्यस्तै उनी वेब थ्री (Web 3) मा समेत छानिएका छन् । टेक क्रन्चका अनुसार लेमले हालसालै क्रिप्टोकरेन्सी विनिमय बाइनान्ससँग सम्झौता गरेका छन् ।

त्यस्तै लेमले गत फेब्रुअरीमा ह्युगो बोसको ग्लोबल एम्बेस्डरका रूपमा बहुवर्षीय सम्झौता गरेका छन् । यसैगरी उनले बोस एक्स खाबे क्याप्सुल कलेक्सन समेत सार्वजनिक गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १५:५३