close

इन्टरनेटमा भएका लेखको कुनै वाक्य मनपर्‍यो ? यसरी बनाउनुहोस् पोस्टर

टेकपाना टेकपाना

असोज ३०, २०७९ १८:२४

इन्टरनेटमा भएका लेखको कुनै वाक्य मनपर्‍यो ? यसरी बनाउनुहोस् पोस्टर

काठमाडौं । स्मार्टफोन, कम्प्युटर तथा इन्टरनेटको प्रयोग बढेसँगै अनलाइनबाट लेखहरू पढ्ने प्रचलन बढ्दै गएको छ । अनलाइन माध्यमको बढ्दो प्रयोगले पुस्तक, पत्रपत्रिका लगायतका भाैतिक माध्यमका प्रयोग घट्दै गएकाे छ ।

तुलनात्मक हिसाबले अनलाइनबाट प्रकाशित लेखहरू पत्रिका तथा पुस्तकको तुलनामा पढ्न निकै नै सहज हुन्छ । हुन त भौतिक रूपमा पुस्तक वा समाचार पढ्दा आफूलाई मन परेको कुरालाई हाइलाइट गर्ने वा काटेर सुरक्षित राख्ने सुविधा हुन्छ । जसलाई आवश्यक पर्दा वा अन्य विविध प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।

अनलाइनबाट पढिने समाचारमा भने त्यस्तो सुविधा छैन । आफूलाई मन परेका लेखहरू शेयर त गर्न सकिन्छ । तर, लेखको विशेष भागलाई कतै राख्न चाहिँ समस्या नै हुन्छ । कुनै पनि लेखमा आफूलाई मन परेको वाक्य कपी गरेर कतै पेस्ट गर्दा आफूले खोजेको बेला नभेटिन सक्छ ।

अनलाइनमा पढ्दा कतिपय महत्त्वपूर्ण वाक्य फेला पर्छन् । त्यस्ता वाक्य कपी गरेर कतै सेभ गर्दा उक्त वाक्य  कहाँबाट साभार गरिएको भन्ने कुरा राख्न छुट्न सक्छ । अझ पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेको छ । जहाँ हामी अरूले लेखेका समाचार कपी गरेर राखिरहेका हुन्छौं ।

त्यसरी सामाजिक सञ्जालमा राख्दा समाचारको स्रोत उल्लेख गरिँदैन । समाचारकाे स्रोत नदिँदा गलत भएकाे खण्डमा तपाईंको अथवा तपाईंले समाचार राख्नु भएको पेजको लोकप्रियता घट्न सक्छ । यसैलाई मध्यनजर गर्दै गुगल क्रोमले प्रयोगकर्ताको लागि 'क्रियट कार्ड' फिचर उपलब्ध गराएको छ । 

गुगल क्रोमबाट बन्ने कार्ड आकर्षक हुनुका साथै समाचार कहाँबाट साभार गरिएको भन्ने कुरा समेत उल्लेख हुने हुन्छ । यो फिचर प्रयोग गरेर आफूले पढेका कुनै लेखको एउटा अंशको पोस्टर बनाउन र सोही पोस्टर मार्फत लेखको वास्तविक लिंक सहित सामाजिक सञ्जालमा शेयर गर्न पनि सकिन्छ । यद्यपि यो फिचर गुगल क्रोमको मोबाइल एपको लागि मात्र उपलब्ध छ । 

गुगल क्रोमको माेबाइल एपबाट लेखको पोस्टर बनाउन तलको प्रक्रिया अपनाउनुहोस्;

- सबैभन्दा पहिले कुनै पनि लिङ्कमा गएर क्रोममा समाचार खोल्नुहोस् ।

- त्यसपछि आफूलाई मन परेको वा महत्त्वपूर्ण लागेको वाक्य सेलेक्ट गर्नुहोस् ।

- सेलेक्ट गरिसकेपछि शेयर, कपी, कट सेलेक्ट अल जस्ता अप्सन देखिन्छन् ।

- तीमध्ये शेयरमा जानुहोस् ।

- त्यसपछि तल रहको क्रियट कार्ड (Create Card) को अप्सनमा क्लिक गर्नुहोस् ।

- त्यसपछि त्यहाँ विभिन्न डिजाइनका कार्डहरू देखिन्छन् । दायाँतर्फ स्क्रिन स्लाइड गरेर कुनै एक डिजाइन छनोट गर्नुहोस् ।

- अब माथि रहेको नेक्स्टमा क्लिक गर्नुहोस् ।

- त्यसपछि आफ्नो आवश्यकता अनुसार फोटो कपी गर्न, डाउनलोड गर्न, जिमेल, मेसेजबाट पठाउन, मेसेन्जरमा पठाउन सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १८:४३