close

निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित, यस्तो छ आफ्नो नाम हेर्ने तरिका

टेकपाना टेकपाना

कात्तिक १, २०७९ ८:२२

निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित, यस्तो छ आफ्नो नाम हेर्ने तरिका

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्ता प्रचारप्रसारमा जुटेका छन् । हालै निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नामावलीमा मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको नाम समावेश छ ।

आयोगका अनुसार यसपटक देशभरबाट कूल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्, जसमा ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम साे सूचीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ ।

तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए/नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो लिङ्कमा गएर तपाईँले आफ्नो प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर र मतदान केन्द्रको विवरण छानेपछि तपाईँको क्षेत्रमा भएका सबै मतदाताहरूको विवरण देखिनेछ ।

तपाईँले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितको मतदाता परिचयपत्र देखिनेछ ।

तपाईँले आफ्नो ठाउँको सही विवरण राखेको खण्डमा मतदाता परिचयपत्रको नमुना पनि हेर्न सक्नुहुन्छ । त्यसका लागि माथि उल्लेखित सबै विवरण भरेर नामावलीमा प्रवेश गर्नुहोस् ।

त्यसपछि जन्ममिति वा नागरिकता नम्बर राख्नुहोस् । त्यसपछि क्याप्चा टाइप गरेर सब्मिटमा क्लिक गर्नुहोस् । यसरी तपाईँले आफ्नो मतदाता परिचयपत्रको नमुना हेर्न सक्नुहुन्छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ ८:३५