close

यसकारण चाहिन्छ सबै एपको लाइट भर्सन

टेकपाना टेकपाना

कात्तिक २, २०७९ ९:२०

यसकारण चाहिन्छ सबै एपको लाइट भर्सन

काठमाडौं । पछिल्ला केही वर्षदेखि विभिन्न एपका लाइट भर्सन लोकप्रिय हुँदै गइरहेका छन् । लाइट भर्सन एपले कम डेटा खपत गर्ने भएकाले यसप्रति धेरै प्रयोगकर्ता आकर्षित छन् । प्रविधिमा दिग्गज मानिएका विभिन्न कम्पनीले कम आयस्तर हुने देशका प्रयाेगकर्तालाई लक्षित गर्दै आफ्नो एपको लाइट भर्सन सार्वजनिक गरिरहेका हुन्छन् ।

लाइट एपले कम डेटा खपत गर्नुका साथै स्टोरेज पनि कम ओगट्छ । यसकारण र्‍याम तथा सीपीयू क्षमता कम हुने डिभाइसमा लाइट संस्करणका एप नै उपयाेगी हुन्छ । यद्यपि 'लाइट एप'को माग राम्रो हुँदा पनि डेभलपरले यस्ता एपलाई बेवास्ता गरिरहेका हुन्छन् ।

पछिल्ला दिनमा लाइट एप केही सीमित देशमा मात्र उपलब्ध छन् । त्यस्तो देशमा यी एपको प्रयोग बढी छ, जहाँ प्रयोगकर्ता मिडरेन्ज तथा लो इन्ड डिभाइस प्रयोग गर्छन् । लाइट एप फ्ल्यागशिप तथा महँगा डिभाइस हुने प्रयोगकर्ताका लागि पनि उत्तिकै उपयोगी हुनसक्छ ।

कतिपय अवस्थामा इन्टरनेट स्पिड कम हुँदा पनि सेवामा पहुँच पाउन सकिने भएकाले लाइट एपले सहयाेग गर्छ । तर विकसित देशका लागि डेभलपरले 'लाइट एप' उपलब्ध नगराउँदा त्यस देशका प्रयोगकर्तालाई समस्या परिरहेको हुनसक्छ ।

त्यस्ता देशका बजारमा पनि प्रयोगकर्ताले सस्तो फोन र कम डेटा खपत गर्ने एपहरू खोजिरहेका हुन्छन् । ठाउँ विकसित भएपनि प्रयोगकर्ताको आर्थिक अवस्था त्यति बलियो नहुनसक्छ । त्यस्तै विकसित देशका दुर्गम ठाउँमा यात्रा गर्दा पनि कम इन्टरनेट स्पिडमा राम्रो चल्ने एपको आवश्यकता पर्छ ।

हामीले डाउनलोड गरेर प्रयोग गरिरहेका विभिन्न एप जस्तै; फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, टिकटक र इन्स्टाग्रामले ब्याट्री पनि धेरै खपत गर्ने गर्छन् । ब्याट्री जोगाउन हामी यस्ता एपको 'लाइट भर्सन' प्रयोग गर्न सक्छौँ ।

प्रविधिमा दिग्गज मानिएका कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विभिन्न आकर्षक फिचरहरू ल्याउँछन् । अहिले तिनै फिचरले डेटा बढी खपत गरिरहेकाे छ । त्यस्तै यी प्रमुख एपले फोनका विभिन्न कुरामा पर्मिसन मागिरहेका हुन्छन्, जसले गर्दा हाम्रो बढीभन्दा बढी डेटा खपत हुने गर्छ । तपाईँको डिभाइस टिकाउ ब्याट्री तथा पावरफुल हार्डवेयर भए तापनि त्यसको फाइदा विभिन्न एपहरूले उठाउने गर्छन् । 

उही काम, तर मुख्य एपले बढी स्रोतको खपत

मुख्य एप र लाइट एपले प्रायः समान सेवा दिइरहेका हुन्छन् । तर, मुख्य एप प्रयोग गर्दा हाम्रो बढीभन्दा बढी स्रोत खपत भइरहेको हुन्छ । उदाहरणका लागि फेसबुकलाई नै हेरौँ । जति सुविधा मुख्य एपले दिएको हुन्छ, करिब त्यति सेवा नै लाइट एपले दिइरहेको हुन्छ । केही कुरामा त झन् लाइट एप नै अगाडि छ ।

विशेषगरी फेसबुकको मुख्य एपबाट सीमित (५ जना) प्रयोगकर्तालाई मात्र च्याट गर्न सकिन्छ । तर, लाइट एपबाट आफूले चाहे जतिका व्यक्तिसँग च्याट गर्न सकिन्छ । फेसबुक प्रयोगकर्ताले च्याट गर्नका लागि छुट्टै मेसेन्जर एप डाउनलोड गर्नुपर्ने हुन्छ । फेसबुक एप डाउनलोड गर्दा त्यसको साइज करिब १५० एमबीको हुन्छ ।

तर, प्रयोग गर्दै जाँदा त्यसले १ जीबीभन्दा बढी स्टोरेज खपत गरेर समस्यामा पारिरहेको हुन्छ । फेसबुक लाइटले भने यसको तुलनामा निकै कम डेटा खपत गर्छ । लाइटको इन्स्टल साइज ५ एमबीको हुन्छ । त्यस्तै फिड प्रिलोड गर्ने फिचर नहुँदा यसले अनावश्यक डेटा खपत गर्दैन । त्यस्तै फेसबुक एपको तुलनामा फेसबुक लाइट एपले २५ प्रतिशत कम पर्मिसन माग्ने गर्छ ।

यस्ता विविध कारणले गर्दा जतिको लोकप्रियता मुख्य एपको हुन्छ त्यतिकै लोकप्रियता लाइट एपको पनि रहेको छ । कम्पनीले आफ्नो स्वार्थका लागि मुख्य एपलाई नै बढी महत्त्व दिएका हुन्छन् । प्रयोगका आधारमा लाइट एपलाई पनि प्रयोगकर्ताले उत्तिकै रुचाएका हुन्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २, २०७९ ९:२०