काठमाडौं । स्मार्टफोन पड्केर बेलाबखत दुर्घटना भएका समाचार आइरहन्छन् । कतिपय अवस्थामा स्मार्टफोन पड्किनुमा स्मार्टफोन निर्माता कम्पनीको दोष हुन्छ भने कतिपय अवस्थामा प्रयोगकर्ताले गरेका गल्तीका कारण पनि स्मार्टफोन पड्किन सक्छ ।
स्मार्टफोन खरिद गर्दा नै हामीलाई विभिन्न डरहरूले सताइरहेका हुन्छन् । हुन त विद्युतीय उपकरण प्रयोगमा थुप्रै जोखिम हुन्छन् । ती उपकरण कसरी प्रयोग भएका छन् भन्ने कुराले पनि धेरै प्रभाव पारेको हुन्छ । हामी सजग भएर उक्त डिभाइस प्रयोग गर्दा जोखिम कम हुन्छन् ।
प्रायः स्मार्टफोन पड्किने घटना प्रयोगकर्ताको कमजोरीले नै भएको पाइन्छ । आज हामी के के कारणले गर्दा स्मार्टफोन पड्किन्छ र त्यसबाट बच्न के गर्ने भन्ने विषयमा जानकारी दिन्छौँ । ब्याट्रीमा केही समस्या छ भने पनि फोन पड्किन सक्छ ।
अहिले प्रयोगमा आएका प्रायः फोनमा लिथियम आयन ब्याट्री प्रयोग भएको हुन्छ । लिथियम आयन ब्याट्रीमा पोजेटिभ र नेगेटिभ इलेक्ट्रोडको समान सन्तुलन हुने गर्छ । जसले गर्दा उक्त ब्याट्री पुनः चार्ज गर्न सकिन्छ । केही अवस्थामा ब्याट्री फुट्दा त्यसमा भोलाटायल रिएक्सन हुने गर्छ ।
यदि त्यसलाई व्यवस्थापन गर्न सकिएन भने फोन पड्किन सक्छ । कम्पनीको कमजोरीका कारण फोन पड्केर कुनै पनि दुर्घटना भएमा उक्त फोनको कम्पनीले व्यहोर्छ । तर, प्रयोगकर्ताको गल्तीले फोन पड्केको छ भने त्यसमा कम्पनीले केही गर्दैन । त्यसैले स्मार्टफोन प्रयोग गर्दा हरेक समय सचेत हुनुपर्ने हुन्छ । फोन पड्किनु प्रमुख कारण नै ब्याट्रीमा खराबी हुनु हो ।
यदि फोनको तापक्रम अत्याधिक (४५ डिग्री सेल्सियस भन्दा बढी) भएको खण्डमा ब्याट्री बिग्रिन्छ । यदि ब्याट्री चार्जमा छ वा केही प्रोसेसरले काम गरिरहेका छन् भने फोन छिट्टै तात्ने गर्छ । जसले ब्याट्रीको क्यामिकल कम्पोजिसन बिगार्छ । जसलाई थर्मल रनवे भनिन्छ । यही थर्मल रनवेले गर्दा ब्याट्रीले धेरै ताप उत्पादन गर्छ । जसले गर्दा फोन पड्किन सक्छ ।
विशेषगरी अर्कोको चार्जर वा अनधिकृत कम्पनीको चार्जर प्रयोग गर्दा तपाईँको फोन पड्किन सक्छ । स्मार्टफोन खरिद गर्दा कम्पनीले उक्त फोनलाई उपयुक्त हुने चार्जर उपलब्ध गराएको हुन्छ । यदि केही गरी उक्त चार्जर बिग्रियो भने त्यही चार्जर पाउन गाह्रो हुन्छ ।
त्यसैले हामी बजारमा उपलब्ध सस्तो वा भनौँ अनधिकृत चार्जर प्रयोग गर्छौँ । उक्त चार्जरले सप्लाइ गर्ने अनियन्त्रित करेन्टले गर्दा फोन पड्किन सक्छ । कतिपय अवस्थामा फोन चार्जमा राखेर फोनमा अन्य हेभी काम गर्दा पनि फोन तात्ने गर्छ । यही प्रक्रिया लगातार दोहोरी रह्यो भने ब्याट्री बिग्रेर पड्किने सम्भावना धेरै हुन्छ । फोन चार्ज गर्दा भरसक फोन आफ्नो नजिक राख्न हुँदैन ।
कतिपयले चार्जमा लगाएको फोन आफ्नो सिरानीमा राख्ने गर्छन् । जसले गर्दा फोन पड्कियो भने पनि त्यसले बढी क्षति गर्ने सक्छ । त्यस्तै कतिपयले चुँडिएको चार्जर प्रयोग गर्छन् । चुँडेको चार्जर जोडेर प्रयोग गर्दा धेरै जोखिम हुनेगर्छ । विशेषगरी शर्ट सर्किट हुँदा फोन पड्किन सक्छ । त्यस्तै यदि फोन पानीमा परेको छ भने त्यस्तो अवस्थामा पनि ब्याट्री बिग्रिने खतरा हुन्छ ।
बिग्रेको ब्याट्री प्रयोग गरिरहँदा चार्ज अव्यवस्थित भएर ब्याट्री पड्किन सक्छ । त्यसैले फोन पानीमा परेको छ भने ब्याट्री परिवर्तन गर्दा फाइदा हुन्छ । फोन पड्किनबाट रोक्नका लागि तपाईँ आफै सजग हुनुपर्छ । विशेषगरी फोनको तापक्रम व्यवस्थापन गर्नुपर्ने हुन्छ । फोन पानीमा परेको बेला घाममा राख्ने र धेरै तातेको बेला फ्रिजमा राख्दा फोनको तापक्रम अनियन्त्रित हुन गई पड्किन सक्छ ।
त्यसैले फोनको तापक्रम व्यवस्थापन गर्नुपर्छ । फोनलाई कहिल्यै पनि १०० प्रतिशत चार्ज गर्नुहुँदैन । फोनलाई ३० देखि ८० प्रतिशत चार्जभित्र प्रयोग गर्न उपयुक्त मानिन्छ । त्यसैले फोनको चार्ज ३० प्रतिशतभन्दा कम हुन र ८० प्रतिशतभन्दा बढी हुन नदिनु राम्राे हाे । त्यस्तै कतिपय अवस्थामा भाइरस वा मालवेयरले पनि ब्याट्री बिगार्न सक्छन् ।
त्यस्ता मालवेयरबाट ब्याट्री सुरक्षित राख्नुहोस् । फोनमा भौतिक असर कम पार्न फोन केस प्रयोग गर्नुहोस् । त्यस्तै कम्पनीले सुझाव दिएका केबल वा चार्जरमात्रै प्रयोग गर्नुहोस् । यदि त्यसो गरेको खण्डमा फोनलाई पड्किनबाट बचाउन सकिन्छ ।