close

नयाँ फिचरसहित आईओएस १६.१ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

टेकपाना टेकपाना

कात्तिक ८, २०७९ ११:५५

नयाँ फिचरसहित आईओएस १६.१ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

काठमाडौं । एप्पलले आईओएस १६ मा भएका विभिन्न कमीकमजोरी र नयाँ फिचरहरू समावेश गरेर आईओएस १६.१ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार आईफोन प्रयोगकर्ताका लागि नयाँ अपडेट उपलब्ध गराएको हो ।

नयाँ अपडेट इन्स्टल गर्न सबैभन्दा पहिले 'सेटिङ'मा जानुहोस् । त्यसपछि 'जेनरल'मा गएर 'सफ्टवेयर अपडेट'मा ट्याप गर्नुहोस् । त्यसपछि आईओएस १६.१ अपडेट इन्स्टल हुन सुरु हुन्छ ।

याद गर्नुहोस् नयाँ अपडेट इन्स्टल गर्दा तपाईँको आईफोनमा ५० प्रतिशतभन्दा बढी चार्ज वा फोन चार्जमा लगाएको हुनुपर्छ । नयाँ अपडेटले पहिले भएका कुनै पनि कुरालाई नहटाई अपरेटिङ सिस्टमलाई रिफ्रेश गर्छ ।

आज हामी आईओएस १६.१ मा आएका महत्त्वपूर्ण फिचरबारे चर्चा गर्दैछौँ ।

आईक्लाउड शेयर्ड फोटो लाइब्रेरी

आईओएस १६.१ मा आएको महत्त्वपूर्ण फिचरमध्ये आईक्लाउड शेयर्ड फोटो लाइब्रेरी पनि एक हो । यसका माध्यमबाट छुट्टै फोटो लाइब्रेरी बनाएर विभिन्न पाँच व्यक्तिमा मिडिया फाइल शेयर गर्न यसका माध्यमबाट आईक्लाउडमा भएका पुराना तथा नयाँ फोटो तथा भिडिओ शेयर गर्न सकिन्छ ।

तपाईँले आफूले एडिट गरिरहेका फोटो अन्य व्यक्तिलाई शेयर गरेर एडिट गर्न, क्याप्सन राख्न वा डिलिट गर्न लगाउन सक्नुहुन्छ ।

ल्यान्डस्केप मोडमा डाइनामिक आइल्यान्ड

आईओएस १६.१ मा डाइनामिक आइल्यान्डले ल्यान्डस्केप मोडमा काम गर्न सक्छ । कुनै पनि डार्क वालपेपरमा डाइनामिक आइल्याण्डको बाहिरपट्टि आउटलाइन देखिन्छ । जसले गर्दा डाइनामिक आइल्यान्ड र वालपेपर छुट्टिन्छ । त्यस्तै आईओएस १६ को डाइनामिक आइल्यान्डमा भएका विभिन्न कमजोरीलाई यसमा सुधारिएको कम्पनीले जनाएको छ ।

विशेषगरी तीव्र गतिको फेस आईडी एनिमेसन, डाइनामिक आइल्यान्डको तलपट्टि अडियाे आउटपुटको आइकनजस्ता कुरा समावेश गरिएको छ । त्यस्तै स्क्रिनशट एपको शेयर शिट पनि माथिपट्टि सारिएको कम्पनीले जनाएको छ ।

ब्याट्री पर्सेन्टेजमा परिवर्तन

आईफोनका कतिपय माेडेलमा ब्याट्री प्रतिशत देखाइएको थिएन, विशेषगरी आईफोन १२ मिनी र आईफोन १३ मिनीमा ।

नयाँ अपडेटसँगै अब भने आईफोनमा हरेक डिभाइसमा ब्याट्री प्रतिशत हेर्न सकिने भएको छ । एप्पलले स्क्रिन आकर्षक देखाउन ब्याट्री पर्सेन्टलाई स्टेटस बारमा समायोजन गरेको छ ।

एपीआईमा लाइभ एक्टिभिटिजहरू

आईओएस १६.१ ले थर्ड पार्टी एपहरूका लागि लाइभ एक्टिभिटिज एपीआई ल्याएको छ । जसका माध्यमबाट डेभलपरले लकस्क्रिनमा आफ्ना एपको लाइभ एक्टिभिटिज समावेश गर्न सक्छन् ।

विशेषगरी यसमा कुनै पनि स्पोर्टको स्कोर, विभिन्न एपको लाइभ अपडेटजस्ता कुरा समावेश भएका छन् । त्यस्तै डाइनामिक आइल्यान्डमा पनि यी लाइभ एक्टिभिटिज समावेश गर्न सकिने कम्पनीको भनाइ छ ।

वालेट र ह्याप्टिक कीबोर्डमा परिवर्तन

आईओएस १६.१ को सेटिङ पर्मिटमा नयाँ स्विच रहेको छ, जसलाई अन गरेको खण्डमा एपका कन्टेन्ट स्वतः डाउनलोड हुन्छन् ।

त्यस्तै ह्याप्टिक कीबोर्डमा पनि परिवर्तन आएको छ । यदि तपाईँलाई वालेट एप आवश्यक छैन भने त्यसलाई हटाउन सक्नुहुन्छ ।

यसैगरी नोट्स पनि विशेष फिचर समावेश गरिएको छ ।

फिटनेस प्लस

यदि तपाईँसँग एप्पल वाच छैन भने पनि तपाईँको आईफोनले एप्पल फिटनेस प्लस सपोर्ट गर्नेछ ।

त्यसका लागि आईओएस १६.१ अपडेट गर्नुपर्ने हुन्छ ।

क्लिन इनर्जी चार्जिङ

नयाँ सेटिङले तपाईँको कार्बन फुटप्रिन्ट कम गर्न प्रयास गर्नेछ, जसले कम कार्बन उत्सर्जन गर्ने विद्युतलाई छानेर फोन चार्ज गर्नेछ ।

बुक

आईओएस १६.१ मा बुकमा पनि नयाँ अपडेट ल्याएको छ । आईफोनको बुकमा केही पढ्दा त्यसमा भएका रिडर कन्ट्रोल स्वतः गायब हुनेछन् । जसले गर्दा व्यक्तिलाई पढ्न सहज हुन्छ ।

आईओएस १६.१ ले आईओएस १६ मा भएका विभिन्न कमजोरीलाई समाधान गरेको छ ।

विशेषगरी डिलिट गरिसकेका च्याट पनि त्यसैमा सेभ भएर रहने बगलाई कम्पनीले आईओएस १६.१ मार्फत समाधान गरेको छ । त्यस्तै 'कार प्ले' (Carplay) मा कतिपय अवस्थामा भीपीएन एप प्रयोग गर्दा कनेक्ट हुन सक्दैनथ्यो ।

कम्पनीले यो कमजोरीलाई पनि समाधान गरेको छ । यसैगरी रिच्याविलिटी (Reachability) प्रयोग गर्दा डाइनामिक कन्टेन्ट उपलब्ध नहुने समस्यालाई पनि आईओएस १६.१ मा समाधान गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ १२:४