काठमाडौं । निर्वाचन आयोगले 'नो, नट अगेन' फेसबुक पेजका सञ्चालक पत्ता लगाउने जिम्मा नेपाल प्रहरीको साइबर ब्यूरोलाई दिएको छ । बन्द गर्ने निर्देशन आएपनि पेज झनै सक्रिय हुन थालेपछि आयोगले यस्तो कदम चालेको हो ।
गत कात्तिक ८ गते आयोगले निर्वाचन प्रणालीलाई प्रभाव पारेकाे भन्दै 'नो, नट अगेन' नामका पेज हटाउन निर्देशन दिएको थियो । उक्त पेजमा उम्मेदवारसमेत रहेका व्यक्तिबारे भ्रमपूर्ण जानकारी राखेको र त्यसले निर्वाचन प्रणालीलाई असर गर्ने ठहर गर्दै आयोगले 'नो, नट अगेन' नामबाट सञ्जालन भई सोही अनुसारका गतिविधि गर्ने पेज तत्कालै हटाउनुपर्ने बताएको थियो ।
आयोगको उक्त निर्देशनपछि 'नो, नट अगेन' अभियान झनै चर्चामा आयो । आयोगले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै आयोगको आलोचना र 'नो, नट अगेन'को प्रशंसा भइरहेको छ । आलोचित बनेपछि निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै नेताहरूको गाली बेइज्जती गर्ने संगठित पेज अभिव्यक्तिभित्र नपर्ने जनाएको थियो ।
त्यसपछि झनै सक्रिय बनेको पेज 'नो, नट अगेन'का सञ्चालक पत्ता लगाउने जिम्मा निर्वाचन आयोगले साइबर ब्यूरोलाई दिएको स्रोतले जनाएको छ ।
फेसबुकमा सक्रिय 'नो, नट अगेन' पेजको फेसबुक ट्रान्सपरेन्सी हेर्दा एकजना सञ्चालक रहेको देखिन्छ । पेज एउटा आईडीबाट सञ्चालन भइरहेको देखिए पनि उक्त पेज धेरै व्यक्तिले एउटै आईडीबाट सञ्चालन गरिरहेको पाइएकाे छ ।
निर्वाचन आयोगले साइबर ब्यूरोलाई 'नो, नट अगेन'का सञ्चालक पत्ता लगाउने जिम्मा दिएपछि साइबर ब्यूरोले अनुसन्धान थालेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
निर्वाचन आयोगले उक्त पेजले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६३ को कसूर अन्तर्गत पर्ने जनाएको थियो । यस कसूरमा एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।