close

नयाँ नियम ल्याउँदै ट्वीटर, भेरिफाइड प्रयोगकर्ताले हरेक महिना २० डलर तिर्नुपर्ने !

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १४:४

नयाँ नियम ल्याउँदै ट्वीटर, भेरिफाइड प्रयोगकर्ताले हरेक महिना २० डलर तिर्नुपर्ने !

काठमाडौं । ट्वीटरले नयाँ नियम ल्याउने तयारी गरेकाे छ । यसअन्तर्गत ब्लु टिक पाएका प्रयोगकर्ताले आफ्नो भेरिफिकेसन ब्याज जारी राख्न प्रतिमहिना १९.९९ डलर (करिब २७ सय रुपैयाँ) तिर्नुपर्ने छ । प्रयोगकर्ताले उक्त रकम तिरेनन् भने उनीहरूको अकाउन्टबाट ब्लु टिक हटेर जाने बताइएकाे छ ।

एलन मस्कले ट्वीटरलाई आफ्नो स्वामित्वमा लिएपछि ब्लु टिकका लागि शुल्क बढाउने याेजना ल्याएका हुन् । ब्लु टिक ट्वीटरको प्रिमियम सेवाअन्तर्गत पर्ने भएकाले उक्त चेक मार्क कायम राख्न प्रयोगकर्ताले मासिक १९.९९ डलर तिर्नुपर्ने हुन्छ ।

आफू चर्चित व्यक्ति हुनुका साथै ठूला मिडियामा फिचर भइसकेको र बढी सब्स्क्राइबर हुँदा पनि ट्वीटरबाट अकाउन्ट भेरिफाइ नभएको जोन क्रउसले गुनासो गरेका थिए । उक्त ट्वीटको रिप्लाई दिँदै मस्कले ट्वीटर ह्यान्डल भेरिफिकेसनको प्रक्रिया तत्कालै परिमार्जन भइरहेको भन्दै ट्वीटको रिप्लाई दिएका थिए ।

कम्पनीले अन्य फिचरहरू समावेश भएको ट्वीटर ब्लुका लागि मासिक शुल्क ४.९९ डलर शुल्क कायम गरेको थियो । ट्वीटर ब्लुलाई ट्वीटरको प्रिमियम सेवा मानिन्छ । त्यसैअन्तर्गत कम्पनीले ट्वीटर ब्लुको सब्सक्रिप्सन बढाएर प्रतिमहिना १९.९९ डलर पुर्‍याउने योजना बनाइरहेको छ ।

ट्वीटरको भेरिफिकेसन ब्याज पनि प्रिमियम सेवाअन्तर्गत पर्ने भएकाले ब्लु टिक पाएका प्रयोगकर्ता स्वतः प्रति महिना तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ । यो परियोजनामा काम गरिरहेका कर्मचारीलाई आइतबारबाट उक्त काम सुरु गर्न भनिएको छ ।

नोभेम्बर ७ (कार्तिक २१) गतेसम्म उक्त फिचर लन्च गर्न नसकेको खण्डमा त्यस परियोजनामा काम गर्ने सम्पूर्ण कर्मचारी बर्खास्त हुने मस्कले चेतावनी दिएका छन् ।

ट्वीटर प्रयोगकर्ताको अकाउन्ट भेरिफाइ गर्ने र बट व्यवस्थापन गर्ने प्रक्रियालाई मस्कले परिमार्जन गर्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १४:२७