close

पब्जी विश्वकपमा आज दोस्रो दिनको खेल चल्दै, यस्तो छ नेपाली टिमको अवस्था

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १७:५७

पब्जी विश्वकपमा आज दोस्रो दिनको खेल चल्दै, यस्तो छ नेपाली टिमको अवस्था

काठमाडाैं । पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा आज दोस्रो दिनको खेल चल्दैछ । विश्वभरबाट ५१ टिम सहभागी प्रतियोगितामा नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो प्रतियोगितामा ४८ टिमलाई तीन समूहमा बाँडिएको छ । जसअन्तर्गत कुल १३ टिमले यो प्रतियोगिताको अन्तिम चरणमा आफ्नो स्थान पक्का गर्नेछन् । बाँकी तीन आमन्त्रित टिमले सिधै अन्तिम चरण खेल्नेछन् ।

बिहीबार पहिलो दिनको खेल सकिँदा तीन समूहमध्ये ‘रेड ग्रुप’मा रहेको नेपाली पब्जी टिम डीआरएस गेमिङ आफ्नो समूहको सातौँ स्थानमा रहेको छ । डीआरएस गेमिङले छ खेलबाट १६ एलिमिनेसन पोइन्ट सहित कुल ४८ पोइन्ट बटुलेको छ ।

यो समूहको अङ्क तालिकाको शीर्ष स्थानमा दक्षिण अमेरिकी पब्जी टिम ‘इन्फ्लुयन्स केमिन’ रहेको छ, जसले कुल ९७ पोइन्ट ल्याएको छ ।

शुक्रबार यो प्रतियोगिता अन्तर्गतको दोस्रो दिनको खेल चल्दैछ । आज पनि ‘रेड ग्रुप’मा रहेको नेपाली पब्जी टिम डीआरएस गेमिङले प्रतिस्पर्धा गर्दैछ । यो प्रतियोगिताको नेपाली प्रत्यक्ष प्रसारण पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसियाको युट्युब र फेसबुक पेजबाट हेर्न सकिने छ । 

नेपालबाट सहभागी स्काइलाइट गेमिङ 'ग्रीन ग्रुप' मा छ । याे समूहकाे खेल नाेभेम्बर १७ देखि सुरू हुनेछ । त्यस्तै 'यल्लाे टिम' मा रहेकाे ट्रेन टु किलकाे खेल नाेभेम्बर २४ देखि सुरू हुनेछ ।

कुल पुरस्कार राशि ४० लाख डलर (५२ कराेड रूपैयाँ बढी) राखिएको यो प्रतियोगिताको विजेताले ९० हजार डलर (करिब साँढे १२ करोड), उपविजेताले ८५ हजार डलर (करिब ११ करोड) र तेस्रो हुने टिमले ८० हजार डलर (करिब साँढे १० करोड) हात पार्नेछन् । 

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १८:९