काठमाडौं । भारतको एक स्टार्टअप कम्पनीले ५०० किलोमिटरसम्म गुड्ने क्षमता भएको विद्युतीय कार सार्वजनिक गरेको छ । 'प्राभेग डिफाई' नाम दिइएको यो कारलाई भारतीय विद्युतीय सवारीको बजारमा स्टार्टअपको प्रवेशको संकेतको रुपमा लिइएको छ ।
एक पटक फूल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिने यो कार ३० मिनेटमा शून्य प्रतिशत देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । साथै, यसको ब्याट्री दुई लाख ५० हजार किलोमिटरसम्म टिक्न सक्ने कम्पनीको दाबी छ । झट्ट हेर्दा यो गाडीको डिजाइन रेन्ज रोभरको जस्तो देखिन्छ ।
छ सिटको यो कारमा १.६ इन्चको टचस्क्रिन डिस्प्ले, फाइभजी कनेक्टिभीटी, वायरलेस चार्जर लगायतका सुविधाहरू छन् । यसमा दुईओटा विद्युतीय मोटर जडान गरिएको छ जसले ६२० एनएम र ४०७ हर्सपावर उत्पन्न गर्दछ । यसमा १५० किलोवाटको डीसी चार्जर उपलब्ध गराइएको छ ।
भारतिय बजारमा गाडीको मूल्य साढे ३९ लाख भारतीय रुपैँया तोकिएको छ ।