close

ईभीमा नयाँ रेकर्ड, जेठमा मात्रै भित्रिए ३ हजार गाडी (तथ्याङ्क सहित)

टेकपाना टेकपाना

असार ७, २०८१ १७:५३

ईभीमा नयाँ रेकर्ड, जेठमा मात्रै भित्रिए ३ हजार गाडी (तथ्याङ्क सहित)

काठमाडौं । गएकाे जेठ महिनामा मात्रै नेपालमा झण्डै तीन हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठमा दुई हजार ९६८ विद्युतीय गाडी भित्रिएका हुन् । याे सङ्ख्या आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पछिल्लाे ११ महिना भित्रिएका ईभीमध्यकै धेरै हाे । 

जेठमा आयात भएका कुल ईभीमध्ये सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका छन् । याे अवधिमा उक्त क्षमताका १९८९ ओटा गाडी भित्रिएको तथ्याङ्कले देखाएको छ । त्यस्तै ५० किलोवाट क्षमताका ८७२ ओटा, १०१ देखि २०० किलोवाटका १०४ र २०१ देखि ३०० किलोवाट क्षमताका तीन ओटा ईभी भित्रिएका छन् । 

विभागको तथ्याङ्क अनुसार याे आर्थिक वर्षकाे साउनदेखि जेठसम्म नेपालमा कूल ११ हजार ४६५ विद्युतीय सवारी भित्रिएका छन् । 

तथ्याङ्क अनुसार पछिल्लो ११ महिनामा सबैभन्दा बढी ५१ देखि १०० किलोवाट क्षमताका ईभी भित्रिएका छन् । नेपाल भित्रिने उक्त क्षमताका गाडीको सङ्ख्या छ हजार ८८५ रहेको छ । त्यस्तै सो अवधिमा ५१ किलोवाट क्षमताका चार हजार ३४४ युनिट ईभी नेपाल आएका छन् ।

१०१ देखि २०० किलोवाट क्षमताका २०९ ओटा ईभी भित्रिंदा २०१ देखि ३०० किलोवाट क्षमताका २७ ओटा ईभी भित्रिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लाे ११ महिनामध्य साउनमा  सबैभन्दा कम अर्थात् ११० विद्युतीय गाडी आयात भएकाे थियाे । त्यसपछि फागुनमा २७६, कात्तिकमा ६७२, चैत्रमा ६५८, भाद्रमा ७८८ र मंसिरमा ८९९ ओटा विद्युतीय सवारी भित्रिएको तथ्याङ्कले देखाएको छ ।  त्यस्तै माघमा १०५२, असोजमा १२३७, वैशाखमा १४०४ र  पौषमा १४२१ ओटा ईभी भित्रिएका छन् ।

 

पछिल्लो अध्यावधिक: असार ७, २०८१ १९:३२