close

विद्युतीय गाडी निर्माता बीवाईडीको दक्षिण एसियाली डिलरहरूको सम्मेलन नेपालमा

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १९:२९

विद्युतीय गाडी निर्माता बीवाईडीको दक्षिण एसियाली डिलरहरूको सम्मेलन नेपालमा

काठमाडौं । विद्युतीय सवारी निर्माता बीवाईडीको दक्षिण एसियाली क्षेत्रका डिलरहरूकाे सम्मेलन नेपालमा सम्पन्न भएको छ । गत मंसिर ८ गते काठमाडौंमा आयोजना भएको कार्यक्रममा चीनस्थित बीवाईडीको मुख्य कार्यालयका प्रतिनिधि, बीवाईडी इन्डिया र नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक र सम्बन्धित डिलरहरूकाे सहभागिता रहेको थियो ।

पछिल्लो समय विश्वमा विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा यसको प्रभाव दक्षिण एसियाली मुलुकमा समेत देखिएको छ । यस्ताेमा कम्पनीले नेपाल र भारतमा शोरुम, वर्कशप, चार्जिङ स्टेशनजस्ता आवश्यक पूर्वाधार विस्तार गरिरहेको छ ।

दक्षिण एसियाली डिलरहरुको सम्मेलनमा बीवाईडी साउथ एसियाको डेपुटी जेनरल म्यानेजर केत्सु जाङले कम्पनीको योजना र विश्वभर बीवाईडीको बिक्रीको अवस्थाबारे जानकारी दिए ।

बीवाईडीको न्यू इनर्जी भेहिकलको बिक्री संख्या ३० लाख पुगेको जानकारी दिँदै जाङले भने, ‘बीवाईडीको दक्षिण एसिया क्षेत्रका डिलर पार्टनर र कम्पनीबीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थपिएको छ ।’

कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी विद्युतीय सवारीको प्रयोगमा दक्षिण एसियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरिन् ।

‘नेपालमा नयाँ दर्ता हुने सवारीमध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ,’ उनले भनिन्, ‘याे नेपाल सरकार, व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो ।​बीवाईडीको नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नलोजी’ का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको छ ।’

साइमेक्सले काठमाडौं, ललितपुर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ । साइमेक्सले हालैमात्र काठमाडौको नक्सालमा ‘स्टेट अफ आर्ट शोरुम’को सञ्चालन गर्नुका साथै बीवाईडीको पहिलो एसयूभी एटो३ समेत भित्र्याएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १९:४५