close

नेपालपे क्यूआरमा ४ महिनामै जोडिए एक लाख मर्चेन्ट

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १३:३०

नेपालपे क्यूआरमा ४ महिनामै जोडिए एक लाख मर्चेन्ट

काठमाडौं । बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा एक लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । सेवा सञ्चालनको चार महिनामै यो प्लेटफर्ममा लाखौंको संख्यामा मर्चेन्ट जोडिएका हुन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी एनसीएचएलले नेपालपे क्यूआर सञ्चालनमा ल्याएको हो । क्यूआर स्किमको रुपमा पनि उपलब्ध रहेको नेपालपे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्नसक्ने व्यवस्था छ ।

विभिन्न व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई-कमर्स पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्ड्रोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा लिन सकिन्छ ।

यसका लागि हाल एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनसीसी बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, सम्वृृद्धि फाइनान्स लगायत माेरू तथा फोकसवान सोलुसन्समार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु पनि थपिने क्रममा रहेका छन् ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सुविधा रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १३:३०