close

अव्यवस्थित तार नहटेको भन्दै इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको ताकेता

टेकपाना टेकपाना

मंसिर १८, २०७९ ८:४४

अव्यवस्थित तार नहटेको भन्दै इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको ताकेता

काठमाडौं । अव्यवस्थित तथा प्रयोगमा नरहेका तारहरू हटाउने ४५ दिने सूचनालाई सम्बन्धित सरोकारवालाले बेवास्ता गरेको भन्दै विद्युत प्राधिकरणले ताकेता गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै तार व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको उल्लेख गरेको छ ।

प्राधिकरणको विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल/ कोएक्सियल केबल तथा पोलमा जथाभाबी झुन्ड्याइएको उपकरणहरू निर्धारित मापदण्ड अनुसार ४५ दिन भित्रमा व्यवस्थित गर्ने सम्बन्धमा प्राधिकरणले गत कात्तिक १५ गते सूचना जारी गरेको थियो । 

सोही सूचना अनुरूप इन्टरनेट सेवाप्रदायकहरूले विभिन्न पोलमा प्रयोगमा नभएका तारहरू हटाउने काम पनि सुरु गरेका थिए । तर उक्त काम प्रभावकारी हुन नसकेको प्राधिकरणको भनाइ छ । हालसम्म समेत उक्त सूचनाको कार्यान्वयनमा उल्लेखनीय प्रगति नदेखिएको प्राधिकरणले जनाएको छ । यसकारण प्राधिकरणले पुन: सूचना जारी गरेको हो । सूचनामा निर्धारित समयावधिभित्र उक्त कार्य सम्पन्न गर्न सम्बन्धित सेवा प्रदायक संस्थाहरूलाई अनुरोध गरिएको छ । 

तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू प्रचलित कानुन बमोजिम प्राधिकरण आफैले हटाउने चेतावनी समेत दिएको छ । यसबाट हुन सक्ने नोक्सानीका लागि इन्टरनेट केबल टी. भी. / दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवारी हुने समेत प्राधिकरणले जानकारी दिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ ८:४४