close

स्थानीय सरकारलाई सहज बनाउन स्मार्ट पालिकाको पात्रो

टेकपाना टेकपाना

मंसिर २५, २०७९ १३:३८

स्थानीय सरकारलाई सहज बनाउन स्मार्ट पालिकाको पात्रो

काठमाडौं । स्मार्टपालिका प्रालि र सेलएप प्रालिको संयुक्त सहकार्यमा 'स्थानीय सरकार सञ्चालन पात्रो' मोबाइल एप सार्वजनिक भएको छ । आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले उक्त एपको सुरुवात गरेका हुन् । 

टेकपानासँग कुरा गर्दै सेल एप प्रालिका अभियान निर्देशक विवस महतले यो एपले स्थानीय पालिकाको कार्य सम्पादनलाई सहज बनाउने जानकारी दिए । "यो आर्थिक वर्षमा आधारित पात्रो हो," उनले भने, "स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउने उद्देश्यले सेलएप प्रालि र स्मार्टपालिका प्रालि संयुक्त रुपमा यो एप तयार गरिएको हो ।"

यस एपमा सर्वसाधारण, स्थानीय जनप्रतिनिधि, कर्मचारी सबै जोडिन मिल्ने व्यवस्था रहेको छ । "स्थानीय पालिकाले कार्यालयमा आफ्नै पात्रो राखेका हुन्छन्, जहाँ उनीहरूको वर्षभरी काम कारबाहीको विषयमा विवरणहरू उल्लेख गरिएको हुन्छ । त्यही पात्रोलाई डिजिटलाइज गर्न हामीले यो एप ल्याएका हौँ," उनले भने । त्यस्तै यो एपले नागरिकको सूचनाको अधिकारलाई समेत सुनिश्चित गर्ने उनको विश्वास छ ।

यो एप देशका सम्पूर्ण स्थानीय पालिकाका लागि तयार पारिएको एप हो । यो एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

एप डाउनलोड गरिसकेपछि आफ्नो स्थानीय पालिका छान्नुपर्ने हुन्छ । त्यसपछि होमपेजमा क्यालेन्डर देखिन्छ । उक्त क्यालेन्डरमा हरियो रङ्गले संकेत गरिएका मितिमा क्लिक गर्दा सो दिनको कार्यक्रम, बैठक, योजना आदि जानकारी देख्न सकिन्छ ।

त्यस्तै आफूलाई आवश्यक मितिमा नोट समेत राख्न सकिने व्यवस्था छ । यस एपले कर्मचारी, स्थानीय पालिकाका जनप्रतिनिधि आदिलाई महत्त्वपूर्ण मितिको बारेमा नोटिफिकेसन पनि पठाउँछ । जसले गर्दा कार्यसम्पादन गर्न सहज हुने स्मार्टपालिका प्रालिको विश्वास छ ।

पछिल्लो समयमा सेल एपले स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन विभिन्न एप विकास गर्दै आएको छ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ १४:१