close

महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिङ्कको 'पोडकास्ट अभियान'

टेकपाना टेकपाना

मंसिर २९, २०७९ १५:५४

महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिङ्कको 'पोडकास्ट अभियान'

काठमाडौ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्नो सामाजिक उत्तरदायित्त्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वर्ल्ड’ नामक सो अभियानअन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका १० महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे छ ओटा पोडकास्ट बनाएकी छन् ।

पोडकास्टअन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आवद्ध भएर नेपालको नाम राख्न सफल पहिलो महिला बिनिता राई, एकल खुट्टाले नाँचेर चर्चित भएकी रोमा न्यौपाने, पहिलो महिला नायब महानिरीक्षक मिरा चौधरी र मानव अधिकार अधिवक्ता प्रपुसा केसीसँग महिला हिंसा र उनीहरुको अनुभवबारे कुराकानी गरिएको थियो ।

यसैगरी पोडकास्टमा नेपालकै पहिलो कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान, अधिकारको क्षेत्रमा क्रियाशील शैली चौधरी, कैदी सहायता नेपालकी इन्दिरा रानामगर, नेपाल महिला राष्ट्रिय फूटबल टिमकी कान्छी खेलाडी प्रीति कुलुङ राई, गर्ल्स ईन टेककी आस्था शर्मा, भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक प्राडा. नीलम श्रेष्ठ र वर्ल्डलिङ्कअन्तर्गतको सामाजिक उत्तरदायित्व (सीएसआर)की प्रमुख अनुपा जालानसँग पनि कुराकानी गरिएको थियो ।

महिला हिंसा विरुद्धको अभियानअन्तर्गत पोडकास्टको समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वर्ल्डलिङ्कले महिलाविरुद्धको हिंसाबारे सचेतना जगाउन अभियान गरेको सुन्दा खुसी लागेको भन्दै भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीको यो अभियानले लैङ्गिक हिंसा न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने धारणा राखिन् ।

वर्ल्डलिङ्क कम्पनीका निर्देशक बोर्डका लक्ष्मण यादवले सूचना प्रवाहले नागरिकको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै वर्ल्डलिङ्क त्यही अभियानमा लागेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सबै क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेपछि हिंसाबारे बोल्नलाई सजिलो भएको बताउँदै समाजमा रहेको असमानताबारे सबैले बोल्नुपर्ने भनाइ राखे ।

गर्ल्स इन टेककी आस्था शर्मा र फुटबल खेलाडी प्रीति राईले अनुभव सुनाएको कार्यक्रममा वर्ल्डलिङ्क सीएसआर प्रमुख अनुपा जालान र कार्यक्रम व्यवस्थापक अञ्जलिता भुसालले वर्ल्डलिङ्कले सीएसआर अन्तर्गत लैङ्गिक समानता, स्वच्छ ऊर्जा लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ १५:५६