काठमाडौं । भर्चुअल रियालिटी प्रविधिका सुरुवातकर्ता जोन कारम्याकले फेसबुकको मातृ कम्पनी मेटा छोड्ने भएका छन् । आठ वर्षभन्दा लामो समय मेटामा काम गरेका जोनले अब भने कम्पनी छोड्ने निर्णय गरेका हुन् ।
५२ वर्षीय जोनले कम्पनीको आलोचना गर्दै जागिर छोड्ने निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जालबाट मेटाभर्स संसारको रुपमा परिणत हुन लागेको कम्पनीले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको भनाइ छ । जनशक्ति र स्रोत साधन पर्याप्त हुँदा पनि कम्पनीले राम्रोसँग काम गर्न नसकेको उनले बताए ।
जोनले मेटाको एक आन्तरिक प्लेटफर्ममा पोस्ट गर्दै कम्पनी छोड्ने निर्णय गरेको बताएका छन् । आफू निर्णायक स्तरमा बसेर काम गर्ने भए तापनि काम गर्ने वातावरण नपाएको पनि उनले उल्लेख गरेका छन् । उनले मेटाको भर्चुअल रियालिटी विभागमा रहेर धेरै उल्लेखनीय कामहरू गरेका छन् ।
मेटाले सन् २०१४ मा भर्चुअल रियालिटी कम्पनी 'अकलस' खरिद गर्दा जोन उक्त कम्पनीमा प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरिरहेका थिए । मेटामा आइसकेपछि पनि उनले मेटाको भीआर हेडसेट बनाउनेदेखि लिएर अन्य भर्चुअल रियालिटीसँग सम्बन्धित काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कम्पनीको नाम फेसबुकबाट मेटामा रिब्रान्डिङ गर्ने बेलामा पनि उनले कम्पनी छोड्ने निर्णय गरेका थिएनन् । फेसबुकलाई मेटाभर्सको बाटोमा लानको लागि जोले धेरै काम गरेका छन् । यद्यपि आफू कम्पनीको काम गर्ने शैलीबाट खुशी हुन नसकेपछि कम्पनी छोड्ने निर्णय गरेको उनले पोस्टमा उल्लेख गरेका छन् ।
यद्यपि मेटा र जो दुवैले यस विषयमा आधिकारिक रुपमा भने बाहिर कुनै पनि धारणा दिएका छैनन् ।