काठमाडौं । ट्वीटरले फेसबुक, इन्स्टाग्राम, मास्टडन, ट्रुथ सोसल, ट्राइबल लगायतका आफ्ना प्रतिद्वन्द्वी सामाजिक सञ्जाल प्लेटफर्महरू प्रवर्द्धन गर्ने अकाउन्टहरूमा प्रतिबन्ध लगाउन सुरु गरेको छ । आफ्नो बाहेक अन्य सामाजिक सञ्जालको लिङ्क शेयर गर्ने प्रयोगकर्ताको अकाउन्टमा ट्वीटरले प्रतिबन्ध लगाउने भन्दै आफ्नै अकाउन्टमा पोस्ट गरेको थियो । योसँगै कम्पनी पुन: एकपटक विवादमा तानिएको छ ।
तर विवादमा तानिएपछि ट्वीटरले त्यस्ता अकाउन्टमा प्रतिबन्ध लगाउने भनिएको पोस्ट नै डिलिट गरेको छ । पोस्ट डिलिट गरेपछि कम्पनीले अर्को ट्वीट राख्दै बाह्य लिङ्क शेयर गर्ने त्यस्ता अकाउन्टमाथि प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने भोटिङ पोल राखेको छ । यस्तो निर्णय लिएपछि कम्पनीको आलोचना हुन थालेको थियो ।
एक ट्वीटर प्रयोगकर्ताको ट्वीटमा रिप्लाई गर्दै मस्कले लेखेका छन्, "ट्वीटरमा अन्य प्लेटफर्मको विज्ञापन गर्ने अकाउन्टमा प्रतिबन्ध लगाउने योजना बनाएका हौं ।"
मानिसहरू फिफाविश्वकपको माहोलमा व्यस्त भइरहेको अवस्थामा ट्वीटरले एकाएक अन्य लिङ्क शेयर गर्ने अकाउन्टमाथि प्रतिबन्ध लगाउन थालेको थियो । विशेषगरी फेसबुक, इन्स्टाग्राम, मास्टडन, ट्रुथ सोसल, ट्राइबल, नोस्ट्र र पोष्ट लगायतका सामाजिक सञ्जालको अकाउन्ट शेयर गर्ने ट्वीटर ह्याण्डलमाथि प्रतिबन्ध लगाएको थियो ।
"हामीलाई थाहा छ हाम्रा धेरै प्रयोगकर्ताहरू अन्य सामाजिक सञ्जालका प्लेटफर्महरूमा सक्रिय हुन सक्छन् । तर ट्विटरले अब आफ्नो प्लेटफर्ममा अन्य सामाजिक सञ्जालका प्लेटफर्महरूको नि: शुल्क प्रचार गर्न अनुमति दिने छैन, " ट्वीटरले आफ्नो पोलिसी पेजमा उल्लेख गरेको थियो ।
अहिले कम्पनीले भोटिङ पोलबाट प्राप्त नतिजालाई आधार मान्दै उक्त सेवा पुनः ल्याउने वा नल्याउने भन्ने निर्णय गर्ने बताएको छ ।