close

प्रयोगकर्ता आफैले मोबाइलको ब्याट्री परिवर्तन गर्न मिल्ने नियम ल्याउँदै ईयू

टेकपाना टेकपाना

पुस ९, २०७९ १६:२

प्रयोगकर्ता आफैले मोबाइलको ब्याट्री परिवर्तन गर्न मिल्ने नियम ल्याउँदै ईयू

काठमाडौं । के तपाईँलाई फोन ह्याङ हुँदा अथवा अन्य कुनै समस्या हुँदा सहजै ब्याट्री झिकेर फोन रिसेट गरेको याद छ ? एउटा यस्तो समय थियो जहाँ फोनमा केही समस्या देखिने बित्तिकै हामी फोनको ब्याट्री झिकिदिने गर्थ्यौं र केही हदसम्म हाम्रो समस्या समाधान पनि हुने गर्थ्यो । 

यद्यपि समय अगाडि बढ्दै जाँदा पानी प्रतिरोधी लगायत अन्य आवश्यकताहरू पुरा गर्नको लागि ब्याट्री झिक्न नमिल्ने फोनहरू उत्पादन हुन थाले । सबै प्रकारको मोबाइलमा यूएसबी-सी चार्जर नै प्रयोग हुनुपर्छ भन्ने नियम सफलतापूर्वक लागू गरेपछि अब ईयूले स्मार्टफोनहरूको ब्याट्री झिक्न मिल्ने साट्न मिल्ने नियमलाई अनिवार्य गर्ने नियम लागू गर्ने तयारी गरिरहेको छ । 

यो नियमले उपभोक्ता मात्र नभइ विद्युतीय सामग्री निर्माण तथा विद्युतीय सवारी निर्माण गर्ने कम्पनीहरूलाई पनि उपयुक्त हुने ईयूको बुझाई छ । वातावरण संरक्षण लागि पनि परिवर्तन तथा मर्मत गर्न मिल्ने ब्याट्रीको प्रयोग गरिनुपर्ने ईयूको भनाइ छ । 

यसको लागि भविष्यमा ब्याट्रीहरूको दिगो उत्पादनलाई प्रवर्द्धन गर्न, ईयूले कम्तीमा पनि १६ प्रतिशत कोबाल्ट, ८५ प्रतिशत लिड, छ प्रतिशत लिथियम र छ प्रतिशत निकेल पुनर्नवीकरण गर्न सकिने स्रोतहरूबाट उत्पादन गर्न सकिने ईयू बताउँछ ।  

ईयूका सदस्यहरूले कम्पनीहरूले पुन: प्रयोग गर्न सकिने कच्चा पदार्थ प्रयोग गरिनुपर्नेमा पनि जोड दिएको छ । 

यसले गर्दा उपभोक्ताले पनि प्रत्येक पटक नयाँ सामग्रीको लागि धेरै रकम खर्च नगर्नुपर्ने ईयूको निष्कर्ष छ । ईयूले पछिल्लो बैठकमा कम्पनीहरूलाई ब्याट्रीहरू पुन: डिजाइन गर्न कानुन पारित गरेपछि साढे तीन वर्ष दिने निर्णय गरेको छ । यसपछि प्रयोगकर्ता आफैले आफ्नो ब्याट्री हटाउन र नयाँ राख्न सक्ने नियम लागू हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०७९ १६:२