close

विश्वकप फुटबल लाइभका कारण इन्टरनेट सेवाप्रदायक उल्टै घाटामा !

टेकपाना टेकपाना

पुस ११, २०७९ १९:३१

विश्वकप फुटबल लाइभका कारण इन्टरनेट सेवाप्रदायक उल्टै घाटामा !

काठमाडौं । फिफा विश्वकप फुटबलको लाइभ देखाउने कार्य इन्टरनेट सेवाप्रदायका लागि घाटाको व्यवसाय साबित हुन पुगेको छ । पाइरेटेड सामग्रीको अत्यधिक प्रयोगका कारण अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढ्दा सेवाप्रदायकलाई धक्का लागेको हो । 

विश्वकप चलेको एक महिनाको अवधिमा वर्ल्डलिङ्क, भायानेट लगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत २० प्रतिशतसम्मले बढेको उल्लेख छ । जसमा वर्ल्डलिङ्कमा मात्रै १०० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथको भार थपिएको स्रोतले जनायो । 

“हाम्रा लागि विश्वकप फुटबलको लाइभ सब्सक्रिप्सनबाट भएको आम्दानी भन्दा अन्तर्राष्ट्रिय ब्यान्डविथको अतिरिक्त खर्चको भार बढी हुन पुगेको जस्तो छ,” वर्ल्डलिङ्कका एक उच्च अधिकारीले टेकपानासँग भने । 

मोबाइल एप तथा वेबसाइटमा विश्वकपको लाइभ हेर्ने स्थानीय वैकल्पिक व्यवस्था गर्न नसक्दा यस पटकको विश्वकपका दौरान पाइरेटेड लाइभ दिने एप तथा वेबसाइट निकै मौलाए । यदि एप वा वेबसाइटमा लाइभ हेर्ने वैधानिक विकल्प भइदिएको भए इन्टरनेट सेवाप्रदायक तथा एनपीआईएक्स (इन्टरनेट एक्सचेञ्ज) ले त्यसलाई सीडीएन (कन्टेन्ट डेलिभरी नेटवर्क) मा क्याश गरी नेपाली प्रयोगकर्तालाई सहजै वितरण गर्न सक्ने थिए ।

यस्तोमा अन्तर्राष्ट्रिय ब्यान्डविथमा त्यति धेरै चाप पर्ने थिएन । तर अनगिन्ती सङ्ख्यामा रहेका पाइरेटेड एप तथा वेबसाइटका लागि कन्टेन्ट क्याश गर्नु सम्भव थिएन । बरु सेवाप्रदायकहरू सकेसम्म त्यसरी लाइभ प्रसारण गर्ने माध्यमलाई निरुत्साहित नै गर्न चाहेका थिए । 

मिडिया हबले नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार खरिद गरेपछि त्यसका लागि आवश्यक पूर्वाधार संयन्त्र बनाउने सन्दर्भमा विभिन्न पाँच ओटा कम्पनी जोडिएका थिए । जसमा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्‍क र भायानेटसँगै हिमालय टिभी (जेनेक्स) र भुक्तानी प्रणाली सञ्चालक कम्पनी पेवेल समेत रहेका थिए । 

मिडिया हबले ५० प्रतिशत हिस्सेदारी आफूसँग राखेर बाँकी हिस्सा अन्य साझेदारलाई दिएको थियो । सुरुवाती समयमा झण्डै ४२ करोड खर्च लाग्ने आँकलनका साथ प्रति ग्राहकबाट ५०० रुपैयाँ संकलन गर्ने र बाँकी रकम विज्ञापन बापत जुटाउने योजना बनेको थियो । 

तर कम्तिमा आठ लाख ग्राहकले टिभी सब्सक्रिप्सन लिने अपेक्षा गरिएको भए पनि अन्तिमसम्म उक्त आँकडा मुस्किलले पाँच लाख कटेको बताइन्छ । यस्तोमा २५ करोड रुपैयाँ सब्सक्रिप्सनबाट र १० करोड जति विज्ञापनमार्फत सङ्कलन भएको मिडिया हबका सञ्चालक सोम धितालले सुनाए ।

उनले भने, “यद्यपि यो सबै हिसाब किताब भइसकेको छैन । अझै आठ दश दिन जति लाग्छ होला ।” लागत जुटाउन मुस्किल देखिएपछि प्रचारप्रसार, प्राविधिक लगायतको लागत खर्च कटौती गरिएको थियो ।

विश्वकप लाइभ गर्ने च्यानलका लागि हिमालय टिभीलाई जिम्मा दिए पनि सब्सक्रिप्सनको एकद्वार प्रणाली समेत बनेको थिएन । जसले गर्दा केही हिसाबकिताब ‘मिसम्याच’ हुनसक्ने धितालको आशङ्का छ । 

ओटीटी एपमार्फत लाइभ दिन नसक्दा अपेक्षित किसिमले सब्सक्राइबर हासिल गर्न नसकिएको उनले बताए । “उता ओटीटीसँग सम्बन्धित सरकारको नीति बनि नसकेको अवस्थामा हामीले चाहेर पनि एपमा लाइभ देखाउन सक्ने अवस्था थिएन । यता टेलिभिजन च्यानलमै पनि हामीले उचित रूपमा चलाउन सकेनौँ,” उनले भने ।

“कसैकोमा पैसा तिरे पनि च्यानल आउँदैन, कतै पैसा नै तिर्न मिल्दैन । साढे ८ बजेको गेमलाई ८ बजे पैसा तिर्नेहरू पनि धेरै थिए । तर प्रक्रिया नै ढिलो हुँदा उनीहरूकोमा पनि च्यानल समयमा आउन सकेन । यस्ता अनेकौँ समस्या रहे ।” 

यद्यपि अहिलेको मोडालिटीमा मिडिया हब, इन्टरनेट सेवाप्रदायक, टेलिभिजन च्यानल, भुक्तानी सेवाप्रदायक सबैले यति ठूलो मात्रामा काम गरेको पहिलो पटक थियो । “यो सबैका लागि आआफ्नो सबलता थाहा पाउने मौका बन्यो, हामी सबै प्राविधिक रूपमा कमजोर रहेछौँ भन्ने कुरा सबैलाई महसुस भएको छ,” धितालले अगाडि भने ।

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ २०:४५