close

आर्किटेक्चर वा इन्जिनियरिङमा यसकारण प्रयोग हुन्छ अटोक्याड

टेकपाना टेकपाना

पुस १३, २०७९ १५:३७

आर्किटेक्चर वा इन्जिनियरिङमा यसकारण प्रयोग हुन्छ अटोक्याड

काठमाडौं । अटोक्याड, इन्टरनेटको दुनियाँमा चिरपरिचित शब्द हो । अटोक्याड शब्द सुनेको भए पनि वास्तविक रूपमा यो के हो र कसरी काम गर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

अटोक्याड एउटा कम्प्युटर एइडेड (Aided) ड्राफ्ट प्रोग्राम हो, जसलाई विभिन्न डिजाइन प्रक्रियामा प्रयोग गरिन्छ । आफ्नो क्षेत्रमा यस सफ्टवेयरलाई निकै सफल मानिन्छ । यो सफ्टवेयरलाई विशेषगरी विभिन्न किसिमका डिजाइनका काममा उपयोग गर्न सक्छौँ ।

आज हामी विभिन्न किसिमका डिजाइनका लागि उपयोगी हुने अटोक्याडका बारेमा विस्तृत जानकारी दिँदैछौँ ।

यसमा सबैभन्दा पहिले क्याडको बारेमा बुझ्नुपर्ने हुन्छ । क्याड (CAD) को पूरा रूप 'कम्प्युटर एइडेड डिजाइन' (Computer Aided Design) हो । अर्थात् कम्प्युटरको प्रयोग गरी डिजाइनको क्रियसन, परिमार्जन, विश्लेषण गर्नु नै कम्प्युटर एइडेड डिजाइन हो । यो एउटा त्यस्तो डिजिटल प्रविधि हो, जसलाई टुडी वा थ्रीडी डिजाइनका प्रोजेक्ट तयार पार्न प्रयोग गर्न सकिन्छ ।

कुनै पनि क्याड प्रोजेक्टका लागि कम्प्युटर र थ्रीडी प्रिन्टर आवश्यक पर्छ । क्याड एकुरेट तरिकाले तीव्र गतिमा डिजाइन गर्न प्रयोग टुल हो । अब कुरा गरौँ अटोक्याडको । यो एउटा त्यस्तो डिजिटल प्लेटफर्म हो, जहाँ विभिन्न डिजाइनका लागि मोडेलिङ र स्केचिङ गर्ने प्लेटफर्म हो ।

अटोक्याड कमर्सियल क्याड तथा ड्राफ्टिङ सफ्टवेयर डिजाइन हो । अटोक्याड अर्थात् 'अटो कम्प्युटर एइडेड डिजाइन', जसलाई आर्किटेक्ट, इन्जिनियर तथा स्ट्रक्चरल डिजाइनरले भवन, पुल वा अन्य भौतिक संरचनाको डिजाइन तथा ड्राफ्टिङका लागि प्रयोग गर्छन् । कुनै पनि डिजाइन तयार पार्ने, त्यसलाई परिमार्जित गर्ने, प्रयोग अनुकूल बनाउने काम अटोक्याड अन्तर्गत आउँछ ।

कन्स्ट्रक्सन वा निर्माण कार्यमा टुडी वा थ्रीडी ड्रइङ तयार पार्न सकिन्छ । यो त्यस्तो क्याड सफ्टवेयर हो, जसलाई टुडी वा थ्रीडी मोडेलिङ गर्नका लागि तयार पारिएको हो । त्यससँगै यो त्यस्तो सफ्टवेयर हो, जसमा हामी आफूलाई आवश्यक जस्तो पनि डिजाइन बनाउन सक्छौँ । यो एउटा मात्र क्षेत्र नभई अनेकन् क्षेत्रमा प्रयोग भइरहेको हुन्छ ।

त्यसैले आर्किटेक्चर र स्ट्रक्चरल इन्जिनियरले मात्र प्रयोग गर्ने यो सफ्टवेयर अहिले हरेक क्षेत्रमा मानिसहरूले प्रयोग गर्न थालेका छन् । विशेषगरी ग्राफिक्स तथा इन्टेरियर डिजाइनरमाझ पनि अटोक्याड लोकप्रिय बनेको छ । पछिल्लो समय उपलब्ध अटोक्याडमा त्यस्तो क्षमता छ, जसलाई टुडी वा थ्रीडी डिजाइन आवश्यक पर्ने हरेक क्षेत्रका मानिसले प्रयोग गर्छन् ।

विशेषगरी अटोक्याडको प्रयोग पूर्वाधार तयार तथा बिल्डिङ निर्माण डिजाइनका हरेक तहमा उपयोगी हुन्छ । मिडिया तथा मनोरञ्जन क्षेत्रमा पनि थ्रीडी भिडिओ इफेक्ट बनाउन अटोक्याडको प्रयोग हुने गरेको छ । त्यससँगै फेसन डिजाइनिङमा पनि यसको प्रयोग उत्तिकै हुन्छ ।

अटोक्याडमा काम गर्न चाहनेले हरेक समय अपडेटेड हुनुपर्छ । किनभने हरेक समय अटोक्याडको नयाँ-नयाँ अपडेट आइरहेको हुन्छ । नयाँ अपडेटसँगै अटोक्याड थप आकर्षित बनेको छ ।

अटोक्याडको विचार सबैभन्दा पहिलो पटक सन् १९८० आएको थियो । किनभने त्यस समयमा पीसीको प्रयोगका लागि तयार पारिएको पहिलो क्याड प्रोग्राम नै यही नै थियो । यसलाई सन् १९८२ मा जोन वाकरले अटोडेस्कको सहायताले यो प्रोग्राम तयार पारेका थिए । अटोडेस्क अमेरिकाको बहुराष्ट्रिय सफ्टवेयर कर्पोरेसन हो ।

 यसको साझा प्रयोग

अटोक्याड सबैभन्दा बढी प्रोफेसनल ड्राफ्टिङका लागि टुडी वा थ्रीडी डिजाइन बनाउन र परिमार्जित गर्नका लागि प्रयोग गर्ने गरिन्छ, जसमा प्रडक्टको कन्सेप्टचुअल डिजाइन र लेआउटको डिटेल नापको जानकारी समावेश भएको हुन्छ । यसलाई मेकानिकल, टेलिकम, सिभिल, आर्किटेक्चरल इन्जिनियरिङ उद्योगमा बढी प्राथमिकता दिइन्छ ।

डिजाइनमा धेरै नै निर्भर हुने विभिन्न उद्योगमा गणितीय विश्वसनीयताको लागि अटोक्याड प्रयोग हुँदै आएको छ । त्यसबाहेक इन्जिनियरिङका अन्य क्षेत्र जस्तै; मेकानिकल र इलेक्ट्रिक इन्जिनियरिङलाई पनि यस प्रोग्रामको आवश्यकता पर्छ ।

यसले बिना कुनै कमजोरी आवश्यकता अनुसारको डिजाइन गर्ने सुविधा दिन्छ । मेकानिकल इन्जिनियरिङमा निर्माण कार्य तयार पार्नका लागि पनि अटोक्याडको प्रयोग गरिएको हुन्छ ।

विशेषगरी विभिन्न मोटर तथा रोबोट डिजाइन गर्नका लागि पनि यसको प्रयोग भएको पाइन्छ । त्यसैगरी इलेक्ट्रिकल इन्जिनियरिङमा इलेक्ट्रिक सिस्टमलाई म्याप गर्नका लागि अटोक्याडको प्रयोग गरिएको हुन्छ । सिभिल इन्जिनियरिङको सन्दर्भमा विभिन्न पुल, रोड डिजाइन, बिल्डिङ डिजाइन बनाउन अटोक्याड प्रयोग गरिन्छ ।

आर्किटेक्चरमा अटोक्याडको प्रयोग गरेर घर वा अन्य व्यवसायिक बिल्डिङको ब्लु प्रिन्ट डिजाइन गरिन्छ । इन्टेरियर डिजाइनर कुनै पनि कार्यालयको आन्तरिक संरचना कल्पना गर्न अटोक्याडको सहयोग लिन्छन् ।

त्यस्तै शिल्पकारहरू पनि विभिन्न डिजाइन तयार पार्न अटोक्याडको प्रयोग गर्ने गर्छन् । ग्राफिक्स डिजाइनिङ तथा सहरी योजनामा पनि अटोक्याडले महत्त्वपूर्ण भूमिका खेलेकको हुन्छ । कुनै पनि डिजाइनको सूक्ष्मदेखि विशाल पक्षसम्म विस्तृत डिजाइनमा पनि अटोक्याडको हात हुन्छ । 

अटोक्याडले त्यस्तो सफ्टवेयर टुल्स उपलब्ध गराएको हुन्छ जो डिजाइन, मोडेलिङ, रेन्डेरिङ, तथा एप्लिकेसनमा केन्द्रित हुन्छन् । यसको भूमिका टुडी डाइमेन्सन स्वतः तयार पार्नमा पनि उत्तिकै धेरै हुन्छ ।

त्यतिमात्र नभई स्प्रेडशिट एप्लिकेसनमा लिङ्केबल फर्म, कस्टुम भ्यु, डाइनामिक ब्लग्स जस्ता विकल्प समावेश गरिएको हुन्छ । थ्रीडी डिजाइनलाई थप यथार्परक बनाउन, क्रस-सेक्सनल ड्रइङ गर्ने उत्तिकै उपयोगी हुन्छ ।  

अटोक्याडमा क्लाउड स्टोरेज, मल्टिडिभाइस सपोर्ट, क्वीक मेजरमेन्ट सिस्टम, फाइलको प्रगति विवरण, ब्लग प्यालेट, इनोभेटिभ अटोक्याड फिचरजस्ता विशेषता उपयोग गर्न सकिन्छ ।

यो सफ्टवेयर प्रयोगमा आउनुअघि इन्जिनियर तथा ड्राफ्टरहरू ठूला शिट तथा ड्रइङ पेपरमा स्केच बनाउने गर्थे । यो प्रक्रिया झन्झटिलो हुनुका साथै धेरै समय खपत गर्ने किसिमको थियो ।

त्यसैले काम ढिलो हुने सम्सया थियो । यिनै समस्यालाई समाधान गर्न अटोक्याड प्रयोगमा ल्याइयो । यसले गर्दा डिजाइनर तथा इन्जिनियरलाई आफू अनुकूलको डिजाइन बनाउन सहज भयो । यसले कम समय खपत गर्ने भएपछि यससँग सम्बन्धित परियोजनाको लागत पनि कम हुन थाल्यो ।

 अटोक्याडका फाइदा

अटोक्याडमा सटीक (एकुरेट) डिजाइन तयार पार्ने क्षमता हुन्छ । यसको सहायताले टुडी वा थ्रीडी डिजाइन तयार पार्न सकिन्छ । ती डिजाइनलाई विभिन्न दिशाबाट हेर्न सकिने भएपछि डिजाइनरलाई काम गर्न सहज हुन्छ ।

अटोक्याडले विभिन्न उद्योगमा कामलाई छिटो र भरपर्दो बनाउनुका साथै कम लागत हुने बनाउँछ । त्यसैले यो सफ्टवेयर विभिन्न उद्योगसँग सम्बन्धित मानिसहरूको रोजाइमा परेको छ ।

अटोक्याड कसरी प्राप्त गर्न सकिन्छ ?

अटोक्याड अनलाइन प्लेटफर्मबाट खरिद गर्न सकिने सफ्टवेयर हो । यो सफ्टवयेरको मासिक सब्स्क्रिप्सन शुल्क २३५ डलर (करिब ३१ हजार रुपैयाँ) र वार्षिक शुल्क १८६५ डलर (करिब दुई लाख ४५ हजार रुपैयाँ) रहेको छ । यो सफ्टवेयर विभिन्न रिसेलरबाट पनि खरिद गर्न सकिन्छ ।

अटोक्याड प्रयोग गर्न अकाउन्ट लिङ्क गर्नुपर्ने हुन्छ । उक्त अकाउन्टबाट अटोक्याडका केही काम मोबाइल तथा वेब एपबाट पनि गर्न सकिन्छ ।  

अटोक्याड युट्युबका ट्युटोरियलबाट पनि सिक्न सकिन्छ । माइक्याड साइट, क्याडालिस्ट, क्याडट्युटर, ट्युटोरियल४५ जस्ता साइट प्रयोग गरेर अटोक्याड सिक्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०७९ १६:११