close

भोजबाट अर्डर गरेको खानाको पैसा खल्ती वालेटबाट तिर्न सकिने

टेकपाना टेकपाना

फागुन २८, २०७६ १६:५७

भोजबाट अर्डर गरेको खानाको पैसा खल्ती वालेटबाट तिर्न सकिने

काठमाडौं । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईन अर्डरमा रेस्टुरेन्टहरुमा पाइने खाना डेलिभरी गर्ने कम्पनी भोजबीच रणनीतिक साझेदारी सुरु भएको छ । भोज मार्फत अनलाइन अर्डर गरेको खानाको पैसा खल्तीको डिजिटल वालेटबाटै तिर्न सकिने गरी सम्झौता भएको हो ।

खल्तीका मर्चेन्ट एक्वीजिसन हेड सचीन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । सम्झौताका लागि आयोजित कार्यक्रममा खल्तीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर जोनाम भुर्तेल र भोजका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सन्तोष सिंह ठाकुरको समेत उपस्थिति रहेको थियो ।

साझेदारीसँगै भोजका ग्राहकहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अनलाइनबाट अर्डर गर्न तथा खल्ती एप प्रयोग गरेर मोबाईलबाटै त्यसको भुक्तानी गर्न सक्नेछन् ।

खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदासलेसाझेदारीसँगै अनलाइनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा तिर्न सक्ने बताए ।

उनले भने, ‘प्रविधिको विकास र यसले ल्याएको सहजताका कारण पछिल्लो समय नेपालमा अनलाइनबाट सामान किन्ने चलन विकसित हुँदै गएको महसुस गर्न सकिन्छ । यहि प्रविधिको विकाससँगै नेपालको भुक्तानी प्रणाली पनि क्रमशः नगदरहीत र डिजिटल तर्फ रुपान्तरण हुँदैछ । भोजसँगको यो साझेदारीले खल्ती प्रयोगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गरेको छ ।’

यसैगरी, भोजका सहसंस्थापक निकेत अग्रवालले खल्तीको डिजिटल भुक्तानी सुविधा आफ्ना सबै ग्राहक माझ पुर्याउन पाउँदा उत्साहित भएको बताए ।

‘भोजका ग्राहकहरूले भुक्तानीका लागि नगद पैसामा मात्रै भर पर्नुपर्दैन,’ उनले भने, ‘खल्तीको डिजिटल भुक्तानी सुविधासँगै नेपालमा विद्यमान क्यास–अन–डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ ।’

सन् २०१५ को अक्टोबरमा सुरु भएको भोज काठमाडौंका विभिन्न रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउने माध्यमको रुपमा विकास भएको छ ।

भोजमा हाल काठमाडौँ र ललितपुर वरपरका ३०० भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् । ग्राहकले भोजको एप, वेबसाइट र फोनमार्फत खाना तथा खाजाको अर्डर गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१