close

फोनपे बन्यो विश्वस्तरीय सुरक्षा मापण्ड पुरा गर्ने नेपालको पहिलो पीएसओ

टेकपाना टेकपाना

जेठ २०, २०७७ १६:५८

फोनपे बन्यो विश्वस्तरीय सुरक्षा मापण्ड पुरा गर्ने नेपालको पहिलो पीएसओ

काठमाडौं । नेपालकै ठूलो भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले पेमेन्ट कार्ड इन्डष्ट्री सुरक्षा मापदण्ड पुरा गर्न सफल भएको छ । नेपालकै प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकको रुपमा रहेको फोनपेले डेटा सुरक्षा मापदण्ड पेमेन्ट कार्ड इन्डष्ट्रि डेटा सुरक्षा मापदण्ड–पीसीआईडीएसएस भी ३.२.१ प्रमाणीकरण प्राप्त गरेको हो ।

नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त फोनपेको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट आवद्ध रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको कम्पनीमार्फत हाल दैनिक एक लाखभन्दा बढी कारोबार हुँदै आएका छन् ।

पीसीआईडीएसएस पाएसँगै फोनपेको नेटवर्कमा गरिएका सबै कारोबार सुरक्षित रहेको विषय प्रमाणीकरण भएको हो । जुन पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसीआईएसएसआई) ले जारी गर्दै आएको छ ।

यसका लागि कम्पनीले पीसीआईले तय गरेका मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । जसमा डेटा स्टोर, प्रोसेसिङ तथा डेटाको सेक्युरिटीदेखि भुक्तानीमा हुने ठगी (फ्रड) सम्मका गतिविधिलाई समेटिएको हुन्छ ।

प्रविधि सेवाप्रदायक कम्पनीहरुले पीसीआई डीएसएस प्रमाणीकरण प्राप्त गर्न पीसीआई मापदण्ड अनुसार आफ्नो प्रविधि, नेटवर्क र आन्तरिक प्रक्रिया सुरक्षित रहेको सुनिश्चित गर्न विस्तृत अडिट गराउनुपर्ने हुन्छ ।

क्यूएसए एसआईएसए अडिटमा पूर्ण रुपमा सुरक्षित देखिएपछि फोनपेले पीसीआई डिएसएस प्रमाणीकरण प्राप्त गरेको हो । फोनपेका प्रमुख प्राविधिक अधिर्कत दिवस सापकोटाले नेपालमा यस किसिमको प्रमाणीकरण प्राप्त गर्ने गैर कार्ड भुक्तानी सेवाप्रदायक बन्न सफल भएकोमा खुशी व्यक्त गरे ।

‘पीसीआई डीएसएसका लागि आफैले आफैलाई प्रश्नावली (एसएक्यू) तयार पार्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न समेत सघाएको छ,’ उनले भने, ‘यसबाट ग्राहकको डेटा थप सुरक्षित हुनुका साथै कुनै पनि संदीग्ध गतिविधि छानविनको दायरा बढाएर संस्था तथा ग्राहकको वित्तीय क्षतिको जोखिम हटाउन सहयोग पुग्नेछ ।’

एसआईएसए ग्लोबलका संस्थापक तथा सीइओ धर्सन शान्तमुर्तिले पीसीआई डीएसएस प्राप्त गर्ने नेपालको पहिलो भुक्तानी सेवा सञ्चालक कम्पनीको रुपमा महत्वपूर्ण कोशेढुङ्गा प्राप्त गर्न सफल भएकोमा फोनपेलाई बधाई दिएका छन् ।

‘फोनपेले अब आफ्नो डेटा सुरक्षा गर्न र जोखिम न्यूनिकरण गर्नका लागि थप आधार तयार पारेको छ,’ उनले भनेका छन्, ‘जब संस्थाहरु आफ्नो समय र लगानी यस किसिमका प्रयासमा लगाउँछन्, त्यसबाट उनीहरुले आफ्ना ग्राहकको डेटा सुरक्षालाई निकै महत्व दिइरहेका छन् भनेर बुझ्नुपर्ने हुन्छ । पीसीआई डीएसएस प्रमाणीकरणसँगै फोनपेले आफ्ना ग्राहकको भुक्तानीलाई सुरक्षित राख्न सबै आवश्यक प्रविधिमा उच्च सुरक्षा सुनिश्चित गरेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१