close

१ लाख ६० हजार पर्ने सामसङ एस ट्वान्टी अल्ट्रा नेपालमा, यस्ता छन फिचर

टेकपाना टेकपाना

असार ८, २०७७ १८:२४

१ लाख ६० हजार पर्ने सामसङ एस ट्वान्टी अल्ट्रा नेपालमा, यस्ता छन फिचर

काठमाडौं । सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस सिरिज अन्तर्गतको स्मार्टफोन ‘एस ट्वान्टी अल्ट्रा’ सोमबार नेपाली बजारमा भित्रिएको छ । गत फेब्रुअरीमा अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजित ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ मार्फत सार्वजनिक भएको उक्त फोन सोमबारबाट नेपाली बजारमा उपलब्ध भएको हो ।

कम्पनीले यसअघि सोही सिरिज अन्तर्गतका दुई स्मार्टफोन सामसङ ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लस नेपालमा सार्वजनिक गरिसकेको छ । फागुनमा सार्वजनिक गरिएका ती दुई स्मार्टफोनले पाएको सफलतालाई मध्यनजर गर्दै कम्पनीले एस सिरिजकै उत्कृष्ट उत्पादन ‘एस ट्वान्टी अल्ट्रा’ नेपाली ग्राहक माझ ल्याएको जनाएको छ ।

‘प्रयोगकर्ताको जीवनमा परिवर्तन ल्याउनकै लागि सामसङले नयाँ जेनेरेसन डिभाइसहरु प्रस्तुत गर्दै आएको छ,’ सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने, ‘यसैको सिलसिलामा एआई प्रविधि युक्त क्यामरा सहितको ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा नेपाली बजारमा सार्वजनिक गरिएकाे हाे । जसकाे मद्दतले सहज एवं राम्रो तरिकाबाट आफ्ना प्रियजनको जीवन्त अनुभवलाई कैद गर्न सकिने छ ।’

उत्कृष्ट प्रविधि र क्यामेराका लागि परिचित ग्यालेक्सी सिरिजको यो स्मार्टफोनमा अहिलेसम्मकै नयाँ आयामहरु भित्रिएको कम्पनीले जनाएको छ ।

क्यामेरा/भिडियो

कम्पनीका अनुसार यो फोनले प्रयोगकर्ताको फोटो खिच्ने अनुभवलाई परिवर्तन गर्नेछ । स्मार्टफोनमा १०८ मोगापिक्सेलको क्यामरा रहेको छ । यसमा भएको वृहत् सेन्सर मार्फत कम उज्यालाेमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

यसमा भएको सेटप फिचरले क्यामरालाई १०८ मेगापिक्सेलको मोड र १२ मेगापिक्सेलको मोडमा फोटो खिच्ने सुविधा प्रदान गर्छ । फोनको क्यामेरामा हाइब्रिड अप्टिक जुम तथा सुपर रिजोलुसन जुम प्रयोगमा ल्याइएको छ । जसकाे मद्दत टाढा रहेकाे बस्तुलाई जूम गरि फोटो खिच्दा पनि कुनै असर नपर्ने जनाइएको छ । कम्पनिका अनुसार यो फोनमार्फत एट के भिडियो खिच्न सकिने छ ।

युट्युव: एटके भिडियोको लागि सामसङले युट्युवसँग सहकार्य गरेको छ । यसबाट प्रयोगकर्ताले युट्युवमा आफ्नो भिडियो सहजै सेयर गर्न सक्नेछन् । मोबाइलबाटै खिचेका भिडियोहरु सोझै युट्युवमा अपलोड गर्न समेत सकिने उल्लेख गरिएको छ ।

गेमिङः यसमार्फत गेमिङको मज्जा लिन सकिने छ । फोनमा प्रयाेग भएकाे १२० हर्ज डिस्प्लेले कुनै पनि गेम खेल्दा स्मुथ गेमिङकाे मज्जा दिनेछ । फोनमा भएको फास्ट प्रोसेसर, १२ जीवी र्‍याम, एकेजी अडियो तथा गेम बुस्टर जस्ता विशेषताले फोन चलाउँदा वेग्लै अनुभव प्राप्त हुने जनाइएकाे छ ।

मूल्य तथा उपलब्धता

ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा फोन मंगलबार देखि नेपालका सामसङ ब्राण्ड स्टोरहरुमार्फत विक्री हुनेछ । यो फोनको नेपाली बजारमा मूल्य एक लाख ५९ हजार नौं सय ९९ रुपैयाँ तय गरिएको छ । यो फोन कस्मिक ब्ल्याक तथा कस्मिक ग्रे गरी दुई कलरमा उपलब्ध भएकाे छ ।

कम्पनिका अनुसार ग्यालेक्सी एस ट्वान्टी अल्ट्राको खरिदमा ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बडस् प्लस प्राप्त गर्न सक्नेछन् । ईएमआईको सुविधा, एक वर्षसम्मको ब्रेकेज इन्स्युरेन्स तथा एक्स्चेन्ज सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१