एजेन्सी । आजकल मानिसहरूको घर स्मार्ट हुँदै गइरहेको छ, फोन स्मार्ट छ, टीभी स्मार्ट नै हो, स्पीकरहरू स्मार्ट छन् । तर रिमोट चाहिँ किन पछाडि ? फ्रान्सको इलेक्ट्रोनिक ब्राण्ड जूकले एक अद्वितीय उपकरण विकास गरेको छ ।
जूकको यो उपकरणको नाम क्लिकर हो । युनिभर्सल रिमोटको रुपमा यसले सबै प्रकारका रिमोटलाई विदाई गरिदिन्छ ।
यो उपकरण तार बिना नै काम गर्दछ र यो एउटै उपकरणबाट तपाईं टीभी, एसी, सेट टप बक्स, स्पीकर आदि नियन्त्रण गर्न सक्नुहुन्छ । सरल भाषामा भन्नुपर्दा, यो उपकरणबाट तपाईं सबै चीजहरू नियन्त्रण गर्न सक्नुहुनेछ ।
जसमा आईआर रिमोट प्रविधि प्रयोग गरिएको छ । यो उपकरणको तौल केवल ३५ ग्राम छ । कम्पनीले जूक क्लिकरले ८० हजारभन्दा बढी डिभाइसमा सपोर्ट गर्ने दाबी गरेको छ । यसमार्फत तपाईं टीभी म्यूट गर्न सक्नुहुन्छ। तपाईं यसबाट अन/अफ पनि गर्न सक्नुहुन्छ । एसीको तापक्रम पनि यही एउटै उपकरणबाट नियन्त्रण गर्न सकिन्छ।
कनेक्टिभिटीका लागि यसमा वाईफाई र मोबाइल हटस्पटको सपोर्ट समेत दिइएको छ । समग्रमा यो उपकरणले घरमा भएका सबै प्रकारका रिमोटलाई विदाई गर्नेछ र तपाईंको साधारण घरलाई स्मार्ट घरमा रूपान्तरण गर्नेछ।
यो उपकरणको रेञ्ज आठ मीटर छ। अमेजन ईको डट र गूगल स्मार्ट स्पीकरमा समेत कनेक्ट भएर काम गर्न सक्ने यो डिभाइसको मूल्य २१ सय रुपैयाँ हाराहारी छ ।