close

अब फेसबुक म्यासेञ्जरमा समेत स्क्रीन शेयरिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

साउन ६, २०७७ १२:३९

अब फेसबुक म्यासेञ्जरमा समेत स्क्रीन शेयरिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । फेसबुकले म्यासेञ्जरमार्फत स्क्रीन शेयर गर्न सकिने सुविधा ल्याएको छ । यससँगै मोबाइल, ट्याब्लेट लगायतका डिभाइसबाट भिडियो च्याट गर्दा स्क्रीन शेयर गर्न सकिने भएको छ ।

जसमार्फत प्रयोगकर्ताले आफ्नो मोबाइल स्क्रीनमा हेर्न सकिने फोटो, भिडियो, डकुमेन्ट लगायतका सामग्री अन्य म्यासेञ्जर प्रयोगकर्तालाई देखाउन सक्नेछन् । फेसबुकका अनुसार दुई व्यक्तिबीच हुने कुराकानीका साथै ग्रुपमा हुने कुराकानीमा पनि यो सुविधा उपलब्ध रहेको छ ।

फेसबुक म्यासेञ्जर रुममा हाल १६ जनासम्म कुराकानी गर्न सकिने सुविधा छ । कम्पनीले यसलाई विस्तार गर्दै ५० जनासम्म सहभागी हुन सकिने गरी विस्तार गर्ने काम भइरहेको बताएको छ ।

फेसबुक म्यासेञ्जरमा स्क्रीन शेयरका लागि सुरुमा तपाईंले प्रयोग गरिरहेको म्यासेञ्जर एप नयाँ भर्सन हो कि होइन भनेर सुनिश्चत गर्न जरुरी छ । यदी तपाईंको मोबाइलमा नयाँ भर्सनको म्यासेञ्जर छ भने तपाईंले यो सुविधा प्रयोग गर्न सक्नु हुनेछ ।

यदि तपाईंसँग म्यासेञ्जरको पुरानो भर्सन छ भने आईओएस एप स्टोर तथा गूगल प्ले स्टोरमा गएर एप अपडेट गर्न सक्नुहुनेछ । भिडियो कल सुरु गरेपछि तपाईंले म्यासेञ्जरमा यो फिचर देख्न सक्नुहुनेछ ।

भिडियो कल सुरु भएसँगै स्क्रीन शेयरका लागि म्यासेञ्जरको तलबाट माथितिर स्वाइप गर्नुपर्ने हुन्छ । त्यसो गर्दा ‘शेयर योर स्क्रिन’ लेखिएको बटन देख्नुहुनेछ । उक्त बटमा क्लिक गरी तपाईंले आफ्नो मोबाइलको स्क्रीन आफ्ना साथीहरुमाझ शेयर गर्न सक्नुहुने छ ।

साथै कुराकानीको क्रममा अन्य साथीहरुलाई पनि जोड्न चाहनु हुन्छ भने त्यहाँ ‘एड पिपुल’ बटन पनि उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४