close

टेलिकम गुणस्तरमा कमजोर छैनः प्रबन्ध निर्देशक अधिकारी

टेकपाना टेकपाना

साउन १६, २०७७ १२:४३

टेलिकम गुणस्तरमा कमजोर छैनः प्रबन्ध निर्देशक अधिकारी

काठमाडौं । नेपाल टेलिकम गुणस्तरको सवालमा कमजोर नरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले कम्पनीको बचाउ गरेका हुन् । 

लकडाउन यता मोबाइल ट्राफिक तीन सय प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले गुणस्तर र सेवा विस्तारमा आफूहरु कमजोर नरहेको बताए । ‘हामीले गएको आर्थिक वर्षमा मात्रै १९ लाख ३५ हजार नयाँ सिम बिक्री गरेका छौं,’ उनले भने, ‘अहिले कम्पनीको बजार हिस्सा भ्वाइसमा ५२.३२ प्रतिशत र इन्टरनेटमा ४९.५६ प्रतिशत पुगेको छ ।’

कम्पनीले असहज र विकट स्थानमा समेत सेवा विस्तार गरिरहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक अधिकारीले  हेलिकोप्टर चार्टर गरेर समेत सामान लैजानुपर्ने अवस्था रहेको बताए । 

त्यस क्रममा उनले चालु आर्थिक वर्षमा दुई हजार ४७६ टावरको काम सकाउने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले असारमै सक्ने योजना बनाएका थियौं । तर लकडाउनले गर्दा संभव भएन,’ उनले भने ।

अधिकारीका अनुसार कम्पनीले निकट भविष्यमै २२० स्थानीय तहमा जीएसएम सेवा विस्तार गर्ने र तीन लाख एफटीटीएच लाइन वितरण गर्ने योजना बनाएको छ । 

ग्रामीण दूरसञ्चार विकास परियोजना अन्तर्गत प्रदेश नम्बर १ मा २० प्रतिशत काम सम्पन्न भइसकेको उल्लेख गर्दै उनले विद्युत पोलको समन्वयले गर्दा काम अगाडि बढ्न नसकेको बताए । 

‘सडक विभागले अनुमति नदिँदा काम सुरु हुन सकेन । तर डीडब्लूडीएमको काम ८० प्रतिशत पुरा भएको छ,’ उनले भने, ‘आउँदो आइतबार एडीएसएसको टेण्डर आह्वान गर्दैछौं ।’

विविध खालका चुनौती र समस्याका बावजुत उल्लेख्य काम गरेको भन्दै उनले कम्पनीको बचाउ गरे । उनले भने, ‘२०७५ साउनमा खरिद कार्यविधिका लागि आवेदन दिएका थियौं, तर त्यो अहिलेसम्म हुन सकेको छैन ।  अहिलेको कार्यविधिले गर्दा सस्तो सामान किन्नुपर्ने बाध्यता छ, जसले गर्दा गुणस्तर कायम गर्न समस्या भइरहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०