काठमाडौं । मलाई विद्युतीय उपकरणहरुसँग सानै छँदादेखि छुट्टै लगाव थियो । त्यसैकारण मैले इलेक्ट्रिकल इञ्जिनियरिङको पढाई पनि थालेकी थिए । सन् २०१६ मा इञ्जिनिरिङ कलेज पढ्दै थिएँ । त्यही सालको अन्त्यतिर माइक्रोसफ्ट इनोभेसन सेन्टरले स्टार्टअप आकांक्षीहरुलाई प्री एक्सिलेटर कार्य दिने भयो ।
हुन त म एसएलसीपछि विभिन्न स्टार्टअप कम्पनीहरुमा काम गर्दै आइरहेकी थिएँ । आसमान, वूमन ईन स्टिम, एडुशाला जस्ता कम्पनीमा काम गरेकाले केही गरौं भन्ने उत्साह पहिलेदेखि नै थियो । त्यही कारण त्यो प्रि एक्सिलेटर कोर्षमा मैले अप्लाई गरेँ ।
त्यहाँ पुगेपछि आफ्नै जस्तो ऊर्जा, उत्साह र केही गरौं भन्ने सोच भएका धेरै टिनेजर साथीहरु भेट्ने मौका पाएँ । मिलन थापा र शिशिर श्रेष्ठलाई पनि त्यहीँ भेटेँ । केही गर्नु पर्छ भन्ने हाम्रो सोच एकअर्कासँग मिल्यो ।
हामी तीनैजना प्राविधिक पृष्ठभूमिबाट आएका थियौं । यसरी हामी तीनजना मिलेर सन् २०१७ मा स्टार्टअप कम्पनी सोचवेयरको सुरुवात गर्यौं । विहान छ बजे एकान्तकुनाबाट डेढ घण्टासम्मको बस यात्रा गरेर चाङ्गुनारायण पुग्थें । फर्किन पनि त्यत्तिकै समय लाग्थ्यो ।
बस चढेरै दिउँसो तीन बजे माइक्रोसफ्टको क्लास लिन न्यूरोड पुग्नुपर्थ्यो । फर्केर आउँदा सात आठ बज्थ्यो । कलेजको असाइनमेन्टहरु सकेर, सोचवेयरको लागि आइडियाहरु जुटाउने, म्यापिङ गर्नुपर्ने हुँदा म राती १, २ बजेसम्म काम गरिरहेकी हुन्थेँ ।
एसएलसी पुरा भएसँगै विभिन्न कम्पनी र संघसंस्थाहरुमा सक्रिय भएकैले त्यसयता आर्थिक हिसावले अभिभावकसँग कहिल्यै निर्भर भइनँ । तर स्नातक दोस्रो वर्ष सुरु गर्दैगर्दा आफ्नै कम्पनी सुरु गरिसकेका थालिसकेका थियौं ।
त्यसैले अन्यत्र काम गर्न समयले नै मिलेन । कम्पनीमा लगानी गर्नुपर्ने थियो । तर पैसा थिएन । घरबाट खाजा खाने पैसा दिनुहुन्थ्यो । त्यो पैसा बचाएर हामी कम्पनीका लागि ससाना सामानहरु जोड्थ्यौं । त्यस बेला हामी क्लोज बाउन्ड्री फार्म अटोमेसनमा काम गरिरहेका थियौं ।
त्यसका लागि चाहिने एउटा सामान्य सामानकै पनि हजार, १५ सय रुपैयाँसम्म पर्थ्यो । हाम्रो स्टार्टअपको सुरुवात यसरी नै भयो । पछि क्लाइन्टहरुबाट प्रोजेक्ट पनि आउन थाले ।
सन् २०१७ मा कृषि प्रविधिमा काम गर्ने सोचका साथ सोचवेयर सुरु गरेका थियौं । एक वर्ष जति हामीले कम्पनीलाई इन्क्युबेसन पिरियडमै राख्यौं ।
२०१८ को मार्चमा कम्पनी दर्ता गरेर औपचारिक रुपमा काम सुरु गर्न थाल्यौं । त्यो भन्दा अगाडि आइडिया र इनोभेसनमै काम गरिरहेका थियौं । एकप्रकारले रिसर्च फेजमै थियौं ।
दुई वर्षसम्ममा आइपुग्दा हामीले टिम ग्रो गरिसकेका छौं । इम्याजिन कप अगाडि रिसर्चमा फोकस थियौं । अहिले चाहिँ हामीले क्लाइन्टका लागि साइट तथा एप डेभलपमेन्टदेखि डेटा एनालिटिक्समा काम गरिरहेका छौं ।
यसबाहेक हामी अहिले शिक्षामा पनि काम गरिरहेका छौं । हामी नेपालका लागि माइक्रोसफ्टको एजुकेसन पार्टनर पनि छौं । स्कूलहरुमा शिक्षाका लागि प्रविधिको प्रयोगबारे सिकाउनेदेखि लिएर विद्यार्थीहरुलाई प्रशिक्षण दिने र प्रविधिलाई आईओटी जस्ता विभिन्न फ्याकेल्टीको प्रयोगमा ज्ञान दिने काम हामीले गरिरहेका छौं ।
अहिले हामी रिसर्च र डेटा कलेक्सनको काम गरिरहेका छौं । नेपालमा एग्रोभेट क्षेत्रमा डेटाको एकदमै कमी छ । यसकारण यसमा अझैं समय लाग्छ । नेपालको परिवेश अनुसार हामी नयाँ प्रडक्ट ल्याउने उद्देश्यका साथ लागिपरेका छौं ।
कम्पनी सुरु गर्दा केही गरौं भन्ने जोश थियो । तर उत्साह र जोश निर्दोश र काचो नै थियो । तर कम्पनी सुरु गरेको एक वर्षमा नै हामीले ठूलो छलाङ मार्न सक्यौं । सुरु गरिसकेपछि क्लाइन्टहरु बने । वित्तीय पाटोको चुनौती थियो ।
चुनौतीहरु बढ्दै जाँदा उत्साह पनि नयाँ र फरक किसिमले भरिन थाल्यो । यो तीन वर्षमा काम गर्ने तरिका, सोच्ने तरिका, डिल गर्ने तरिकामा हामीले धेरै परिवर्तन गरेका छौं । तर उत्साह भने सबै उस्तै छ । एक किसिमले परिपक्वता हासिल गर्दै गएका छौं ।
स्टार्टअप, बिजनेस भनेको आइडिया मात्र होइन । धेरै कुरा सिक्नु पर्ने रहेछ । कानूनी सहयताका लागि हामीले सुरुदेखि नै एकजना वकिललाई राखेका थियौं । त्यसमाथि मेरो हजुरबुवा पनि वकिल हुनुहुन्थ्यो र को-फाउण्डर साथीको बुवा पनि ल फर्ममा काम गर्नु हुन्थ्यो ।
सबै कुराको हामी आफैंलाई आइडिया होस् भनेर कागजातहरु वकिलले बनाइदिए पनि सरकारी कार्यालयमा जाने, त्यहाँ गएर काम गर्ने, सबै कुरा हामी आफैले गर्यौं । कम्पनी दर्ता गर्नेदेखि ट्याक्स क्लियरेन्सको काम पनि हामी ह्याण्डल गर्न लाग्यौं ।
यसरी नै हामीले स्टार्टअपका लागि चाहिने आधार बनायौं । यसकारण पनि काम गर्दैँ जादाँ सजिलो पनि भयो । प्रविधिको मात्र होइन, वित्त, कानून, व्यवसाय सबै कुराको सबैलाई ज्ञान होस् भनेर हामी काम गरिरहेका हुन्छौं ।
वित्तीय पाटोको लागि पनि हामी आफैं तीन तीन महिनामा सीएसँग बसेर परामर्श लिने र हाम्रो कारोबारको समीक्षा गर्दै आएका छौं । आजको मितिसम्म आइपुग्दा कम्पनी दर्ता गराउनेदेखि ट्याक्स क्लियरेन्स गर्नेसम्मका सबै कामहरु हामी आफैं खटिएर गर्यौं ।
अहिले हाम्रो कम्पनी लाखौंको कारोबार गर्ने स्तरमा विकास भइसकेको छ । यसैबीच कोभिडको महामारी सुरु भयो । अन्य क्षेत्रको तुलनामा आईटीमा आधारित स्टार्टअप भएकोले हामीलाई कमै प्रभाव पर्यो । तर सुरुको एक महिना श्रम संसाधन व्यवस्थापन गर्न भने हामीलाई निकै मुस्किल भयो ।
हामीसँग दीर्घकालीन प्रोजेक्टहरु भएका कारण खासै ठूलो समस्या त भएन । तर नयाँ प्रोजेक्टहरु भने ल्याउन पाएनौं । पहिलोपटक रिमोट वर्कको अभ्यास गरिरहँदा हामीलाई त्यस्तो सहज पनि थिएन ।
इन्टरनेटको समस्या हुँदा प्रोजेक्ट ब्याकअप गर्नुपर्ने समस्या थियो । विभिन्न ठाउँमा छरिएर काम गर्दा क्वीक रेस्पोन्स हुँदैन थ्यो । अहिले हामीले स्वास्थ्य, कृषि, ईकमर्स आदिका लागि आवश्यक एप्लिकेसन डेप्लेमेन्ट गरिरहेका छौं ।
त्यस बाहेक क्लाइन्टको आवश्यकताअनुसार एप डेभलपमेन्ट, वेब, सफ्टवेयर डेभलपमेन्ट लगायतका सर्भिस र सपोर्ट पनि हामीले दिँदै आएका छौं । उद्यमशिलता त नयाँ अवधारणा होइन । हाम्रा आमा दिदी बहिनीहरुले गलैंजा बुन्ने, डोको बुन्ने, पसल थाप्ने, ठूला ठूला कम्पनीहरु सञ्चालन गर्ने काम पहिलेदेखि नै गर्दै आइरहेका छन् ।
तर प्रविधि भनेपछि महिलाको सहभागीता कमै हुने गर्छ । कलेज पढ्दा हामी महिलाको संख्या दश प्रतिशत पनि थिएन । सुरु गर्दा म एक्ली महिला थिएँ । आजसम्म कम्पनीमा तीनजना मात्र बहिनीहरु आएका छन् ।
यसकारण महिलाका लागि आईटी उद्यमशिलता केही फरक र नयाँ छ । तर यसलाई म अप्ठ्यारो छ भनेर चाहिँ परिभाषित गर्न चाहन्नँ । मलाई परिवार-साथीभाइबाट सधैं साथ र सहयोग मिलिरह्यो ।
यसकारण अहिलेसम्म खासै अप्ठ्यारो पहसुस गर्नु भने परेको छैन । सरकारी कार्यालय जाँदा, क्लाइन्टहरुसँग डिल गर्दा चाहिँ सुरु सुरुमा केही अप्ठ्यारो नभएको होइन । हाम्रो समाजमा अहिले पनि महिला भनिसकेपछि हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।
‘तपाईंको प्राविधिक मान्छेसँग कुरा गरौं न’ भन्छन् । मलाई प्रविधिको मान्छे भन्दा पत्याउँदैनन् । कामको दौरान अबेरसम्म कार्यालय वा बाहिर नै हुन्छु । एक्लो महिला भए पछि समाजको दृष्टिकोण नै नकरात्मक भएर जाने रहेछ ।
समाजमा अप्ठ्यारो छुट्टै हुन्छ । तर परिवार र साथीहरुको सपोर्ट भने सधैं पाइरहेकी नै छु । वास्तवमा हाम्रो स्टार्टअप ईकोसिस्टम एकदमै सहयोगी किसिमको छ । मेन्टरशिपको यहाँ कमी छैन । सुरु गर्दा हामीलाई माइक्रोसफ्ट इनोभेसन सेन्टरले पूर्णरुपमा मेन्टरशिप दिएको थियो ।
त्यसले आइडिया निखार्न मद्दत गर्यो । स्टार्टअप क्षेत्रमा लागेका सिनियर दाइ-दिदीहरुले पनि आइडिया दिइरहनु हुन्छ । सरकारी काममा टेण्डर हाल्नुपरे गाइडेन्स दिनुहुन्छ ।
काम गर्दैगर्दा कतै अप्ठ्यारो आइलाग्यो भने दाइहरुसँग यहाँ अप्ठ्यारो भयो के गर्ने भनेर सोध्दा यसो गर भनेर सिकाउनु हुन्छ । यही वातावरणका कारण काम गर्न निकै सजिलो महसुस हुन्छ ।
केही समस्या आयो भने माइक्रोसफ्टको प्रोफेसनल कम्युनिटी, गूगल डेभलपमेन्ट कम्युनिटीहरुबाट पनि सहयोग पाइन्छ । कर्मचारी आवश्यक पर्दा, कहिलेकाँही आउटसोर्स गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा हामीले सम्झिने भनेकै हाम्रो टेक कम्युनिटी हो ।
जुनसुकै विषयमा पनि यहाँ मेन्टरशिप सजिलै पाइन्छ । त्यसै कारण हामी सजिलैसँग अगाडि बढ्न सकिरहेका छौं । यदि कसैले कुनै स्टार्टअप सुरु गर्दै हुनुहुन्छ भने तपाईं वरिपरीको कम्युनिटी स्ट्रङ भएको सुनिश्चित गर्नुहोस् ।
मसँगै पढेका साथीहरुका पनि आआफ्नै स्टार्टअप छन् । मैले नगरेको काम र कार्यान्वयन गरेको आइडिया उनीहरुलाई दिन सक्छु । उनीहरुले त्यसमा काम गरिरहेका हुन्छन् । उनीहरुबाट मैले त्यसैगरी सहयोग पाइरहेकी हुन्छ । यसरी आइडिया पनि वेस्ट(खेर) जाँदैन ।
एउटा सपोर्टिभ वातावरण बनाएर अगाडि बढ्न सकियो भने हामी एकदमै राम्रो गर्न सक्छौं भन्ने लाग्छ । हाम्रो आईटी आन्ट्रपेनरशिप कम्युनिटी छ । त्यो पनि एकदमै सपोर्टिभ छ । मलाई यो समस्या छ भनेर खुलस्त भन्न सकियो भने एकदमै राम्रो सपोर्ट पाउन सकिन्छ ।
विद्यार्थी जीवनमै हामीले स्टार्टअप सुरु गर्यौं । साथीहरुसँग विभिन्न कम्पनीमा काम गरेको अनुभव थियो । सर्कल पनि राम्रो पायौं र यात्रा सजिलो भयो । यदि अरु कोही विद्यार्थी यो क्षेत्रमा आउन चाहनुहुन्छ भने तपाईं राम्रो सोच्दै हुनुहुन्छ ।
नेपालमा स्टार्टअपको अवधारणा विकास र प्रयोग भएको धेरै भएको छैन । बजार नयाँ र ताजा भएको कारण खासै धेरै ठूलो प्रतिस्पर्धा पनि छैन । गर्न सके भविष्य उज्वल छ ।
तर आइडिया मात्र व्यवसाय होइन । आइडिया त हरेक तेस्रो व्यक्तिको दिमागमा पलाउन सक्छ । यसलाई पूर्णता दिन धेरै कुराको आवश्यक पर्छ । आर्थिक, कानूनी, सामाजिक, सांगठनिक, व्यवस्थापन धेरै कुराको ज्ञान आवश्यक हुन्छ ।
यसकारण आफूले यस्तो व्यवसाय सुरु गर्दै गर्दा टिममा यी सबैमा एउटा एउटा विषयमा लेभल अफ एक्सपर्टिज भएका सदस्य राख्नुहोस् । भोलि काम गर्दै जाँदा वित्तीय संकट पनि आउन सक्छ । निराश हुने अवस्था आउन सक्छ ।
अब के गर्ने भनेर आइडिया नहुँदा पछि निराशा छाउन सक्छ । तर यस्तो अवस्थामा के गर्ने भनेर ब्याकअप प्लान दिमागमा राखेर अगाडि बढ्नु पर्ने हुन्छ । विकल्पहरु राख्ने, विकल्पलाई कसरी ट्याकल गर्ने भनेर एकदमै गहिरो गरी ख्याल राख्नु पर्छ ।
रिसर्च, डेभलपमेन्ट, फाइनाइन्स, लिगल सबै कुरालाई समेट्नका लागि दिमागमा ब्याकअप तयारी हुनुपर्छ । सुरु गरिसकेपछि मलाई केही थाहा छैन भन्ने भयो भने समस्या हुन्छ । सुरु गरिसकेपछि के के चाहिन्छ, कसरी जाने भन्ने कुरा ब्याकअप द माइण्ड सबै थाहा हुनुपर्छ ।
यो काम गर्न यो रिसोर्स चाहिन्छ, यसरी गर्ने भनेर सुरुमै योजना बनाइयो भने काम गर्न पनि सजिलो हुन्छ । अबको पाँच वर्षमा टेक्नोलोजी र सर्भिसलाई मर्ज गरेर मैले सोचवेयर बाहेक तीनवटा इन्टरप्राइजहरु स्थापना गर्ने योजना बनाएकी छु ।
तर कार्यान्वयनमा लैजाने योजनालाई कोभिडले केही समय पछाडि धकेलेको छ । अवस्था सहज हुँदै गएपछि त्यसमा काम गर्ने मेरो योजना छ ।