close

कम्पनी दर्ता र लेखा परीक्षण प्रतिवेदन अब अनलाइनबाटै

टेकपाना टेकपाना

साउन २८, २०७७ १२:३३

कम्पनी दर्ता र लेखा परीक्षण प्रतिवेदन अब अनलाइनबाटै

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्तादेखि लेखा परीक्षण प्रतिवेदन अनलाइनबाटै बुझाउन सकिने बनाएको छ । सेवालाई छिटो छरितो बनाउने उद्देश्यका साथ आउँदो भाद्र १ गतेबाट यो व्यवस्था लागु हुने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानिने छ ।

‘त्यसैलाई आधिकारिक मानिने हुँदा प्रस्तावित प्रबन्धपत्र र नियमावलीको २ प्रतिबाहेक अन्य कागजी विवरण आवश्यक पर्दैन,’ कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने हुँदा अर्कोपटक कार्यालयमा कम्पनीको सम्बन्धमा काम गर्नुपर्दा कम्पनीले अनलाइनबाटै बुझाएको विवरणलाई आधार मान्ने छ ।

त्यस्तै नयाँ तथा पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण, लेखा परीक्षण प्रतिवेदन लगायतका सबै विवरण अनलाइनमार्फत मात्र बुझाउनु पर्ने छ ।

कार्यलयका अनुसार अबदेखि त्यस्ता विवरणको हार्डकपी बुझाउने पर्ने छैन । तर त्यस्ता विवरणकाे सक्कल कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालयमा भने राख्नुपर्ने उल्लेख छ ।

साथै शेयर लगत अभिलेख दर्ताको हकमा अनलाइनमार्फत कम्पनीले पेश गरेपछि कार्यालयबाट अभिलेख जनाइ एक प्रति लागत कम्पनीले लाने र एक प्रति कार्यालयले विद्युतीय लेख (स्क्यान कपी) राख्ने छ ।

त्यस्तै शेयर दर्ता किताब सम्बन्धित कम्पनीले नै तयार गर्नुपर्ने छ । यदि कम्पनीले राखेको अभिलेख दर्ता गरेको विवरणमा कुनै फरक परेमा सम्बन्धित कम्पनी नै जवाफदेही रहने कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०