close

अब एसएमएसबाटै डिजिटल वालेटको कारोबार

टेकपाना टेकपाना

भदौ १५, २०७७ १४:४०

अब एसएमएसबाटै डिजिटल वालेटको कारोबार

काठमाडौं । अब ईसेवा, खल्ती, आईएमई पे, सेल पे, प्रभु पे जस्ता भुक्तानी सेवा प्रदायकले एसएमएसबाटै कारोबार सञ्चालन गर्न पाउने भएका छन् । एकीकृत भुक्तानी निर्देशन २०७७ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

एसएमएसमार्फत भुक्तानी तथा कारोबार गर्ने भएमा सेवाप्रदायकले आफ्नो सञ्चालक समितिको नीतिगत निर्णय, सुरक्षा जोखिम व्यवस्थापन लगायतका प्रक्रियागत व्यवस्था पुरा गरी केन्द्रीय बैंकबाट अनुमति लिनुपर्नेछ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा गरिने वित्तीय सेवा सञ्चालन सम्बन्धी निर्देशनमा यस किसिमको व्यवस्था गरिएको छ ।

साथै यस अघि नै एसएमएस सेवा सञ्चालन गरिसकेका तर राष्ट्र बैंकमा त्यसको अनुमतिको लागि निवेदन नदिएका सेवाप्रदायकलाई आगामी पुस मसान्तभित्र कारोबार सञ्चालनको अनुमतिका लागि निवेदन दिन भनिएको छ ।

एसएमएसमार्फत सेवा सञ्चालन गर्दा लाग्ने शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरु ग्राहकसँगको सम्झौतामा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

एसएमएस मार्फत भुक्तानी सेवा सञ्चालन गर्न चाहने सेवाप्रदायकले सम्बन्धित दूरसञ्चार सेवा प्रदायकसँग सम्झौता समेत गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०