close

भारतीय राष्ट्रवादले रोक्न सकेन साओमीको व्यापार, माग धान्न कम्पनीलाई धौ धौ

टेकपाना टेकपाना

भदौ १५, २०७७ २२:२४

भारतीय राष्ट्रवादले रोक्न सकेन साओमीको व्यापार, माग धान्न कम्पनीलाई धौ धौ

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले भारतमा आफ्ना एमआई स्टोरको संख्या बढाउने क्रम जारी राखेको छ । कम्पनीको दाबी अनुसार हाल भारतको कूल स्मार्टफोन बजारमा साओमीको बजार हिस्सा १५ प्रतिशत रहेको छ ।

सन् २०१४ सालमा भारत प्रवेश गरेको कम्पनीले सुरुवाती समयमा अनलाइनबाट मात्रै आफ्ना स्मार्टफोन बिक्री गर्ने गरेको थियो । सन् २०१७ देखि भने कम्पनीले आफ्ना विशेष रिटेल पसलको रुपमा एमआई स्टोर समेत सुरु गर्‍यो ।

सस्तो फोन भएकै कारण साओमी छोटो समयमै भारतीय बजारमा निकै लोकप्रिय ब्राण्डको रुपमा स्थापित बन्न सफल भयो । एमआई स्टोर बाहेक कम्पनीले भारतभर ७५ भन्दा धेरै एमआई होम, ४५ भन्दा बढी एमआई स्टुडियो र फ्रेन्चाइजको रुपमा आठ हजारभन्दा धेरै एमआई प्रिफर्ड पार्टनर समेत बनाएको छ ।

भारतका लागि साओमीका बिक्री प्रबन्धक मनु जैनका अनुसार देशका सानाभन्दा साना सहरमा समेत कम्पनीका एमआई स्टोरहरु खुलेका छन् । कस्मिरदेखि अन्डमान र निकोबारमा समेत कम्पनीका स्टोर छन् ।

त्यसमध्ये केही स्टोर यस्ता व्यक्तिले खोलेका छन्, जसलाई रिटेलर वा स्मार्टफोन बजारको कुनै अनुभव नै छैन । मानौं भारतमा साओमीको छुट्टै क्रेज छ ।

उत्तर प्रदेशमा मात्रै छन्, ३००० भन्दा बढी एमआई स्टोर

कम्पनीका अनुसार भारतको उत्तरप्रदेशमा मात्रै कम्पनीका ३००० वटा एमआई स्टोर सञ्चालनमा छन् । ती सबै स्टोरहरु नाफामा चलिरहेका छन् ।

हाल कम्पनीले भारतीय बजारमा कूल बिक्रीमध्ये ५० प्रतिशत बिक्री रिटेल पसलमार्फत गर्दै आइरहेको छ । जसको ३० प्रतिशत बिक्री एमआई स्टोरबाटै हुने गरेको छ ।

भारतमा साओमीका स्मार्टफोनको माग यति धेरै बढेको छ कि त्यसको पूर्ति गर्नै कम्पनीलाई मुस्किल पर्न थालेको छ । कतिपय ठाउँमा कम्पनीका स्मार्टफोनको अभाव छ ।

जैनले बढ्दो मागकै कारण आउँदो तिहारसम्म कम्पनीले आफ्नो उत्पादन शत प्रतिशतले बढाउने लक्ष्य बनाएको बताएका छन् । भारतमा साओमीको कूल बजार हिस्सा पाँच प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेको छ ।

सन् २०१८/०१९ मा भारतीय बजारमा कम्पनीको आम्दानी ५४ प्रतिशतले बढेर ३ खर्ब ५४ अर्ब २६ करोड ९२ लाख भारु पुगेको थियो । जब कि सन् २०१७/०१८ मा कम्पनीको आम्दानी दुई खर्ब ३० अर्ब ६२ करोड ११ लाख भारु रहेको थियो ।

एमआई स्टोरबाट मात्रै कम्पनीले भारतभर छ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । साओमीका सबै स्मार्टफोन र अन्य अधिकांश उत्पादन भारतमै हुने गरेका छन् । यस बाहेक यी उत्पादनका लागि आवश्यक पर्ने करिब ६५ प्रतिशत एसेसिरिज पनि भारतमै बन्छन् ।

भारतमा चीन विरोधी भावना तीब्र हुँदा समेत साओमीको व्यापारमा कुनै असर देखिएको छैन । झन् उल्टै ब्यापार आकाशिँदो क्रममा विस्तार हुँदै गएको छ ।

यसबाट पछिल्लो समय भारतमा चीन विरोधी भावना सामाजिक सञ्जालमा मात्रै सीमित रहेको र उपभोक्ता स्तरमा त्यसको कुनै प्रभाव नरहेको विश्लेषण गर्न थालिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०