close

अष्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार शेयर गर्न नपाउने सम्भावना

टेकपाना टेकपाना

भदौ १७, २०७७ ७:३४

अष्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार शेयर गर्न नपाउने सम्भावना

काठमाडौं । फेसबुकले अष्ट्रेलियामा नयाँ कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । त्यहाँको स्थानीय सरकारले समाचार प्रसारक कम्पनीहरुलाई डिजिटल प्लेटफर्मले अनिवार्य रुपमा पैसा तिर्नुपर्ने नयाँ नियामवली पारित गरेको हो । 

तर फेसबुकले जवाफमा अष्ट्रेलियाको सो कानूनबाट बच्न त्यहाँका प्रयोगकर्ताबाट समाचार शेयर गर्ने अप्सन पूर्णरुपमा हटाउने चेतावनी दिएको छ । 

एनबीसी समाचारको रिपोर्टअनुसार अब अष्ट्रेलियाको नयाँ कानूनले फेसबुक र गूगलजस्ता डिजिटल प्लेटफर्मले समाचार माध्यमहरुलाई पैसा कमिसन तिर्न बाध्य बनाउनेछ । नयाँ व्यवसायमा ठूला टेक कम्पनीहरुको शक्तिलाई परिवर्तन गर्ने एउटा आक्रमक प्रयासको रुपमा अष्ट्रेलियाको कदमलाई हेरिएको छ । 

तर फेसबुकले नयाँ कानून अव्यवहारिक भएको बताएको छ । यसबाट आफूले आम्दानी समाचार प्रकाशक कम्पनीहरुसँ बाँड्नुपर्ने उसको चिन्ता छ ।

फेसबुकको ग्लोबल न्युज पार्टनरसिपका प्रमुख क्याम्पबेल ब्राउनले एनबीसी न्युजसँग कुरा गर्दै कम्पनीले अर्को प्रस्ताव पेस गरेको तर अष्ट्रेलियाली सरकारले बेवास्ता गरेको बताएको छ । 

ब्राउनका अनुसार फेसबुकले सामाजिक सञ्जालबाट सबै समाचार हटाउने वा समाचार प्रकाशकलाई मूल्य तिर्ने नियम स्वीकार गर्नछ । तर व्यवसायलाई यसरी सञ्चालन गर्न नसकिने उनले बताए । 

अमेरिकाले आफ्नो आधाभन्दा धेरै डिजिटल एडभर्टाइज फेसबुक र गूगलमा खर्च गर्छ भने अष्ट्रेलियाले ७० प्रतिशतभन्दा बढि । यसैकारण समाचार प्रकाशक कम्पनीहरु पनि उक्त फाइदामा आफ्नो हिस्सा खोज्ने गर्छन् । 

तर एप्पलले भने आफ्नो एप्पल प्लस सब्सक्रिप्सन न्युज प्लेटफर्ममा समाचार प्रकाशकहरु गुमाइरहेको छ । न्युयोर्क टाइम्सले हालै एप्पलको प्लेटफर्मलाई त्यागेको छ

प्रकाशकहरुका अनुसार एप्पलले पाठकहरुसँग सिधा सम्बन्ध बनाउन थोरै बाटो मात्र दिएको र आफ्नो व्यवसायमा पनि नियन्त्रण गर्न खोजेको आरोप छ । 

एप्पलको प्लेटफर्म छोड्ने अन्य केही प्रकाशकहरुले एप्पलले प्रत्येक सब्सक्रिप्सनको ३० प्रतिशत  कमिसन निकालेकाे बताएका छन् । यससँगै समाचारको मूल्यलाई लिएर अब छलफल सुरु हुन थालेको देखिएको छ ।   

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०