close

आईटीको अग्रणी सफ्ट्वेरिका कलेज ११ औं वर्षमा, विदेशी विद्यार्थीलाई नेपालमै पढाउने लक्ष्य

टेकपाना टेकपाना

भदौ १७, २०७७ १६:३

आईटीको अग्रणी सफ्ट्वेरिका कलेज ११ औं वर्षमा, विदेशी विद्यार्थीलाई नेपालमै पढाउने लक्ष्य

आईटी तथा ईकमर्समा पाँच हजार विद्यार्थी दीक्षित गरेको सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड ईकमर्स स्थापना भएको दश वर्ष पुरा भएको छ । देशमा अन्तर्राष्ट्रिय स्तरको आईटी शिक्षा प्रदान गर्न कलेजले बेलायतको बिख्यात कोभेन्ट्री युनिभर्सिटीसँग सहकार्य गरी बेलायतको पाठ्यक्रम नेपालमै अध्यापन गराउँदै आएको छ। 

सफ्ट्वेरिकाका पूर्व विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रविधिमा आधारित कम्पनीमा कार्यरत  रहेको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठ बताउँछन्। नयाँ प्राविधिक पाठ्यक्रमहरु भित्र्याइ नेपाली भूमिमैआईटी शिक्षाको अध्यापनमा सफ्ट्वेरिका कलेजको योगदान कोषेढुङ्गा सावित भएको उनको भनाई छ ।

कलेजले युनिभर्सिटीको पाठ्यक्रम बाहेक सिस्को सर्टिफाईड कोर्ष, सर्टिफाइड एथिकल ह्याकिङ, आईबीएम कोर्ष, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धी पाठ्यक्रमहरूको समेत अध्यापन गराउँदै आएको छ। साथै कलेज आर्टिफिसियल इन्टेलिजिन्समा स्नातक र डेटा साइन्समा मास्टर डिग्रीको कोर्ष संचालनको प्रकृयामा छ। 

सफ्ट्वेरिका टिम अन्तर्गतको पार्टनर कलेज, सनवे इन्टरनेसनल बिजनेस स्कूलले डेटा साइन्स र डिजिटल मार्केटिङमा स्नातक तहको अध्यापन सुरु गर्ने प्रक्रिया अगाडि बढाएको छ । जुन  कोर्ष नेपालका लागि पहिलो हुनेछ । 

यसैबीच, सफ्ट्वेरिका टिमले ‘डिजी स्कूल ग्लोबल’ मार्फत बेलायतको एनसीसी एजुकेसनले तयार गरेको आईटी शिक्षाको पाठ्यक्रम स्कूल स्तरका विद्यार्थीहरूका लागि  सुरू गरेको छ। 

सफ्ट्वेरिका कलेजले स्कूल स्तरदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूलाई प्राविधिक सीपहरू प्रदान गरी  आईटी शिक्षाले सम्पूर्ण देशको डिजिटलाइजेसनमा योगदान पुर्‍याउन र प्रविधि कम्पनीहरूमा लगानी बढाउन अग्रसर रहेको श्रेष्ठले बताए । देशका लागी पर्याप्त प्राविधिक रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउनु नै सफ्ट्वेरिका कलेजको उद्देश्य भएको उनको भनाई छ । 

श्रेष्ठ भन्छन् “अहिलेको कोभिड–१९ को विषम परिस्थितिले हाम्रो काम र पारिवारिक जीवनको लागि पनि प्रविधिको  आवश्यकतालाई अझ प्रष्ट पारेको छ। त्यस्तै सरकारी कार्यालयहरुले पनि प्रविधिमा आधारित सेवा दिन सुरु गर्नुपर्ने आवश्यकता खड्केको छ । अहिलेको अवस्थामा सरकारले पनि प्राविधिक मानव संसाधनको प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ।”

संस्थापक अध्यक्ष समेत रहेका विज्ञान श्रेष्ठसँगै विनोद श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, अमृत थापा र प्रमोद पौडेलको पाँच जनाको समूहले सफ्ट्वेरिका कलेज स्थापना गरेको थियो । सफ्ट्वेरिका कलेजजस्ता प्राविधिक संस्थाहरूलाई प्राविधिक पाठ्यक्रमहरू सुरु गर्न तथा दक्ष प्राविधिक मानव संसाधनको आवश्यकता पुरा गर्ने कार्यमा सरकारले प्रोत्साहित गर्नुपर्ने कलेजका प्रमुख प्रमोद पौडेल बताउँछन् ।

उनी भन्छन् ‘केही वर्ष अघि हामीले यहाँ मानव संसाधनको आवश्यकता रहेको महसुस गरी नयाँ कोर्षहरु आरम्भ गरेका छौं । त्यसैअनुसार एथिकल ह्याकिङ र साइबर सुरक्षामा स्नातक पढाउन सुरु गर्‍यौं । नेपालमा यो विषयको पढाई सुरु गर्ने पहिलो क्याम्पस नै हामी भयौं। हाम्रा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले अब एक बर्ष पछि देशका लागि साइबर सुरक्षाको काम गरिरहेका हुनेछन्।’ 

आईटी उद्योग र शिक्षण संस्थाको उत्थानमा सरकारको सहयोगी भूमिका भएमा काठमाडौं दक्षिण एसियाको ‘सिलिकन भ्याली’ हुन सक्ने तर्क कलेजका बिजनेस डाइरेक्टर अमृत  थापाको छ । त्यसका लागी सरकारले सफ्ट्वेरिका कलेज जस्ता शिक्षण संस्था र प्रविधिमा आधारित कम्पनीहरूको प्रवर्द्धनमा साथ दिन आवश्यक रहेको उनको भनाई छ । 

‘अहिलेसम्म आईटीमा आधारित कम्पनीहरू र संस्थाहरूले जे जति हाँसिल गरेका छन्, उनीहरूको आफ्नै प्रयासले मात्रै काम गरेको हो । यद्यपि यस क्षेत्रको थप विकासका लागि हामीलाई सरकारको सहयोग चाहिन्छ,’ थापाले भने, ‘सरकारले आईटी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको खण्डमा डिजिटल नेपालको सपना साकार गर्न सजिलो हुनेछ।’

हाल सफ्ट्वेरिका कलेजको टोलीले आईटी कम्पनीहरुमा पनि लगानी गरेको छ । जहाँ कलेजले आफ्ना विद्यार्थीहरुलाई प्लेसमेन्ट दिन र अरुलाई पनि रोजगारी दिन सकिने कलेजका सह संस्थापक विनोद श्रेष्ठको भनाई छ । उनी अगाडि भन्छन् ‘देशको विकासका लागि सरकारले हाम्रो योगदानलाई बुझिदिन जरुरी छ।’

कलेजको शिक्षण विधिको व्याख्या गर्दै कलेज प्रमुख पौडेल भन्छन्, ‘पाठ्यक्रमभित्रका मोड्युलहरू विद्यार्थीले दबाव महसुस नगर्ने गरी सरल माध्यमबाट सिकाउने विधि अपनाइरहेका छौं ।’ विद्यार्थीहरूलाई पाठ्यक्रमको प्राविधिक अभ्यास  पुरा गर्न आफ्नै विचारहरू र प्राविधिक प्लेटफर्म छनौट गर्न अनुमति दिइन्छ। यस तरिकाले विद्यार्थीहरू सिकाइमा संलग्न भइरहेका छन् । 

यो सम्पूर्ण प्रक्रिया नेपालको सन्दर्भमा नयाँ अवधारणा हो । यस किसिमको अवधारणाको सबै भन्दा राम्रो पक्ष भनेको यसलाई अनलाइन प्लेटफर्मको माध्यमबाट वितरित गर्न सकिन्छ । सफ्ट्वेरिका कलेजको यो पृथक रणनीति र दर्शनले प्रविधि क्षेत्रमा अग्रणी नेतृत्व कायम गर्न सक्ने सम्भावना छ ।

संस्थाले विभिन्न नयाँ पाठ्यक्रमहरू शुरू गर्ने, सिकाई विधिहरूमा संलग्न गराउने, रोबोटिक्स उपकरण, थ्रीडी प्रिन्टरहरू, भर्चुअल रियलिटी उपकरणहरू लगायतका प्राविधिक स्रोत सामग्री प्रदान गरी प्राविधिक शिक्षाको अग्रणी नेतृत्व लिइरहेको सह संस्थापक मनोजकुमार श्रेष्ठको भनाई छ । 

हालसालै सफ्ट्वेरिका कलेजले अनलाइन ट्राभल एग्रिग्रेटर एक्सेलट्रिप, ई कमर्स प्लेटफर्म  ग्यापु मार्केटप्लेससँग आईटी विकास र विद्यार्थीहरूको रोजगारीका अवसरहरूको लागि काम गर्ने रणनीतिक साझेदारीमा हस्ताक्षर गरेको छ ।

ग्यापु र एक्सेलट्रिप नेपालका संस्थापक एवम् सीईओ ज्ञानेन्द्र खड्काले भने, ‘हामी कलेज समूहसँग यो साझेदारीमा हस्ताक्षर गर्न पाउँदा अत्यन्तै खुशी छौं। यसले दुवै निकायलाई देशको विकासका लागि एकसाथ काम गर्न र धेरै युवाहरूलाई प्राविधिक विश्वमा प्रवेश गर्न हौसला प्रदान गर्दछ, जसले देशको समग्र विकासको लागि मद्दत गर्दछ।’ 

यसैबीच श्रेष्ठले सफ्ट्वेरिकाले आगामी दश बर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि आकर्षित गर्ने उद्देश्यले आईटी शिक्षामा थप नयाँ पाठ्यक्रम ल्याउने योजना बनाइरहेको सुनाए ।

‘यदि सरकारले हाम्रा परियोजनाहरूमा नीतिगत सहयोग पुर्‍याउन सक्छ भने निश्चित रूपमा हामी अन्य देशका विद्यार्थीलाई पनि नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्न सक्छौं,’ श्रेष्ठले भने, ‘विशेष गरी भारत, भुटान, थाइल्याण्ड, श्रीलंकालगायतका विद्यार्थीहरू हाम्रो कलेजले आकर्षित गर्ने लक्षित गन्तव्य हुन सक्छन्। यस अभियानले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरीय शिक्षाको विकास गर्नेछ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०