काठमाडौं । फेसबुकले विश्वभर छरिएर रहेका साथी तथा आफन्तसँग सहजै सम्पर्कमा रहन सकिने गरी तपाईं हामीलाई एक आपसमा जोडिदिएको छ । फेसबुकबाट नै हामीले आफ्नो साथी सर्कल र आफन्तमाझ के भइरहेको छ भन्ने कुराको जानकारी पाइरहेका हुन्छौं ।
तर इन्टरनेट दुनियामा कयौं यस्ता मानिसहरु पनि छन्, जसले यसलाई गलत रुपमा प्रयोग गरिरहेका हुन्छन् । यसको अर्थ तपाईं जो मानिससँग सम्पर्कमा रहन चाहनुहुन्छ उनीहरु पनि तपाईंको प्रोफाइल देख्न सक्छन् ।
यति मात्र होइन, तपाईंका पोस्टहरु हेर्न, पढ्न अनि त्यसलाई शेयर गर्न पनि सक्छन् । यस किसिमको समस्याबाट छुट्करा दिलाउन फेसबुकले हालै एक नयाँ फिचर सार्वजनिक गरेको छ ।
जसको नाम हो, प्रोफाइल लक फिचर । यो फिचर एक्टिभ गरेपछि तपाईंको प्रोफाइल तथा पोस्ट तपाईंको फ्रेण्ड लिस्टमा हुनेहरुले मात्रै देख्न पाउनेछन् । अर्थात यसबाट तपाईं आफ्नो प्रोफाइल र पोस्टलाई प्राइभेट बनाउन सक्नुहुन्छ ।
आज हामी तपाईंलाई फेसबुकको यो नयाँ फिचर कसरी प्रयोग गर्ने भन्ने बारेमा बताउँदै छौं ।प्रोफाइल लक गर्न सबैभन्दा अगाडि आफ्नो फेसबुक एपमा जानुहोस् । अब त्यसमा माथि दायाँ कुनामा रहेको तीन वटा धर्सा भएको बटनमा ट्याप गर्नुहोस् ।
अब त्यसमा अलिक तल रहेको सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् । अब त्यहाँ भित्र प्रोफाइल लकिङको अप्सन देखिनेछ । जसमार्फत तपाईंको फेसबुक प्रोफाइल लक गर्न सक्नुहुन्छ ।
यद्यपी हाललाई फेसबुकले यो फिचर भारत र बंग्लादेशमा मात्रै सीमित गरेको छ । नेपाल सहित अन्य मुलुकमा यो फिचर विस्तार कहिले हुन्छ भन्ने कुनै खबर फेसबुकको तर्फबाट हालसम्म आएको छैन ।
तर निराश भने नहुनुहोस् । यो फिचर अनिश्चित भए पनि तपाईं फेसबुकमा आफ्नो गोपनीयतालाई प्रोफाइल लक गरेकै स्तरमा सुरक्षित रुपमा जोगाएर राख्न सक्नुहुनेछ ।
डिफल्ट शेयरिङ प्राइभेसी
आफ्ना सबैजसो पोस्टहरु लक गर्न सबैभन्दा छिटो तरिका डिफल्ट शेयरिङ अप्सनलाई पब्लिकबाट फ्रेण्ड्समा परिवर्तन गर्नु हो । तपाईंले यस किसिमको परिवर्तन गर्दा तपाईंले भविष्यमा फेसबुकमा पोस्ट गर्ने चिजहरु तपाईंको लिस्टमा भएका साथीले मात्रै देख्नेछन् ।
त्यसका लागि फेसबुक एपको माथि दायाँ कुनामा रहेको तीन वटा धर्सा भएको स्थानमा थिच्नुहोस् ।
स्क्रोल गर्दै तल सेटिङ एण्ड प्राइभेसी हुँदै सेटिङमा स्थानमा ट्याप गर्नुहोस् ।
अब त्यसभित्र रहेको प्राइभेसी भएको स्थानमा जानुहोस् ।
प्राइभेसी सेटिङमा योर एक्टिभिटी अन्तर्गत रहेको ‘हु क्यान सी योर फ्युचर पोस्ट’मा क्लिक गरी पब्लिकबाट फ्रेन्ड्समा लैजानुहोस् । यति गरेपछि अब तपाईंले फेसबुकमा पोस्ट र शेयर गर्ने सबै कन्टेन्ट साथीहरुले मात्र देख्न पाउने गरी डिफल्ट सेटिङको रुपमा रहनेछन् ।
पुराना पोस्टलाई एकसाथ कसरी मिलाउने ?
यो फिचरबाट तपाईं यस अघिका पुराना सबै पोस्टहरुलाई एकसाथ व्यवस्थापन गर्न सक्नुहुन्छ ।
त्यसका लागि योर एक्टिभिटी भएको अघिकै स्थानमा फर्किनुहोस् ।
त्यसमा रहेको ‘लिमिट हु क्यान सी पास्ट पोस्ट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसमा तलपट्टी रातो अक्षरमा ‘लिमिट पास्ट पोस्ट’ लेखिएको देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुभयो भने फेसबुकले फेरी सोध्नेछ ।
फेरी त्यसमा क्लिक गर्नुभयो भने तपाईंका यस अघिका फ्रेण्ड्स अफ फ्रेण्ड्स र पब्लिक गरिएका सबै पोस्टहरु एकसाथ साथीहरुले मात्र देख्न पाउने गरी सीमित हुनेछन् । यसो गर्दा तपाईंले कुनै पोस्टको प्राइभेसी परिवर्तन गर्न चाहनु भयो भने एक एक गरेर परिवर्तन गर्नुपर्ने हुन्छ ।
आफ्नो फ्रेण्ड्स लिस्ट प्राइभेट बनाउनुहोस्
फेसबुकले बाइ डिफल्ट रुपमा तपाईंको फ्रेण्ड्स लिस्टलाई पब्लिक बनाइदिएको हुन्छ । यसको अर्थ तपाईंले सेटिङ मिलाउनु भएको छैन भने फेसबुकमा रहेका जो कसैले (तपाईंको साथीको लिस्टमा भएका वा नभएका सबैले) तपाईंको फेसबुकमा साथी भएकाहरुको सम्पूर्ण सूची देख्न सक्नेछन् । तपाईं आफ्नो प्राथमिकता अनुसार यसलाई जतिखेर पनि परिवर्तन गर्न सक्नुहुन्छ ।
त्यसका लागि मोबाइल एपको माथि दयाँ कुनामा रहेको तीन वटा धर्सा भएको स्थानमा ट्याप गर्नुहोस् ।
सेटिङ एण्ड प्राइभेसी भित्रको सेटिङमा जानुहोस् ।
त्यसमा स्क्रोल गर्दै प्राइभेसीमा रहेको प्राइभेसी सेटिङमा ट्याप गर्नुहोस् ।
अब थोरै तल जानुहोस् र ‘हाउ पिपुल क्यान फाइन्ड एण्ड कन्ट्याक्ट यू’ भित्र रहेको ‘हु क्यान सी योर फ्रेण्ड्स लिस्ट’मा दबाएर त्यसमा रहेको फ्रेण्ड्स (साथी भएकाहरुले देख्न पाउने गरी) अथवा अन्ली मी (आफूले मात्रै हेर्न मिल्ने गरी) रोज्नुहोस् । यसबाट तपाईं साथीको सूची कुन कुन व्यक्तिलाई मात्र हेर्न दिने वा नदिने भनेर मिलाउन पनि सक्नुहुनेछ ।
आफ्नो प्रोफाइलको प्राइभेसी मिलाउनुहोस्
फेसबुक प्रोफाइल बाई डिफल्ट रुपमा पब्लिक गरिएको हुन्छ । यसको अर्थ तपाईंको प्रोफाइल गुगल लगायतका अन्य सर्च इन्जिनमा समेत तपाईंको प्रोफाइल हेर्न मिल्छ । तपाईं आफ्नो प्रोफाइल सेटिङमा गएर आफ्नो त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
यसका लागि सुरुमा फेसबुक एपमा दायाँतर्फ माथि कुनामा रहेको तीन वटा धर्सा भएको स्थानमा दबाउनुहोस् ।
सेटिङ एण्ड प्राइभेसी, सेटिङहुँदै त्यसभित्र रहेको प्राइभेसी खण्डमा जानुहोस् ।
त्यसमा सुरुमा रहेको प्राइभेसी सेटिङमा दबाउनुहोस् ।
अब त्यसमा रहेको ‘म्यानेज योर प्रोफाइल’ मा जानुहोस् । त्यसमा तपाईंले आफ्नो प्रोफाइल डिटेल देख्नुहुनेछ ।
हरेक डिटेलको पछाडिपट्टी रहेको पेन्सिल आइकनमा क्लिक गरेर त्यसलाई मिलाउन र त्यो जानकारी ककसले हेर्न पाउने भनेर निश्चित गर्न सक्नुहुनेछ ।
गुगल सर्चमा आफ्नो प्रोफाइल नदेखिने बनाउन के गर्ने ?
तपाईंले गुगल लगायतका सर्च इन्जिनमा आफ्नो प्रोफाइल नदेखिने बनाउन सक्नुहुन्छ । त्य
सका लागि माथिजस्तै गरी प्राइभेसी सेटिङमा पुग्नुहोस् ।
त्यसमा तलतर्फ रहेको ‘हाउ पिपुल क्यान फाइण्ड एन्ड कन्ट्याक्ट यू’ भित्र रहेको ‘डु यू वान्ट सर्च इन्जिन्स आउटसाइड अफ फेसबुक टु लिङ्क टु योर प्रोफाइल’ मा दबाउनुहोस् ।
अब त्यस भित्रको बटन अन छ भने अफ गरेर राखिदिनुहोस् ।
फेसबुकमा पोस्ट गर्दा विचार पुर्याउनुहोस्
तपाईंले कुनै पनि चिज फेसबुकमा पोस्ट वा शेयर गर्दा ककसले हेर्न मिल्ने भनेर रोज्न पाउने विकल्प दिने गरेको छ । जब तपाईं स्टाटस लेख्ने स्क्रिन अन गर्नुहुन्छ, त्यसमा तपाईं प्राइभेसी चयन गर्ने अप्सन देख्नुहुनेछ ।
सामान्यतया एउटै सेटिङमा राख्ने भन्दा पनि तपाईं पोस्ट अनुसार पब्लिक (जसले पनि हेर्न पाउने), अन्ली मी (आफूले मात्र हेर्न मिल्ने), फ्रेन्ड्स एक्सेप्ट (निश्चित साथी बाहेक अरुले हेर्न मिल्ने) वा स्पेसिफिक फ्रेण्ड्स (निश्चित साथीले मात्र हेर्न पाउने) विकल्पहरु रोज्न सक्नुहुन्छ ।
नोटः यो टिप्समा भनेअनुसार तपाईंको फेसबुक एपमा कुनै फिचर भेटिएन ? त्यसो हो भने प्ले स्टोरमा गएर फेसबुक एपको पछिल्लो भर्सन अपडेट गर्नुपर्ने हुन्छ ।