काठमाडौं । पाकिस्तानले टिकटक एप माथि लगाएको प्रतिबन्ध हटाएको छ । पाकिस्तान दूरसञ्चार प्राधिकरणले ११ दिनपछि टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।
पाकिस्तानको नियामकले टिकटक व्यवस्थापनसँगको समन्वय पश्चात एपमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । अश्लीलता अनैतिकता र अभद्रता फैलाएको भन्दै पाकिस्तानले भिडियो शेयरिङ प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको थियो ।
‘यो प्रतिबन्धको फुकुवाले प्लेटफर्मलाई अश्लीलता, अभद्रता र सामाजिक मूल्य मान्यतालाई दुषित पार्न दिने भन्ने होइन,’ प्राधिकरणले भनेको छ, ‘यो विषय कडाइपूर्वक लागु हुनेछ ।’
डिजिटल कन्टेन्टमाथिको हस्तक्षेप पाकिस्तानमा यो नै पहिलो भने होइन । यसै वर्ष पाकिस्तानले इन्टरनेट सेन्सरका लागि नयाँ नियम ल्याएको थियो । तर फेसबुक, गुगल र टिकटकले देश छोड्ने धम्की दिएपछि उक्त नियम लागु गर्नबाट पाकिस्तान पछि हटेको थियो ।