close

यौन तथा प्रजनन शिक्षाका लागि ‘खुल्दुली’ एप

टेकपाना टेकपाना

कात्तिक १७, २०७७ १०:३९

यौन तथा प्रजनन शिक्षाका लागि ‘खुल्दुली’ एप

काठमाडौं ।  युवा, किशोरावस्थाका मानिसहरुलाई यौन तथा प्रजनन स्वस्थ सम्बन्धि जानकारी तथा शिक्षा प्रदान गर्ने उदेश्यले राष्ट्रिय स्वास्थ शिक्षा सूचना तथा सञ्चार केन्द्र (एचईआइसीसी)ले खुल्दुली एप काे परिमार्जित संस्करण सार्वजनिक गरेको छ ।

बाल्यावस्थादेखि युवावस्थामा प्रवेश गर्ने क्रममा किशोर-किशोरी तथा युवामा देखिने शारीरिक तथा मानसिक परिवर्तन, जिज्ञासा र समस्यालाई सम्बोधन गर्न यो एप केन्द्रले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा जर्मन डेभलपमेन्ट कर्पोरेसनको सहयोगमा तयार गरेको हो । 

यौन तथा प्रजनन स्वास्थसम्बन्धी समग्र जानकारीका लागि यो एप वान स्टप एप हो, जहाँ धेरै किसिमका सान्दर्भिक र आधिकारिक जानकारी पाउन सकिन्छ । यो एप प्रयोग गर्न एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२ भर्सनभन्दा माथि आवश्यक पर्दछ ।

यस एपमा किशोरावस्था, किशोरावस्थाको पोषण तत्व, यौन सम्बन्ध, यौन सम्पर्कबाट सर्ने रोग, महिनावरी, लागुऔषध, विवाह, गर्भधारण तथा गर्भपतन, यौनिक हिंसा लगायतका विषयमा जानकारी समेटिएको छ । 

साथै यस एपमा मेन्सुरेसन ट्रयाकर सेक्सन पनि छ, जसबाट महिलाले आफ्नो मासिक महिनावरीको समयलाई सजिलै ट्रयाक गर्न सक्छ । यसबाहेक यसभित्र प्रयोगकर्ताहरुले हाजिरी जवाफ पनि खेल्न सक्छन् जसमा यौन, तथा प्रजनन स्वस्थ सम्बन्धि विभिन्न किसिमका प्रश्नहरु राखिएका हुन्छन् । 

साथै यस एपबाट तपाईंले आफू बसेको क्षेत्र तथा देशभरीका क्लिनिहरु पनि खोज्न सक्नुहुन्छ । एपमा सुरक्षित गर्भपतन, परिवार नियोजन तथा महिला बालबालिकाको सुरक्षाका लागि विभिन्न संस्थाका आपतकालिन टोलफ्रि सम्पर्क नम्बरहरु पनि राखिएका छन् । 

यसबाहेक मोबाइल एपको सबैभन्दा तल रहेको सेफ्टी अलर्टमा तपाईले आफ्ना निकट तीनजना व्यक्तिको सम्पर्क नम्बर राखेर आपत्कालिन समयमा उनीहरुलाई म्यासेज पठाउन सक्नुहुन्छ । 

यस एपलाई तपाईंले आफ्नो लिङ्ग तथा उमेर खुलाएर नेपाली र अंग्रेजी दुवै भाषामा प्रयोग गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०