close

सिन्धुलीका जुनार अब ब्लकचेनमा आधारित सफ्टवेयरबाट ट्रयाक गरिने

टेकपाना टेकपाना

कात्तिक १९, २०७७ १६:५४

सिन्धुलीका जुनार अब ब्लकचेनमा आधारित सफ्टवेयरबाट ट्रयाक गरिने

काठमाडौं । सिन्धुलीमा उत्पादन भएको जुनारलाई अब ब्लकचेनमा आधारित सफ्टवेयर ‘एग्रिक्लियर’ मार्फत ट्रयाक गरिने भएको छ । ‘एग्रिक्लियर’ एक ब्लकचेनमा आधारित सफ्टवेयर हो, जुन कृषि र आपूर्ति श्रृंखलामा समावेश गतिविधि र लागतहरू ट्रयाक गर्न तथा रेकर्ड गर्न प्रयोग गरिन्छ ।

यो सफ्टवेयरले कृषि उत्पादनमा पारदर्शिता ल्याउन उत्पादन र वितरणको सुरुदेखि अन्तसम्मको जानकारी रेकर्ड गर्छ । योसँगै सिन्धुलीका जुनार कहाँ उत्पादन भएको, सहकारीको नाम, टिपेको मिति, वितरकको नाम, प्रशोधन मिति, फूड माइल, प्याक गरिएको मितिजस्ता जानकारी ट्रयाक गर्न सकिन्छ ।

यसका लागि ईसत्य र ग्रीन ग्रोथबिच सहकार्य भएको उल्लेख गरिएको छ । पाइलट प्रोजेक्टको रुपमा सुरु भएको यस परियोजनामा पहिलो पटक चिसापानी जुनार उत्पादक सहकारी संस्था, सिन्धुलीसँग सम्बन्धित जुनार फार्महरू सामेल भएका छन् ।

उक्त र्फामहरुले आफूले उत्पादन गरेको जुनारमा जुनारको उत्पादन कहाँ भएको, फल विवरण, फार्मको नाम, र टिपेको मिति जस्ता डाटा रेकर्ड गर्नेछन् । त्यस्तै ग्रीन ग्रोथले जुनारको प्रोसेसिङ मिति, प्याक गरेको मिति रेकर्ड गरी जुनारमा क्यूआर कोड ट्याग लगाउने उल्लेख गरिएको छ ।

उक्त जुनार ग्रीन ग्रोथ मार्फत अनलाइन खरिद गर्ने सकिनेछ । त्यसरी खरिद गरिएको जुनारमा हुने क्यूआर कोड स्क्यान गरी आफ्नो ग्राहकले जुनारको बारेमा जानकारी लिन सकिने जनाइएको छ ।

यस परियोजनाको उद्देश्य जुनारको आपूर्ति प्रणालीको प्रक्रियालाई पारदर्शी र ट्रयाक गर्न सकिने बनाउनु हो । यो पाइलट परियोजनाका लागि जुनार सुपर जोनका कृषि विशेषज्ञले प्राविधिक तथा चिसापानी सहकारीले कृषकहरूसँग जोडिन सहयोग पुर्‍याउने उल्लेख छ ।

ईसत्यका अनुसार यसमा ‘Baato’ को पनि संग्लनता रहेको छ । बाटोले यसको कलाउडमा आधारित जियोस्पाटियल सेवामार्फत फूड माइल मापन गर्न सहयोग गरिरहेको छ ।

फूड माइल कृषि उत्पादनमा एक महत्वपूर्ण मेट्रिक हो । किनकि यसले खाना फार्म बाट उपभोक्ता सम्म पुग्ने यात्रा र यसमा लाग्ने खर्चको मापन गर्छ ।

यसअघि नेपालमा जुनारको माग, आपूर्ति, उत्पादन, जुनार कहाँ आपूर्ति हुन्छ, फुड माईल, कहाँ भण्डार गरिएको थियो, वितरक को हुन् भन्ने खालका डेटाको अभाव रहेको छ ।

याे अभावकाे अन्त्य गर्दै जुनारको व्यवसायलाई व्यवस्थित बनाउन सकिन्छ भन्ने योजनाका साथ यसको सुरुवात गरिएको हो । यसले उत्पादनको गुणस्तरमा समेत ठूलो मद्दत पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार सन् २०२१ मा जुनार ट्रयाकिङ प्रोजेक्टको दोस्रो पाइलट परियोजना अघि बढाइने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०