काठमाडौं । वाईफाई नेटवर्किङ सिस्टम प्रोभाइडर कम्पनी नेटगियर नेपाल भित्रिएको छ । अमेरिकामा आधारित उक्त कम्पनी विश्व बजारमा इनोभेटिभ प्रविधिको विकास, वायरलेस कनेक्टीभिटी, गुणस्तरीय नेटवर्क र पहुँचका आधारमा परिचित रहेको छ ।
हालसम्म विश्वका २७ भन्दा बढी देशमा २७ हजार भन्दा बढी स्टोरमार्फत सेवा दिँदै आएको उक्त कम्पनीका प्रोडक्ट अब नेपालमा भित्रिएको हो । नेटगियर नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा इन्फोकम सोलुसन प्राली (आईएसपीएल) ले यसलाई बजारमा ल्याएको छ ।
यसअघि पनि नेपाली बजारमा नेटगियरका सामाग्री भने उपलब्ध हुँदै आएका थिए । यसअघि उपलब्ध सामग्री बढी व्यवसाय केन्द्रित रहेको अवस्थामा आईएसपीएलले भने उपभोक्ता केन्द्रित सामग्री बजारमा ल्याएको उल्लेख गरिएको छ ।
नेटगियरको आधिकारिक विक्रेता नियुक्त भएसँगै कम्पनीले बजारमा दुई क्याटोगेरीमा सामान भित्र्याएको छ । जसमा पहिलो स्विच र राउटर/एक्सेस प्वाइन्ट छ । यी प्रडक्ट व्यवसाय र उपभोक्ता दुवैका लागि रहेका छन् ।
राउटरमा नेटगियरको सबैभन्दा चर्चित ‘अर्बी’ र ‘नाइटहक’ गरी दुई सिरिज भित्रिएका छन् । जसमा अर्बी सिरिजका राउटर निरन्तर कनेक्टिभिटीका लागि परिचित छ । साथै नाइटहक सिरिजका राउटर गेमिङ, अनलाइन भिडियो स्ट्रिमिङ र डाउनलोडका लागि परिचित रहेको छ ।
बजारमा उपलब्ध रहेका यी डिभाइस उत्कृष्ट डिजाइनमा रहेकाे कम्पनीले बताएकाे छ । यसका लागि आवश्यक स्ट्याएलोन राउटर र वाईफाई एक्सटेण्डर समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी उत्पादन ग्राहकले अनलाइन प्ल्याटर्फम दराज र सस्तोडिलमा समेत उपलब्ध हुने उल्लेख गरिएको छ ।