काठमाडौं । प्रिमियम स्मार्टफोन कम्पनी वनप्लसका लागि यो वर्ष निकै उत्पादनशिल रह्यो । कम्पनीले यस वर्ष ६ वटा नयाँ स्मार्टफोन सार्वजनिक गर्यो, जसमा तीन वटा मिड रेञ्जका स्मार्टफोन थिए ।
भर्खरै एउटा अर्को खबर आएको छ, जसअनुसार कम्पनी नयाँ फ्ल्यागशिप फोन सार्वजनिक गर्ने तयारीमा छ । जानकारीअनुसार कम्पनीले चाँडै नै वनप्लस नाइन सार्वजनिक गर्ने संकेतहरु प्राप्त भइरहेका छन् ।
वनप्लस नाइन अप्रिल वा मार्च २०२१ सम्म सार्वजनिक हुनसक्छ । नाइन्टिवान मोबाइलले यो फोनको तस्वीर शेयर गरेको छ । तस्वीरबाट थाहा हुन्छ कि यो फोन फ्ल्याट ओएलईडी डिस्प्लेका साथ आउनेछ ।
फोन सिंगल पञ्चहोल क्यामेराको साथमा आउन सक्ने देखिन्छ । फोनको क्यामेराको डिजाइन वनप्लस एटटीसँग मिल्दोजुल्दो छ ।
कम्पनीले यो फोन सार्वजनिक गर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । तर सन् २०२१ को अप्रिल वा मे महिनामा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।
यद्यपी कम्पनीले फोन सार्वजनिक गर्नुभन्दा एक वा दुई हप्ता अघि मात्र त्यसको मिति बाहिर ल्याउन सक्छ । यस अघि सार्वजनिक भएको वन प्लस एटको मूल्य ६९९ डलरदेखि ७९९ डलर तथा वन प्लस एट प्रो ८९९ डलरदेखि ९९९ डलरमा उपलब्ध छ ।
यो मूल्य केही महंगो भए पनि सामसङ ग्यालेक्सी एस सिरिजको तुलनामा निकै सस्तो हो । यस हिसावले वनप्लस नाइनको मूल्य यसै वरिपरि हुने अनुमान गर्न सकिन्छ ।
यसमा वायरलेस चार्जिङ, टेलिफोटो लेन्स, उच्च रेजोलुसनको क्यामेरा, दुई वटा सेल्फी क्यामेरा, प्रो मोडेलमा फोरके स्क्रिन, पाल्म रिजेक्सन प्रविधि, शक्तिशाली ब्याट्री रहने अपेक्षा गरिएको छ ।