काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वकै ठूलो संस्कृत–नेपाली-अंग्रेजी-हिन्दी शब्दकोश सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट चारवटै भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।
शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । यो शब्दकोश एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।
यसैगरी केएन स्वामीको वेबसाइटमा गएर समेत शब्द र त्यसको अर्थ खोज्न सकिने शब्दकोश निर्माता स्वामी केशवानन्दले जानकारी दिए । यी चार भाषाका शब्द खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ ।
यसमा एउटा शब्द सर्च गर्दा चारवटै भाषामा त्यसको अर्थ थाहा पाउन सकिनेछ । शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दीका ५० हजार र संस्कृतबाट अङ्ग्रेजीका ५० हजार गरी चार लाख शब्द सामावेश छन् ।
धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान शब्दकोशमा हेर्न सकिने छ । गत वर्षकोचैतमा स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको थियो ।
संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि यो शब्दकोश उपयोगी हुनेछ । शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ ।
संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ । ‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो ।
यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्त देवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएका छन् ।
यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ ।
यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द यसमा अटाएका छन् । धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राखेका हुन् ।
नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोज्न सकिने बनाइएको छ ।
धातुको रूप भने केही समयमा थपिने बताइएको छ । यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उनको भनाइ छ ।
एण्ड्रोइड फाइभभन्दा पछिका भर्सनमा यो मोबाइल एप प्रयोग गर्न सकिन्छ । मोबाइल एपको साइज केवल १२६ एमबीको छ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि प्रयोगकर्ताले ठूला-ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्ती पाउने भएका छन् ।
प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ । गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब ५० लाख रुपैयाँ लागतमा तयार पारिएको यो विद्युतीय कोश बिना शुल्क पाठकका लागि उपलब्ध गराइएको स्वामी केशवानन्दले बताए ।
विद्युतीय कोशमा कुनै पनि विज्ञापन राखिएको छैन । विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले यसलाई विज्ञापन रहित बनाइएको हो ।
लकडाउनको छ महिनामा बिहान पाँच बजेदेखि राति ११ बजेसम्म गिरि र उनका छ जना शिष्य खटेर यो शब्दकोश तयार पारिएको हो ।
नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्नका लागि पनि यो शब्दकोश उपयोगी हुनेछ । पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोडेर उनले जिज्ञासुलाई अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिएका छन् ।
वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उनकै सम्पादनमा यो प्रकाशनमा आएको हो । आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गरेका हुन् ।
संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहेका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाउनु रहेको छ ।
एन्ड्रोइड मोबाइलमा शब्दकोष डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । वेबसाइटमै कुनै शब्दको अर्थ खोज्नु छ भने यहाँ क्लिक गर्नुहोस् ।