काठमाडौं । २०२३ मा पिक्सेल ८ सिरिजसँगै गुगलले औपचारिक रूपमा एन्ड्रोइड १४ सिरिज सार्वजनिक गरेको थियो । यो वर्ष कम्पनीले एन्ड्रोइडको नयाँ भर्सन परीक्षण गरिरहेको छ ।
यसलाई अहिले एन्ड्रोइड १५ बेटा २ नाम दिइएको छ । यो अपडेट केही सीमित डेभलपरहरूले मात्रै पाएका छन् । आज हामी एन्ड्रोइड १५ बारे बाहिरिएका र पुष्टि भएका विभिन्न फिचरकाे चर्चा गर्दैछौं:
एन्ड्रोइड १५ः नाम र सार्वजनिक हुने मिति
हुन त गुगलले हरेक वर्ष एन्ड्रोइडको भर्सनलाई विभिन्न किसिमको कोड नाम दिएको हुन्छ । कम्पनीले एन्ड्रोइड भर्सन १० देखि नै नयाँ भर्सनलाई कोडनेम दिन सुरु गरेको थियो । पछि फुल भर्सन सार्वजनिक हुँदा मात्र कम्पनीले आधिकारिक रूपमा नाम उद्घोष गरेको थियो ।
त्यसैले अब आउन लागेको एन्ड्रोइडको भर्सन एन्ड्रोइड १५ हुने निश्चित छ । यसलाई कम्पनीले 'भेनिल्ला आइसक्रिम' कोडनेम दिएको छ ।
यो भर्सन कहिले सार्वजनिक हुन्छ भन्नेबारे गुगलले आधिकारिक रूपमा कतै पनि जानकारी दिएको छैन । तर, अक्टोबर २०२४ मा पिक्सेल ९ सिरिजसँगै यो भर्सन सार्वजनिक हुने सम्भावना उच्च छ । पिक्सेल फोन नै एन्ड्रोइडको नयाँ भर्सन पाउने पहिलो फोन हुने भएकाले यस्तो अपेक्षा गरिएको हो ।
केके फिचर छन् त एन्ड्रोइड १५ मा ?
एन्ड्रोइड १५ पहिलेको एन्ड्रोइड भर्सनजस्तै देखिन्छ । तर, गुगलले यसमा केही सुधार र परिवर्तन ल्याएको छ ।
यहाँ उल्लेख भएकामध्ये कतिपय फिचर कम्पनीले आधिकारिक रूपमा उद्घोष नै गरेको छ भने कतिपय जानकारी बाहिरिएका हुन् । जसमध्ये प्रमुख फिचर र परिवर्तनबारे यहाँ चर्चा गरिएको छ:
आधा स्क्रिन शेयर गर्न सकिने
एन्ड्रोइड १५ आएसँगै प्रयोगकर्ताले फोनको सीमित भाग मात्र रेकर्ड गर्न वा स्क्रिन शेयरमार्फत देखाउन सक्नेछन् । यो फिचर पिक्सेल फोनका लागि एन्ड्रोइड १४ क्यूपीआर टुमा उपलब्ध गराइएको थियो । अब भने सबै एन्ड्रोइड फोनले यो सुविधा पाउनेछन् ।
स्याटलाइट कनेक्टिभिटी फिचर
एन्ड्रोइड १५ मा स्याटलाइट कनेक्टिभिटी फिचर नै सबैभन्दा बढी चर्चा पाउने फिचर मध्येको एक हो । यसका लागि कम्पनीले नयाँ युजर इन्टरफेस इलिमेन्स्ट समावेश गरेको छ । जसले गर्दा प्रयोगकर्ता सहजै स्याटलाइट कनेक्टिभिटीको अनुभव लिन सक्छन् ।
यससँगै डिभाइस इन्टरनेटसँग कनेक्ट छ कि छेन भन्ने पहिचान गर्नका लागि एपले एपीआई प्रयोग गर्न सक्नेछन् । त्यस्तो हुँदा इन्टरनेट नभएको समयमा एपले स्याटलाइट कनेक्टिभिटी प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै एन्ड्रोइड १५ मा प्रयोगकर्ताले स्याटलाइट कनेक्टिभिटी प्रयोग गरेर आरसीएस र एसएमएस एप पनि प्रयोग गर्न सक्नेछन् । अर्थात् आपतकालीन अवस्थामा मात्र होइन अन्य अवस्थामा पनि प्रयोगकर्ताले स्याटलाइट कनेक्टिभिटीको मजा लिन सक्नेछन् । यद्यपि यो लिक भएको जानकारी मात्र हो । यसबारे गुगलले आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन ।
एपमै क्यामेरा कन्ट्रोल गर्न सकिने सुविधा
प्रयोगकर्ताले एपबाटै क्यामेराका विभिन्न फिचर र सेटिङ एडजस्ट गर्न सक्नेछन् । यो फिचर एन्ड्रोइड १५ मा उपलब्ध भएपनि केही सीमित डिभाइसले मात्र सपोर्ट गर्नेछन् ।
किबोर्ड भाइब्रेसन कन्ट्रोल गर्न टोगलको सुविधा
यो सुविधा अन्तर्गत प्रयोगकर्ताले कुन एप प्रयोग गर्दा किबोर्ड भाइब्रेट हुने बनाउने, अनि कुन एप प्रयोग गर्दा भाइब्रेट नहुने बनाउने भन्ने छान्न सक्छन् । एपभित्र गएर किबोर्ड सेटिङ छानी भाइब्रेट हुने वा नहुने भन्ने अप्सन छान्न सकिन्छ ।
संवेदनशील नोटिफिकेसन
हुन त टु फ्याक्टर अथेन्टिकेसन (टुएफए) बढी सुरक्षित नै मानिन्छ । तर, कतिपय अवस्थामा केही प्लेटफर्मको सेक्युरिटी टुएफएमा मात्र निर्भर हुँदैन । विशेषगरी टेक्स्ट वा ईमेलका रूपमा ओटीपी पठाउने प्लेटफर्मका सन्दर्भमा कतिपय अवस्थामा यो सुरक्षित नहुन सक्छ ।
त्यसैले एन्ड्रोइड १५ मा ‘सेन्सेटिभ नोटिफिकेसन फिचर’ समावेश गर्न लागिएको छ । यसले खतरनाक एपलाई ओटीपी कोड हेर्नबाट रोक्ने बताइएको छ ।
अउराकास्ट फोकस (Auracast Focus)
एन्ड्रोइड १५ ले अउराकास्ट फिचरलाई थप सहज बनाउने भएको छ । यसले गर्दा अउराकास्ट सपोर्ट गर्ने डिभाइसले अडिओ ब्रोडकास्ट गर्नका लागि पेयरिङ गरिरहनु पर्दैन ।
त्यसका लागि अडिओ शेयर भन्ने पेज समावेश गरिएको छ । त्यसैबाट सहजै अडिओ शेयर गरेर अर्को अउराकास्ट डिभाइसमा प्ले गर्न सकिन्छ ।
हाइ क्वालिटीको वेबक्याम मोड
थर्ड पार्टी एपले गर्दा एन्ड्रोइड फोनलाई पीसीको वेबक्याम बनाउन सहज भएको छ । पिक्सेल १४ क्यूपीआर वानका लागि वेबक्याम फिचर समावेश गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले थर्ड पार्टी एपबिनै आफ्नो फोनलाई वेब क्यामका रूपमा प्रयोग गर्न सक्नेछन् ।
एन्ड्रोइड १५ डेभलपर प्रिभ्यु टुमा ‘हाई क्वालिटी वेबक्याम मोड’ राखिएको छ । त्यसैले यो फिचर पनि एन्ड्रोइड १५ मा आउने पक्कापक्की छ ।
हेल्थ कनेक्ट
एन्ड्रोइड १५ अपडेटमा ‘हेल्थ कनेक्ट बाई एन्ड्रोइड प्लेटफर्म’ समेत छ । यसले फिटनेस, न्युट्रिसन र अन्यमा नयाँ डेटा सपोर्ट गर्नेछ । यसका बाँकी विशेषता फिचर सार्वजनिक भइसकेपछि बाहिर आउनेछन् ।
अरू परिवर्तनहरू
- एन्ड्रोइड १५ ले भर्चुअल एमआईडीआई एप पोर्ट हुनेछ ।
- एचडीआर कन्ट्रोलको सुविधा उपलब्ध गराउनेछ ।
- लाउडनेस कन्ट्रोलको सुविधा रहनेछ ।
- एप पेयर गर्न र स्पिल्ट गर्न सकिने सुविधा ।
- कोल्याप्स भ्वाइस प्यानल । (भोल्युब बटनबाट एकै पटक सबै भोल्युम कन्ट्रोल गर्न सकिने सुविधा ।)
- थप विजेट्सहरू समावेश हुनेछन् ।
- स्वतः ब्लुटुथ अन/अफ हुने सुविधा उपलब्ध हुनेछ ।
- एडप्टिभ भाइब्रेसनको सुविधा ।
- नयाँ कलर कन्ट्रास्ट सेटिङ ।
- क्विक सेटिङबाट ब्राइटनेस एडजस्ट गर्दा ह्यापटिक फिडब्याक हुने ।