close

एनिमेसनको दुनियाँमा छुट्टै पहिचान बनाउन तल्लीन नेपाली युवाहरूको कथा

सञ्जीवन राई सञ्जीवन राई

जेठ ५, २०८१ १३:३१

एनिमेसनको दुनियाँमा छुट्टै पहिचान बनाउन तल्लीन नेपाली युवाहरूको कथा

काठमाडौं । आजको  दिनमा एनिमेसन कुनै नयाँ कुरा होइन । थ्रीडी एनिमेसन सामान्य भइसकेको छ । हामीले दैनिक हेरिरहने विज्ञापन, भिडिओ तथा फिल्महरूमा प्रयोग हुने थ्रीडी एनिमेसन के होल ? अनि कसरी बन्छ त यस्ता भिडिओहरू ? कस्तो छ नेपालमा यसको भविष्य ?

यिनै विषयबारे बुझ्न हामी कुपण्डोलमा रहेको क्यूआई एनिमेसन स्टुडियो गएका थियौं । नेपालको प्रमुख एनिमेसन स्टुडिओ बन्दै गरेको क्यूआई एनिमेसनका सहसंस्थापक हुन्, नयन श्रेष्ठ र राज प्रधान । 

उनीहरूको अन्तिम लक्ष्य, एनिमेटेड फिल्म बनाउनु रहेको छ । त्यहाँसम्म पुग्न उनीहरूले हाल विभिन्न विज्ञापन, पब्लिक सर्भिस एनाउन्समेन्ट (पीएसओ), म्युजिक भिडिओका लागि एनिमेसन बनाउने गर्छन् । 

श्रीकेश आयुर्वेदिक हेयर ओइल, सगरमाथा सिमेन्ट, चोकोफन, सुशान्त विस्टको कथा नामक म्युजिक भिडिओ, रिन्यूमी, एनएमबी बैंक, माईपे लगायतमा उनीहरूको एनिमेसन देख्न सकिन्छ । 

कम्पनीमा एनिमेसन डिरेक्टरको भूमिका रहेका राज प्रधान ललितकलाका विद्यार्थी पनि हुन् । ललितकला उत्तीर्ण हुँदै गर्दा एनिमेसन पनि कलाको एउटा माध्यम हो भन्ने उनलाई लागिसकेको थियो । त्यहीमाथि एनिमेटेड फिल्म हेरेर प्रेरित हुने काम त छँदै थियो । त्यसपछि उनी यता मोडिएका हुन् । कलाको अचलभन्दा पनि चल माध्यमबाट राम्ररी भावना पोख्न पाइने उनको विश्वास छ । त्यही भएर आफैं मेहेनेत गर्दै उनले एनिमेसन सिकेका हुन् । 

उनको जस्तै कथा छ, कम्पनीमा आर्ट डिरेक्टरको भूमिकामा रहेका नयन श्रेष्ठको । एनिमेसनको क्षेत्रमा आउनुमा उनी पनि फिल्मलाई नै कारण मान्छन् । सानो हुँदा उनी खुबै कार्टुन हेर्थे । ती हेर्दा कसरी बन्छ भनेर उनलाई सधैं लाग्ने गर्थ्यो । त्यो आफैंले बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । 

पछि उनले एनिमेसनबारे थाहा पाए । त्यसपछि उनी माया एनिमेसन स्टुडियाेमा पढ्न गए । त्यहाँबाट उत्तीर्ण भएपछि उनी राजसँग ठोक्किन पुगे । अनि त आफैं र साथीबाट सिक्दै उनको पनि एनिमेसनको यात्रा सुरु भयो । 

यसरी सन् २०१० ताका सुरु भएकाे ‍क्यूआई एनिमेसनलाई उनीहरूले स्वतन्त्र तरिकाले चलाइरहेका थिए । त्यहीबीचमा सहसंस्थापका रूपमा ज्याज प्रोडक्सनका सहसंस्थापक अनिल न्यौपाने पनि उनीहरूसँग जोडिन आइपुगे । त्यसपछि उनीहरूको छलाङ लामो लामो हुन थाल्यो ।

क्यूआई एनिमेसनको अस्तित्व सुरु हुनुअघि नै नेपालमा यो क्षेत्र ‍स्थापित भइसकेको थियो । भलै त्यो गुणस्तरिय थिएन होला । क्यूआई एनिमेसन त्यही गुणस्तरलाई सुधार गर्न जन्मेको उनीहरू सुनाउँछन् ।

उनीहरूको आफ्नै भनाइमा छ, क्यूआई एनिमेसनले थोरै काम गरे पनि गुणस्तरीय गर्छ । जुन उनीहरूले तयार पारेको भिडिओहरूमा मज्जैले देख्न सकिन्छ ।

कसरी हुन्छ एनिमेसनको काम ?

एक मिनेट होस् या फिचर फिल्म होस्, एनिमेसनको लागि काम गर्ने शैली करिब एउटै हुने राज बताउँछन् । उनले छोटोमा क्यूआई  एनिमेसनले काम गर्ने शैलीबारे बताएका छन् । 

सबैभन्दा सुरुमा उनीहरूलाई भिडिओ बनाउने अफर आउँछ । त्यसमा छलफल गर्दै कथा तयार हुन्छ । जसै कथा तयार हुन्छ, तब पात्र र सेटको पनि तयार हुन्छ । पात्रको डिजाइन र स्क्रिप्ट (कथा) अन्तिम भइसकेपछि स्टोरीबोर्डको काम हुन्छ । त्यसपछि उही पात्रलाई लिएर थ्रीडी प्रोडक्सनको काम हुन्छ । 

त्यसक्रममा पात्रहरूलाई थ्रीडी सफ्टवेयरमा मोडलिङ गर्ने काम हुन्छ । उनीहरूले यो सबै काम स्टोरीबोर्डमा आधारित भएर गर्छन् । राजका अनुसार एनिमेसनमा एउटा पछि अर्को काम गर्नेभन्दा पनि सँगसँगै नै हुने हुन्छ । 

पात्रको थ्रीडी मोडल बनेपछि कपडा, कपाल लगायतमा काम हुन्छ । त्यसपछि ती सबै एनिमेसनलाई एकै ठाउँमा राखेर प्रकाश संयोजन गर्ने काम हुन्छ । अनि थ्रीडीबाट रेन्डरिङ गरिन्छ । त्यसपछि इडिटिङ, कलरिङ, साउन्ड आदिमा काम हुन्छ । यति सबै गरिसकेपछि एउटा एनिमेसन तयार हुन्छ ।

यद्यपि छोटो र सरल भाषामा भन्दा यति भए पनि अन्य धेरै काम हुने उनको भनाइ छ । 

कस्तो छ नेपालमा एनिमेसको बजार ?

आफूहरूले एनिमेसनको काम थाल्दै गर्दा स्रोत निकै कमी भएको उनीहरूकाे अनुभव छ । अहिले जस्तो युट्युब, अनलाइन कोर्स तथा सिकाउने ठाउँ नहुँदा गाह्रो भए पनि उनीहरूले एनिमेसनलाई जसोतसो निरन्तरता दिने काम गरेका थिए ।

फलस्वरुप उनीहरूले यस क्षेत्रलाई एक तहसम्म अगाडि लगेका छन् । यसरी आफू लगायत अन्य कम्पनीहरूले नेपालको एमिनेसन क्षेत्रलाई धेरै अघि लैजान भूमिका खेलिरहेको उनीहरूको धारणा छ । 

विगतको भन्दा नेपालमा यसको बजार वृद्धि पनि भइरहेको उनको बुझाइ छ । यद्यपि विश्वबजारको तुलनामा अझै धेरै पछाडि छ । तर यहाँका जनशक्ति विश्वबजारसँग प्रतिस्पर्धा गर्न लायक भएको उनीहरू दाबीका साथ भन्छन् । 

“नेपालमा एनिमेसनको उद्योग सोचे जस्तो ठूलो भएको छैन । केही विकास भएको छैन भन्नु हुँदैन,” नयन भन्छन्, “पहिले टूडी एनिमेसन देखिरहेको हामीले अहिले राम्रा राम्रा एनिमेसन भिडिओ देख्न पाएका छौं । थोरै भए पनि गुणस्तरीय नतिजा देख्न पाएका छौं ।” 

त्यस्तै नेपालमा पर्याप्त जनशक्ति नहुनु र भएको व्यवस्थित नहुनु अर्को चुनौती भएको राज बताउँछन् । यदि एक जनाले एउटा मात्र काम गर्न पाए राम्रो कन्टेन्ट तयार पार्न सकिने उनी बताउँछन्  । एक जनाले धेरै काम गर्नुपर्दा गति पनि काम हुने र नतिजा पनि राम्रो नहुने उनको भनाइ छ ।

अहिलेको अवस्था हेर्दा नेपालमा एनिमेट फिल्म बन्न केही समय लाग्ने नयनकाे धारणा छ । हलिउडमा १९औं शताब्दी सुरु हुँदै गर्दा एनिमेटेड फिल्म बन्न थालेकाले लामो इतिहास छ । त्यसको तुलनामा नेपालमा धेरै पछाडि मात्र एनिमेसनकाे काम सुरु गरिएको हो । 

यद्यपि विश्वबजारमा एनिमेसन उद्योग धेरै अगाडि बढेकाले त्यसबाट आफूहरूले पनि फाइदा लिन सकिने उनी बताउँछन् । सोहीकारण उनीहरूले जस्तो लामो वर्ष दु:ख नगर्नु पर्ने उनी विश्वास गर्छन् । 

एनिमेसन क्षेत्रमा कसरी आउने ?

कम्प्युटर भए एनिमेसनकाे काम मजाले गर्न सकिने नयनको भनाइ छ । तर गुणस्तरिय एनिमेसन बनाउन सो अनुसारको सिस्टम आवश्यक पर्ने उनी बताउँछन् । 

उनका अनुसार कम्पनीमा एनिमेसनका लागि विशेष गरेर अहिले  माया र ब्लेन्डर प्रयोग हुने गर्छ । यसबाहेक आफ्टर इफेक्ट, दाभिन्सी, फोटोशप लगायतका सफ्टवेयर पनि प्रयोग हुन्छ ।

उनी यो क्षेत्रमा आउन खोजिरहेकालाई ब्लेन्डर सफ्टवेयर प्रयाेग गर्न सुझाउँछन् । यस सफ्टवेयर चलाउन कम्प्युटरमा धेरै स्पेसिफिकेसन आवश्यक पर्दैन । यसकारण पनि ब्लेन्डरलाई धेरैले मन पराइरहेको उनको भनाइ छ । तर यसैमा मात्र एनिमेसनको काम नसकिने नयनको धारणा छ ।

त्नेपालमा बसेर विदेशको जस्तै कमाइ भने अपेक्षा गर्न नसकिने राज बताउँछन् । त्यहाँ परियोजनाको लागत धेरै हुने, अवसर पनि धेरै हुने र उद्योग नै ठूलो भएकाले कमाइ धेरै हुनु स्वाभाविक भएको उनको बुझाइ छ । तर नेपालमै बसेर पनि राम्रै कमाइ गर्न सकिने उनको विश्वास छ । 

अझ आफ्नो लागि कमाइभन्दा पनि कामको नतिजा ठूलो हुने उनी बताउँछन् । त्यसबाट बढी सन्तुष्टि मिल्ने भएकाले अझ काम लाग्ने उनी सुनाउँछन् । तर नयाँ ट्यालेन्टहरूसँग जति राम्रो सीप भए पनि गाइड भएन भने उसले राम्रो अवसर नपाउने उनी बताउँछन् । 

यसका साथै अहिले नेपालमा यो क्षेत्र फस्टाउँदैै गइरहेकाले आउनेहरूको भविष्य उज्ज्वल भएको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८१ १३:४७